भदौ ६,काठमाडौँ । अमेरिका र क्यानडाबीच तीन दिनसम्म चलेको व्यापार सम्झौताको वार्ता असफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने करिब २० अर्ब अमेरिकी डलर बराबरका सामानमा ५० प्रतिशत कर लगाएका छन् । यो कर क्यानडाबाट अमेरिकातर्फ जाने कुल सामानको करिब ५ प्रतिशतमा लागू हुनेछ । वासिङ्टनमा तीन दिनसम्म भएको वार्तामा केही विषयमा सहमति बने पनि महत्वपूर्ण मुद्दामा दुई देशबीच सहमति हुन नसकेको जनाइएको छ ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाले जति कर लगाए पनि क्यानडाले त्यसको बराबर जवाफी कर लगाउने बताएका छन् अमेरिकाले क्यानडाको व्यापार नीतिले अमेरिकी कम्पनीलाई समान अवसर नदिएको आरोप लगाउँदै आएको छ । विशेषगरी सवारीसाधन, दुग्धजन्य पदार्थ, मदिरा र काठको व्यापारलाई लिएर दुई देशबीच लामो समयदेखि विवाद छ ।
अमेरिकाले आफ्ना सवारीसाधन तथा अन्य सामानका लागि क्यानडाको बजार थप खुला गर्न माग गरेको थियो । क्यानडाले भने अमेरिका पठाइने इस्पात, आल्मुनियम, सवारीसाधन र काठमा लगाइएको करमा छुट मागेको थियो । तर अमेरिका ती कर हटाउन तयार भएन ।
त्यस्तै, क्यानडाले आफ्नो दुग्ध बजारलाई विदेशी प्रतिस्पर्धाबाट जोगाउन विभिन्न नियम कायम राखेकोमा अमेरिकाले विरोध गर्दै आएको छ । अमेरिकी मदिराको बिक्रीमा क्यानडाका केही क्षेत्रमा लगाइएको प्रतिबन्धप्रति पनि अमेरिकाले असन्तुष्टि जनाउँदै आएको छ ।
अमेरिकाले क्यानडाली सामानमा ५० प्रतिशत कर लगाएपछि क्यानडाले पनि अमेरिकी सामानमा समान मूल्यको जवाफी कर लगाउने घोषणा गरेको छ । यससँगै दुई देशबीचको व्यापार तनाव थप बढेको छ । अमेरिका र क्यानडा एकअर्काका प्रमुख व्यापारिक साझेदार भएकाले नयाँ करले दुई देशबीचको व्यापार, व्यवसाय र उपभोक्ता मूल्यमा असर पर्न सक्ने देखिएको छ ।
