भदौ ७, काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणलाई सरकारको पहिलो प्राथमिकतामा राखिएको बताएका छन् । विद्यालय शिक्षा विधेयकका विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले आइतबार आयोजना गरेको सरोकारवालासँगको परामर्श गोष्ठीमा उनले शिक्षा ऐन निर्माण प्रक्रिया पारदर्शी र सहभागितामूलक बनाइने बताएका हुन् ।
मन्त्री पोखरेलले विद्यार्थीमैत्री शिक्षा विधेयक निर्माणका क्रममा सरोकारवालाका सुझावलाई औपचारिक छलफलमा मात्र सीमित नराखी ऐन तथा नियममा समेटिने प्रतिबद्धता व्यक्त गरे । सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकारको स्पष्ट बाँडफाँट तथा प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो । उनले शिक्षामा कुल बजेटको कम्तीमा २० प्रतिशत लगानी हुनुपर्ने विश्वव्यापी अभ्यास भए पनि नेपालमा शिक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन हुन नसकेको बताए ।
शिक्षा बजेटको करिब ७० प्रतिशत स्थानीय तहमा अनुदानका रूपमा जाने भएकाले शिक्षा सुधार तथा शिक्षक–कर्मचारीको सुविधामा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उनले उल्लेख गरे । प्रारम्भिक बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीको पारिश्रमिकबारे स्पष्ट पार्दै मन्त्री पोखरेलले सङ्घीय सरकारले उपलब्ध गराउने रकम सशर्त अनुदान मात्र भएको बताए । स्थानीय तहले आफ्नो स्रोत परिचालन गरी कर्मचारीको पारिश्रमिक वृद्धि गर्न सक्ने उदाहरणका रूपमा उनले काठमाडौँ महानगरपालिकाको अभ्यास प्रस्तुत गरे ।
मन्त्री पोखरेलले शिक्षा प्रणालीका कमजोरीलाई विद्यार्थी, शिक्षक, अभिभावक र सरकारले स्वीकार गरी सामूहिक रूपमा सुधारका लागि अघि बढ्नुपर्नेमा जोड दिदै उनले विसं २०२८ पछि पहिलोपटक नयाँ ऊर्जाका साथ विद्यालय शिक्षा ऐन निर्माण प्रक्रिया अघि बढेको उल्लेख गरे । कार्यक्रममा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले सातै प्रदेशमा सञ्चालन गरिएको ‘शिक्षा संवाद’बाट प्राप्त सुझाव तथा निष्कर्ष प्रस्तुत गरेका थिए । उनले सङ्घीय संसद्को हिउँदे अधिवेशनअघि सबैको सहमतिमा विद्यालय शिक्षा ऐन ल्याउने विश्वास व्यक्त गरे ।
मन्त्रालयले विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नुअघि सातै प्रदेशमा आयोजना गरिएका ‘शिक्षा संवाद’बाट प्राप्त सुझाव तथा निष्कर्षको समीक्षा गरेको हो। विराटनगरबाट सुरु भएको संवाद सुदूरपश्चिमको धनगढीसम्म पुगेर सम्पन्न भएको थियो। संवादमा शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन, स्थानीय तहका प्रतिनिधि, शिक्षाविद् तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालासँग विद्यालय शिक्षाका समस्या, चुनौती र सुधारका विषयमा छलफल गरिएको थियो ।
२- काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि काठमान्डु गोर्खाजले भारतको राष्ट्रिय टिमका पूर्व खेलाडी केएस भरतलाई भित्र्याएको छ । काठमान्डु गोर्खाजले भरतलाई भित्र्याएको औपचारिक घोषणा गरेको हो । ३२ बर्षिय आन्ध्रप्रदेशका विकेट किपर ब्याट्सम्यान भरतले भारतका लागि ७ टेस्ट खेलेका थिए । उनले अन्तिम खेल २०२४ मा इङल्याण्डविरुद्ध खेलेका थिए । आइपिएलमा उनले दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स , कोलकोता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरुमा रहेपनि प्रयाप्त खेल्ने अवसर भने पाएका थिएनन् । तर भरत भारतको घरेलु क्रिकेटमा भने प्रदर्शन उत्कृष्ट रहेको छ । उनले फर्स्ट क्लास क्रिकेटमा ११३ खेल खेल्दै ३६.५३ को औसतले ११ शतक र ३४ अर्धशतकसहित ६ हजार १०२ रन बनाएका छन् । उनले अहिलेसम्म ९१ टी-२० खेल खेल्दै १८१२ रन बनाएका छन्, जसमा ११ अर्धशतक रहेका छन् । करण केसीको नेतृत्वमा रहेको काठमान्डु गोर्खाजले यस सिजनका लागि भिम सार्की, आदील आलम, रशिद खान, सन्तोष यादव र शाहाब आलमलाई रिटेन गरेको छ । त्यस्तै,अक्सनबाट प्रसिद्ध जैसी, दयानन्द मण्डल, सोनु देवकोटा, कृष्ण पौडेल, साहिल पटेल, देव शाह, सुयान्शु कोइरालालाई भित्राएको छ ।
३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना दलहरुसँग ३५ बर्षको हिसाबको कुरा नगर्न आफ्ना नेता कार्यकर्तासँग आग्रह गरेका छन् । रास्वपाका केन्द्रीय सदस्यहरुको कार्यशालाको समापन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछाने अब ३५ बर्षको हिसाब नमाग्न आग्रह गर्दै अबको ३५ बर्षको योजना बनाउन आग्रह गरेका हुन् । उनले भने- ‘हामीले कयौं नेताहरुलाई दोष देखाउन सकिन्छ । आज कसलाई दोष देखाउने । अब ३५ बर्षको हिसाब माग्ने होइन साथी हो, ३५ बर्षको योजना ल्याउनुस । अबको ३५ बर्ष । अब बितेको ३५ बर्षका लागि उहाँहरुलाई कचकच गर्ने ठाउमा हामि छैनौं । जति सके गरे, धन्यवाद । अबको ३५ बर्षमा कस्तो गर्ने त्यो त हाम्रो हातमा छ नि ।’ आम नागरिकले के पाउदैछन्, हाम्रो शिक्षा निती के हो, देश कता लैजाने भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनु पर्ने उनले बताए । सभापति लामिछानेले अहिलेको अवसरलाई इतिहासले दिएको अवसरको रुपमा बुझेर काम गर्नुपर्ने दायित्व रास्वपामा आएको बताए । लामिछानेले यस पटक पनि जनताका आकांक्षा अनुसार काम गर्न सकिएन भने देश चरम निराशामा जाने बताए । उनले सरकारले गरेका केहि काम विवादित बनेपनि सरकारले अनियमितता गरेको छ भनेर अहिलेसम्म कुनै प्रश्न नउठेको बताए ।
४- नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघबीच नेपालमा लगानी प्रवद्र्धन, व्यापार विस्तार तथा आर्थिक सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र गैरआवासीय नेपाली संघका अध्यक्ष डा. हेमराज शर्माले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार नेपालमा विदेशी प्रत्यक्ष लगानी भित्र्याउन सहजीकरण, व्यापार तथा उद्योगको विकास, उद्यमशीलता प्रवद्र्धन र स्वदेशी तथा गैरआवासीय नेपाली व्यवसायीबीच सहकार्य विस्तार गरिनेछ । दुवै संस्थाले लगानी सम्मेलन, व्यापारिक शिखर सम्मेलन, व्यवसायिक कार्यक्रम तथा प्रचारात्मक कार्यक्रम आयोजना गरी विदेशी तथा गैरआवासीय नेपाली लगानीकर्ता र नेपाली व्यवसायीबीच प्रत्यक्ष सम्पर्क तथा व्यावसायिक साझेदारीका अवसर सिर्जना गर्नेछन् । निर्यातमुखी उद्योग, साना तथा मझौला उद्यम र नयाँ व्यवसायलाई सहयोग गर्ने तथा तालिम, कार्यशाला र गोष्ठीमार्फत क्षमता अभिवृद्धि गर्ने सहमति पनि भएको छ । चेम्बर अध्यक्ष अग्रवालले आर्थिक विकासका लागि राम्रो नीति मात्र नभई त्यसको प्रभावकारी कार्यान्वयन, कानुनी स्पष्टता र लगानीमैत्री वातावरण आवश्यक रहेको बताए। नीति तथा कानुनी संरचनामा स्थिरता र स्पष्टता नहुँदा स्वदेशी तथा विदेशी लगानीकर्ता पूर्ण रूपमा विश्वस्त हुन नसक्ने भन्दै उनले लगानी सुरक्षा, राजनीतिक स्थिरता र सहज व्यावसायिक वातावरण निर्माणमा सरकार तथा निजी क्षेत्रको संयुक्त पहल आवश्यक रहेको बताए ।
५- नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापा मगरका पक्षमा मतदान नगर्न ह्विप जारी गरेको छ । सोमबार प्रदेश सभामा विश्वासको मत लिन लागेका मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन काँग्रेसले आफ्ना सांसदलाई ह्वीप जारी गरेको हो । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । कांग्रेसले प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र मुख्यमन्त्री थापाले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न प्रदेशसभा सदस्यलाई निर्देशन दिइएको छ ।
६- बाराको जितपुरसिमरा उपमहानगरपालिका- १ की तीन वर्षीया बालिका गरिमा चौधरीको अन्त्येष्टि गरिएको छ । बलात्कारपछि हत्या गरिएकी गरिमाको आइतबार कलैया उपमहानगरपालिका–१४, बघवनस्थित पसाहा खोलामा धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । यसअघि शनिबार राति गृह मन्त्रालयमा सरकार र गरिमाका अभिभावकबीच तीनबुँदे प्रतिबद्धता भएपछि गरिमाका बुवा मनोज चौधरीले आइतबार प्रादेशिक अस्पताल कलैयाबाट शव बुझेका थिए ।
७- १४औँ दक्षिण एसियाली खेलकुद २०८३ साल चैत २० देखि २८ गतेसम्म (सन् २०२७ को अप्रिल ३ देखि ११ तारिखसम्म) पाकिस्तानमा आयोजना हुने भएको छ । इस्लामाबादमा बसेको दक्षिण एसिया ओलम्पिक परिषद्को कार्यकारी समितिको बैठकले प्रतियोगिताको मिति र खेल कार्यक्रम तय गरेको हो । पाकिस्तानले आयोजना गर्ने प्रतियोगितामा नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा एथलेटिक्स, पौडी, तीरन्दाजी, ब्याडमिन्टन, बास्केटबल, बिलियर्ड्स तथा स्नूकर, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल, जुडो, हकी, कबड्डी, कराते, रोइङ, रग्बी, सुटिङ, स्क्वास, टेबल टेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती र वुसुसहित २८ खेल समावेश गरिएको छ । ‘दक्षिण एसियामा एकता, खेलकुदमा शक्ति’ भन्ने नारासहित आयोजना हुने प्रतियोगिताले क्षेत्रीय खेलाडी र खेल समुदायलाई एकताबद्ध गर्ने आयोजकले जनाएको छ । बैठकमा नेपाली टोलीका तर्फबाट नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राज वैद्य तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं निर्देशन समितिकी सदस्य सिका सुवाल श्रेष्ठ सहभागी थिए ।
८- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको पुनर्गठन, सहकार्य र एकता अहिलेको आवश्यकता भएको बताएका छन् । कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन विषयक कार्यक्रममा बोल्दै उनले राष्ट्रिय स्वाधीनता र विगतका उपलब्धि संकटमा परेको भन्दै विचार मिल्ने शक्तिबीच एकता र सहकार्य आवश्यक रहेको बताए । प्रचण्डले नेपाली जनताले पटक-पटक कम्युनिस्ट शक्तिलाई ठूलो समर्थन र मत दिए पनि आन्दोलन तथा उपलब्धि जोगाउन नसक्नु गम्भीर प्रश्न भएको बताए । उनले विगतका कमजोरी र त्रुटिको गम्भीर आत्मसमीक्षा गर्न कम्युनिस्ट नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले आफूहरू विगतमा एउटै पार्टीका सहयोद्धा रहेको स्मरण गर्दै अहिलेको परिस्थितिले सबैलाई पुनः एकताका लागि सोच्न बाध्य बनाएको बताए । गम्भीर आत्मसमीक्षा नगरे कम्युनिस्ट शक्तिबीचको एकता हासिल गर्न र त्यसलाई दिगो बनाउन कठिन हुने उनको भनाइ थियो।
९- काठमाडौँ जिल्लाभित्र निजी रूपमा सञ्चालन भइरहेका छात्रावास( होस्टल) मा विद्यार्थीमाथि दुर्व्यवहार, बढी शुल्क असुली, कमजोर पूर्वाधार तथा सरसफाइ र खानपानमा लापरवाही भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले सञ्चालकलाई एक महिनाभित्र आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ । कार्यालयका अनुसार छात्रावासमा विद्यार्थीलाई मानवीय व्यवहार नगर्ने, यातना दिने, तोकिएको शुल्कभन्दा बढी रकम लिने, कमजोर पूर्वाधार राख्ने तथा सरसफाइमा ध्यान नदिने गुनासो बारम्बार प्राप्त हुँदै आएको छ । खाना र पानीको स्वच्छता, पुरुष तथा महिलाका लागि छुट्टाछुट्टै सुरक्षा, शौचालय, स्नानघर र सुत्ने कोठाको पर्याप्त व्यवस्था नभएको पनि पाइएको कार्यालयले जनाएको छ । त्यस्तै, केही छात्रावासमा लागुऔषधको दुरुपयोग हुने, विद्यार्थीबीच झडप हुँदा ज्यान जानेसम्मका घटना हुने तथा अध्ययन कक्ष, मनोरञ्जन कक्ष र पुस्तकालयजस्ता आवश्यक सुविधा पर्याप्त नभएको गुनासो आउने गरेको छ । यस्ता गुनासोका आधारमा कार्यालयले निजी छात्रावासको नियमित तथा आकस्मिक अनुगमन गर्दै आएको जनाएको छ। अनुगमनका क्रममा केही छात्रावासलाई तीन लाख रुपैयाँसम्म जरिवाना गर्नुका साथै शिलबन्दीसमेत गरिएको कार्यालयले जनाएको छ । कार्यालयले जिल्लाभित्र सञ्चालनमा रहेका सबै निजी छात्रावास सञ्चालकलाई तोकिएका २१ मापदण्डअनुसार आवश्यक व्यवस्था एक महिनाभित्र पूरा गर्न सूचित गरेको छ ।
१०- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै बढी खपत गराउन मौसमी महसुल तथा धेरै विद्युत् खपत गर्ने ग्राहकलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउने व्यवस्था लागू गर्ने तयारी भइरहेको बताएका छन् । विराटनगरमा उद्योगी–व्यवसायीसँगको छलफलमा मन्त्री श्रेष्ठले उद्योगको उत्पादन लागत घटाउने, विद्युत् खपत बढाउने र अतिरिक्त विद्युत् स्वदेशमै उपयोग गर्ने गरी महसुल संरचनामा सुधार गर्न सरकार केन्द्रित रहेको बताए । उनका अनुसार सुनसरी–मोरङ क्षेत्रमा नौवटा नयाँ विद्युत् उपकेन्द्र थपिँदै छन् । ती सञ्चालनमा आएपछि विद्युत् आपूर्ति थप भरपर्दो हुने उनले बताए । उद्योगी-व्यवसायीलाई नयाँ उद्योग स्थापना गर्नुअघि उपलब्ध विद्युत् क्षमता र आवश्यक पूर्वाधारबारे स्पष्ट जानकारी दिने व्यवस्था गर्नसमेत काम भइरहेको उनको भनाइ छ। छलफलमा उद्योगी–व्यवसायीले नियमित र गुणस्तरीय विद्युत् आपूर्तिको सुनिश्चितता, बर्जु र केरौन उपकेन्द्रको निर्माण शीघ्र सम्पन्न गर्नुपर्ने तथा कटहरी औद्योगिक क्षेत्रमा विद्युत् पूर्वाधार विस्तार गर्नुपर्ने माग राखेका छन्। उनीहरूले उत्पादनमूलक उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन माग शुल्क हटाउनुपर्ने र विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर हटाउनुपर्ने मागसमेत गरेका छन् ।
११- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल वैदेशिक व्यापार ३५.४४ प्रतिशतले बढेर २ खर्ब २६ अर्ब १४ करोड ७७ लाख रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार साउनमा आयात ३१.०४ प्रतिशतले बढेर १ खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको साउनमा १ खर्ब ४३ अर्ब ४ करोड ६६ लाख रुपैयाँ बराबरका वस्तु आयात भएका थिए । यस अवधिमा निर्यातमा भने अझ ठूलो वृद्धि देखिएको छ । गत वर्ष साउनमा करिब २४ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात ६१.७२ प्रतिशतले बढेर ३८ अर्ब ७० करोड ४१ लाख रुपैयाँ पुगेको छ । निर्यातमा उल्लेख्य वृद्धि भए पनि आयातको आकार ठूलो रहेकाले व्यापार घाटा भने बढेको छ । साउनमा व्यापार घाटा २४.८८ प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ पुगेको छ । वैदेशिक व्यापारको संरचनामा समेत केही सुधार देखिएको छ । कुल व्यापारमा निर्यातको हिस्सा गत वर्षको साउनमा १४.३३ प्रतिशत रहेकोमा यस वर्ष बढेर १७.११ प्रतिशत पुगेको छ । त्यस्तै, कुल व्यापारमा आयातको हिस्सा ८५.६७ प्रतिशतबाट घटेर ८२.८९ प्रतिशतमा झरेको छ । आयातको तुलनामा निर्यातको हिस्सा बढ्दै जानुलाई नेपालको वैदेशिक व्यापारका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ । आयात र निर्यातबीचको अनुपातसमेत गत वर्षको ५.९८ बाट घटेर यस वर्ष ४.८४ मा झरेको छ । निर्यातको वृद्धिदर आयातको तुलनामा उच्च रहेकाले व्यापार संरचनामा क्रमिक सुधारको संकेत देखिएको हो । यद्यपि, व्यापार घाटाको आकार अझै ठूलो रहेकाले आयातमा निर्भरता घटाउँदै निर्यात बढाउने चुनौती भने कायमै रहेको छ ।
१२- इरानले अमेरिकाले आफ्नो व्यवहार सुधार्दै यसअघि गरेका प्रतिबद्धता पूरा गरेपछि मात्रै होर्मुज जलडमरूमध्य खोल्ने विषयमा छलफल गर्न सकिने जनाएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसिन रेजाईले अमेरिकाले वार्ताका क्रममा धोका दिएको आरोप लगाउनुभएको छ । रेजाईले अमेरिकाले पहिले आफ्ना जिम्मेवारी पूरा गर्नुपर्ने र त्यसपछि मात्रै होर्मुज जलडमरूमध्य खोल्ने विषयमा कुरा हुने बताएका छन् । उनले अमेरिकी आर्थिक दबाबसामु इरान नझुक्ने स्पष्ट पारेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एउटा तस्बिर सार्वजनिक गर्दै होर्मुज जलडमरूमध्यलाई ‘नयाँ अमेरिकी क्षेत्र’ भनेर उल्लेख गरेका छन् । यसअघि पनि अगस्ट १८ मा ट्रम्पले होर्मुजलाई अमेरिकी क्षेत्र घोषणा गर्ने विषयमा कुरा गर्नुभएको थियो। इरानले भने ट्रम्पको उक्त दाबी अस्वीकार गरेको छ । रेजाईले ट्रम्पको नेतृत्वमा इरानमाथि भएको आक्रमणले विश्वमा आणविक हतियारसम्बन्धी डर थप बढाएको बताएका छन् । उनका अनुसार अमेरिकी कदमका कारण अन्य देशले पनि आणविक हतियारबिना आफू सुरक्षित नरहने निष्कर्ष निकाल्न सक्ने जोखिम बढेको छ। रेजाईले इरान आणविक अप्रसार सन्धिको सदस्य रहेको र अन्तर्राष्ट्रिय नियमअनुसार आफ्नो आणविक कार्यक्रमको निरीक्षणसमेत गराउँदै आएको दाबी गरेका छन् । त्यसका बाबजुद अमेरिकाले इरानमाथि आक्रमण गरेकाले विश्वमा आणविक हतियार प्राप्त गर्ने चाहना बढ्न सक्ने उनको भनाइ छ ।
