• २०८३ असोज ८ गते बिहिवार

लुम्बिनीमा तीन दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज ८, भैरहवा । लुम्बिनी प्रदेशका विभिन्न भू–भागमा आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोलानजिकका क्षेत्रमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आग्रह गरेको छ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष मौसम बुलेटिनअनुसार असोज ९ गतेदेखि ११ गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न भू–भागसहित रुपन्देहीमा समेत मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाका कारण जिल्लाका तिनाउ नदी, दानव नदी, रोहिणी खोला/नदी, कञ्चन खोला लगायतका नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले आसपासका तटीय तथा होचा भू–भागमा बाढी, डुबान र कटानको जोखिम उच्च रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बिहीबार सार्वजनिक गरेको ‘सतर्क रहने सम्बन्धी अत्यन्त जरुरी सार्वजनिक सूचना’मार्फत उक्त अवधिभर सम्पूर्ण जिल्लावासीलाई आवश्यक सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गरेको हो ।

प्रशासनले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न तथा नदी, खोला र जलाशय आसपास अनावश्यक आवतजावत नगर्न समेत आग्रह गरेको छ ।

सम्भावित विपद्को अवस्था आएमा नजिकको सुरक्षा निकाय, स्थानीय तह, वडा कार्यालय वा जिल्ला प्रशासन कार्यालयसँग तत्काल समन्वय गर्न भनिएको छ ।

त्यस्तै, विपद्सम्बन्धी सूचना तथा उद्धारका लागि जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको सम्पर्क नम्बर १२३४ मा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले मौसमजन्य विपद्को सम्भावनालाई मध्यनजर गर्दै नदी तथा खोलाको आसपासका बस्ती र तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

भारी वर्षाका समयमा नदीको बहाव अचानक बढ्न सक्ने भएकाले नदी पार गर्ने, माछा मार्ने, घुमफिर गर्ने तथा जोखिमपूर्ण क्षेत्रमा सवारी सञ्चालन गर्ने कार्य नगर्न प्रशासनले सचेत गराएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जारी गरेको सूचनामा विपद् आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै नागरिकलाई पूर्वसतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रशासनले स्थानीय तह तथा सुरक्षा निकायलाई समेत सम्भावित विपद्को जोखिममा रहेका क्षेत्रप्रति निगरानी बढाउन र आवश्यक परे तत्काल उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस