असार ९, जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले रास्वपा नेतृत्वको हालको सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा नेपाल सडकमा डन्डा लिएर ओर्लिने चेतावनी दिएका छन् ।

मंगलबार जनकपुरधाममा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेला, अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले प्रधानमन्त्री बालेन्द्र साह –बालेन) ले जनकपुरधाममा गरेको भाषणको स्मरण गराउँदै, संविधान संशोधन गरी संघीयता मजबुत बनाउने कार्यमा सरकार चुके आफ्नो पार्टी सडकमा उत्रीने चेतावनी दिए । उनले जसपा नेपालकै एजेन्डालाई बालेन्द्र नेतृत्वको सरकारले उठाएर अगाडि बढेको दाबी गरे । अध्यक्ष यादवले जसपा नेपाल प्रतिनिधि सभाको चुनावमा सिट हासिल गर्नेतर्फ हारे पनि राजनितिक रुपमा नहारेको जानकारी गराए ।
अध्यक्ष यादवले पार्टीले चुनावमा हार बेहोर्नुको आन्तरीक कारणहरुको समिक्षा गर्दै त्रुटी सच्चाएर आगामि चुनावको तयारी गर्ने बताए । जसपा नेपालको नेतृत्वमा मधेश प्रदेश सरकार बनेको बेला गरेका कयौं कार्य र उपलब्धिहरुको प्रचार प्रसार गर्न आफूहरु चुकेको अध्यक्ष यादवको भनाई थियो । उनले जनकपुरधाममा एमबीबीएसको पढाईदेखि कृषि विश्वविद्यालय स्थापना गर्ने कार्यसमेत जसपा नेपालको सरकारलेनै गरे पनि जनता समक्ष यी कार्यहरुबारे जानकारी नभएकोले पनि आफूहरु हारेको बताए ।
अध्यक्ष यादवले अब जसपा नेपाल जनताकोबीचमा गएर जनादेश अनुसार काम गर्ने जानकारी दिए । उनले पार्टीको सिद्धान्त र जनअपेक्षा अनुसार मधेश र मधेशवासीको हक अधिकार सुनिश्चित गर्नका निम्ति कार्य गर्ने धारणा राखे ।