१३- नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी मा चलिरहेको पुनर्गठनको बहसमा प्रश्न उठाएकी छन् । झाँक्रीले एक जना अध्यक्ष हटाएर पुरानै संरचना, कार्यशैली, अनुहार र शक्ति सम्बन्ध कायम राख्ने हो भने त्यसलाई पार्टी पुनर्गठन भन्न मिल्छ कि मिल्दैन भन्दै प्रश्न गरेकी हुन् । उनले जेन-जी आन्दोलन हुनुभन्दा दुई दिनअघि भएको एमालेको विधान महाधिवेशनमा आन्तरिक लोकतन्त्रको प्रश्न किन नउठाइएको भन्दै उनले प्रश्न गरेकी छन् । झाँक्रीले पुनर्गठन हुदा नेतृत्व परिवर्तनसँगै संरचना, कार्यशैली र शक्ति सम्बन्धमा समेत परिवर्तन आवश्यक हुने संकेत गरेकी छन् ।
१४- अस्ट्रेलियाले बंगलादेशलाई दोस्रो टेस्टमा एक इनिङ्स र ५१ रनले पराजित गर्दै दुई खेलको सिरिज १-१ को बराबरीमा टुंग्याएको छ । म्याकायमा भएको खेल अस्ट्रेलियाले दोस्रो दिनमै जितेको हो । पहिलो इनिङ्समा बंगलादेश केवल ६४ रनमा समेटिएपछि अस्ट्रेलियाले पहिलो इनिंगमा २१० रन बनाएको थियो । अस्ट्रेलियाका क्यामरन ग्रिनले ६७ रनको महत्वपूर्ण योगदान दिए । बंगलादेशका शोरिफुल इस्लामले ४८ रन खर्चेर ७ विकेट लिएर उत्कृष्ट बलिङ गरे । तर दोस्रो इनिङ्समा पनि बंगलादेशको ब्याटिङ टिक्न सकेन । टोली ९५ रनमै अलआउट भएपछि अस्ट्रेलियाले एक इनिङ्स र ५१ रनको जित हात पारेको हो । बंगलादेशका मुस्फिकुर रहिमले सर्वाधिक २९ रन बनाए । अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क जितका मुख्य नायक बने । उनले खेलमा कुल १० विकेट लिए । पहिलो इनिङ्समा ६ विकेट लिएका स्टार्कले दोस्रो इनिङ्समा पनि महत्वपूर्ण ४ विकेट लिएर बंगलादेशको ब्याटिङ ध्वस्त पारे । यसअघि डार्विनमा भएको पहिलो टेस्टमा बंगलादेशले अस्ट्रेलियालाई ९ विकेटले हराउँदै अस्ट्रेलियाली भूमिमा पहिलो टेस्ट जित निकालेको थियो । दोस्रो टेस्टमा अस्ट्रेलियाले त्यसको जवाफ दिँदै सिरिज बराबरी गरेको हो ।
१५- बाराको कलैया उपमहानगरपालिका–१ कट्टीपर्साबाट शनिबार साँझदेखि सम्पर्कविहीन भएकी २ वर्षीया बिन्दी मण्डल आइतबार बिहान सकुशल फेला परेकी छन् । मुकेश मण्डलकी छोरी बिन्दीलाई कलैया उपमहानगरपालिका–२६ स्थित सिसवा महेशपुरमा सडक किनारको नालामा रोइरहेको अवस्थामा करिब १२ घण्टापछि स्थानीय एक महिलाले फेला पारेकी हुन् । बालिका हराएको सूचना पाएपछि प्रहरीले कुकुरसहित लिएर खोजी अभियान तीव्र बनाएको थियो । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले रातभर विभिन्न स्थानमा खोजी गर्नुका साथै तालिमप्राप्त कुकुरसमेत परिचालन गरेको थियो । आइतबार बिहान बालिका सकुशल भेटिएपछि प्रहरीको समन्वयमा उनलाई परिवारको जिम्मा लगाइएको बताएको छ । लामो समयसम्म छोरीको अवस्था थाहा नहुँदा चिन्तित बनेको परिवारमा बिन्दी भेटिएसँगै खुसी फर्किएको छ ।
१६- नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन तोलाको २८ सयले बढेर तोलाको ३ लाख १९ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख १६ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ४९७५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४९८५ मा कारोबार भएको थियो ।
१७- अण्डाको मुल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार अण्डाको मूल्य शुक्रबारदेखि लागु हुने गरि बढेको हो । संघका सचिव मदन पोखरेलका अनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ पुगेको छ । यस अघि साउन २६ गते एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५६० तोकिएको थियो । त्यस्तै ठूलो अण्डाको ५७५ रुपैयाँ तोकिएको छ । यसअघि ठुलो अण्डाको मुल्य ५४५ रहेको थियो । त्यस्तै, मिडियम अण्डाको मुल्य ५०० बाट ५२० रुपैयाँ पुगेको छ । त्यसैगरी, सानो अण्डाको मूल्य ४४८ रुपैयाँ पुगेको छ । बजारमा चल्लाको अभाव र ह्याचरी उद्योगहरू बन्द हुदा उत्पादन प्रभावित भएको व्यवसायीहरुले बताएका छन् ।
१८- बायर्न म्युनिखले जर्मन फुटबल सिजनको पहिलो उपाधि जितेको छ । जर्मन सुपर कपअन्तर्गत शनिबार राति भएको खेलमा बायर्नले बोरुसिया डोर्टमन्डलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेल डर्टमन्डस्थित सिग्नल इडुना पार्कमा भएको थियो । बायर्नले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो । खेलको २८औँ मिनेटमा नाथानियल ब्राउनले माइकल ओलिसेको पासमा गोल गर्दै बायर्नलाई अग्रता दिलाए । पहिलो हाफको थप समयमा ओलिसेले गोल गर्दै बायर्नको अग्रता २-० बनाएका थिए । दोस्रो हाफमा डोर्टमन्डले खेलमा फर्कने प्रयास गरेको थियो । खेलको ७५औँ मिनेटमा फाबियो सिल्भाले गोल गर्दै अन्तर २-१ मा झारेका थिए । ड्यानियल स्वेन्सनको पासमा सिल्भाले डोर्टमन्डका लागि गोल गरेका थिए । डोर्टमन्डले बराबरी गोलका लागि लगातार आक्रमण गरे पनि बायर्नले अग्रता जोगायो । खेलको ९०औँ मिनेटमा डोर्टमन्डका राम्मी बेन्सेबैनी रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि घरेलु टोली थप दबाबमा परेको थियो । अन्तिम समयमा म्याक्सिमिलियन बेयरले बराबरीको राम्रो अवसर पाए पनि गोल गर्न सकेनन् । यस जितसँगै बायर्नले जर्मन सुपर कपको उपाधि १२औँ पटक जितेको छ । प्रशिक्षक भिन्सेन्ट कोम्पानीको टोलीले लगातार दोस्रो पटक सुपर कप जित्दै नयाँ सिजनमा उपाधिसहित सुरुवात गरेको हो । खेलमा माइकल ओलिसे बायर्नका प्रमुख खेलाडी बने । उनले एक गोल गर्नुका साथै एक गोलमा सहयोग गरेका थिए । बायर्नका स्टार खेलाडी जमाल मुसियाला भने टोलीमा थिएनन् । बायर्नले अब नयाँ सिजनको जर्मन लिगमा भीएफबी स्टुटगार्टसँग खेल्दै आफ्नो अभियान सुरु गर्नेछ ।
१९- स्पेनिस ला लिगाको नयाँ सिजनमा रियल म्याड्रिडले विजयी सुरुवात गरेको छ । जोसे मोरिन्होको पुनरागमनपछिको पहिलो आधिकारिक खेलमा रियल म्याड्रिडले एस्पान्योललाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको नवौँ मिनेटमा जुड बेलिङ्घमले गोल गर्दै रियल म्याड्रिडलाई अग्रता दिलाएका थिए । अर्दा गुलरको पासमा बेलिङ्घमले हेडमार्फत गोल गरेका थिए । एस्पान्योलले ३०औँ मिनेटमा एलेक्स कालात्राभाको गोलमार्फत खेल बराबरीमा ल्याएको थियो । जाभी हर्नान्डेजको पासमा कालात्राभाले गोल गरेका थिए । त्यसपछि दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि निर्धारित समयमा थप गोल हुन सकेन । रियल म्याड्रिडका लागि ९०औँ मिनेटमा कार्लोस एस्पीले निर्णायक गोल गरे । मैदान प्रवेश गरेको केही समयमै उनले गोल गर्दै टोलीलाई तीन अंक दिलाएका थिए । यस जितसँगै मोरिन्होले रियल म्याड्रिडको दोस्रो कार्यकाल विजयी शुरुवात गरेका छन् । रियल म्याड्रिडले खेलमा बलमाथि बढी नियन्त्रण राख्दै २० पटक प्रहार गरेको थियो ।
२०- विश्वका ठुला प्रविधि कम्पनि एप्पल र ओपनएआईबीच व्यापारिक गोपनीयता अर्थात् कम्पनीका गोप्य जानकारीको कथित दुरुपयोगलाई लिएर चलिरहेको कानुनी विवाद थप गहिरिँदै गएको छ । एप्पलले अमेरिकी अदालतसमक्ष ओपनएआईले दायर गरेको मुद्दा प्रारम्भिक चरणमै खारेज गर्नुपर्ने माग अस्वीकार गर्न आग्रह गरेको छ । यस मुद्दाको अर्को सुनुवाइ आगामी अक्टोबर १ मा हुने भएको छ । एप्पलले अदालतमा बुझाएको पछिल्लो निवेदनमा ओपनएआईले मुद्दा प्रारम्भिक चरणमै खारेज गर्न गरेको मागको विरोध गरेको छ । एप्पलका अनुसार ओपनएआईको दाबी तथ्यलाई गलत रूपमा प्रस्तुत गर्ने, बाह्य प्रमाणको अनुचित प्रयोग गर्ने र अनुमानमा आधारित रहेको छ । एप्पलले यसअघि लगाएका आरोपलाई पनि दोहोर्याउँदै व्यापारिक गोप्य जानकारीको कथित दुरुपयोग भएको प्रमाण आफूसँग रहेको दाबी गरेको छ । एप्पलले ओपनएआईले त्यस्तो गतिविधिलाई प्रोत्साहनसमेत गरेको आरोप लगाएको छ । एप्पलले ओपनएआईसँग सम्बन्धित व्यक्तिहरूले आफ्ना केही कर्मचारीलाई कम्पनीको गोप्य जानकारी प्राप्त गर्ने तरिकाबारे निर्देशन दिएको आरोप लगाएको छ । एप्पलका अनुसार यो विषय सामान्य गल्ती वा अनजानमा भएका घटनामा मात्र सीमित नरहेको र मुद्दालाई अघि बढाउन पर्याप्त तथ्य र प्रमाण रहेको कम्पनीको दाबी छ । एपलले व्यापारिक गोप्य जानकारीको कथित दुरुपयोगबारे थप अनुसन्धान अघि बढाउनुपर्ने आधार रहेको जनाएको छ । एप्पलले ओपनएआईविरुद्ध व्यापारिक गोप्य जानकारीको कथित दुरुपयोगसम्बन्धी मुद्दा दायर गरेको थियो । त्यसपछि अगस्ट ५, २०२६ मा ओपनएआईले अदालतमा मुद्दा खारेज गर्न माग गर्दै निवेदन दिएको थियो । ओपनएआईले आफूलाई एप्पलको स्वामित्वमा रहेका गोप्य जानकारी आवश्यक नरहेको दाबी गरेको थियो । साथै, एप्पलले आफूलाई प्रभावकारी रूपमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्थाको आरोप लगाएको तर्कसमेत ओपनएआईले गरेको थियो । एप्पलले भने यी दाबी अस्वीकार गरेको छ । कम्पनीका अनुसार ओपनएआईले गम्भीर आरोपलाई सामान्य गल्ती वा अनजानमा भएका घटनाका रूपमा प्रस्तुत गर्न खोजिरहेको छ, जबकि मुद्दा अघि बढाउन पर्याप्त आधार र प्रमाण उपलब्ध छन् । यस मुद्दामा अर्को महत्वपूर्ण सुनुवाइ अक्टोबर १, २०२६ मा हुने भएको छ। अमेरिकी जिल्ला अदालतका न्यायाधीश एडवर्ड जे. डाभिलाले त्यस दिन ओपनएआईको मुद्दा खारेज गर्ने मागमाथि दुवै पक्षका तर्क सुन्नेछन् । त्यसअघि ओपनएआईले एपलको विरोधमा आफ्नो जवाफ अगस्ट २६, २०२६ सम्म अदालतमा बुझाउनुपर्नेछ । त्यसैले आगामी दिनमा दुवै कम्पनीका थप तर्क र कागजात अदालतमा प्रस्तुत हुने सम्भावना छ । जानकारहरूका अनुसार न्यायाधीशले ओपनएआईको मुद्दा खारेज गर्ने माग अस्वीकार गरेमा यो मुद्दा प्रमाण तथा कागजात संकलनको चरणमा प्रवेश गर्न सक्छ । त्यस क्रममा दुवै कम्पनीले एकअर्कासँग मुद्दासँग सम्बन्धित कागजात, प्रमाण, कुराकानी तथा अन्य आवश्यक जानकारी माग गर्न सक्नेछन् । यस प्रक्रियामा ओपनएआईका उपकरणसम्बन्धी परियोजना, एपलका पूर्वकर्मचारीको नियुक्ति तथा ती कर्मचारीसँग आएको जानकारीसँग सम्बन्धित अभिलेखसमेत अनुसन्धानको दायरामा पर्न सक्नेछन् ।