असोज ५, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले चाडपर्वको समयमा सार्वजनिक यातायातका सवारीसाधनलाई बाटैपिच्छे जाँच नगरी गन्तव्यसम्म सहज रूपमा पुग्ने वातावरण बनाउन आग्रह गरेका छन् । सोमबार विजया दशमी, दीपावली, छठ लगायतका चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापन तथा काठमाडौं उपत्यकाबाट बाहिर जाने र बाहिरी जिल्लाबाट काठमाडौं प्रवेश गर्ने यात्रुलाई सहज र सुरक्षित बनाउने सम्बन्धमा आयोजित छलफलमा बोल्दै सिटौलाले सवारीसाधनलाई निश्चित स्थानमा जाँच गरेर त्यसपछि सहज रूपमा गन्तव्यतर्फ जान दिनुपर्ने बताए ।

उनले भने, ‘मैले आज हेडक्वार्टरलाई म अनुरोध गर्दछु, ट्राफिक निर्देशनालयबाट आएकोलाई अनुरोध गर्न चाहन्छु। दशैँको बेला विराटनगरबाट कुनै गाडी हिँड्दै छ भने विराटनगरमा टोटल रूपमा सिल गरेर, चेक गरेर त्यो गाडी ४० जना छन् कि ४२ जना छन्, त्यो सबै चेक गरेर एकचोटि त्यहाँ चेक गर्दिनुस्, इटहरीमा चेक गर्नुस्। धरानबाट हिँडेको गाडी त्यहाँ चेक गर्नुस् अनि त्यो गाडी सर्र काठमाडौँ आउन दिनुस्। शङ्का लाग्यो भने जहाँ चेक गरे भयो नि त राज्यले त। शङ्का लागेको गाडीमा बाटैपिच्छे, ढाँटैपिच्छे किन रोक्नुपर्यो के।’
सिटौलाले यात्रुवाहक बसका चालक तथा कर्मचारीको अवस्थालाई समेत बुझेर यातायात सञ्चालनमा सहजीकरण गर्नुपर्ने बताए ।
उनले भने, ‘ गाडी त छिटो आइपुग्नुपर्छ । ती चालक पनि त इन्जिन हुन् नि, गाडी चलाएर आएका हुन्छन्। कतिका डबल ड्राइभर छन्, के छन्, त्यो त्यो पीडा त अलिकति बुझिदिनुपर्यो नि। पोखराबाट आएको गाडीले एक ठाउँ पोखरामा चेक गरे भइहाल्यो नि, त्यो नौडाँडा, कोटडाँडा, कुरिनटार, नागढुङ्गा, नौबिसे तलतिर फर्किँदा किन चेक गर्नुपर्यो के?’
उनले शङ्का लागेका सवारीलाई आवश्यकताअनुसार जाँच गर्न सकिने भए पनि सबै सवारीलाई बाटोमा पटक–पटक रोक्दा यात्रु तथा व्यवसायी दुवैलाई समस्या हुने बताए ।
‘शङ्का लागे जहाँ पनि चेक गर्न मिल्यो, चेक नगरिदिनुस् न यसरी। चेकै नगर्नु त भनिएको होइन तर जथाभावी ढङ्गबाट बाटोमा बङ्कर राखेको छ, याँ याँ बङ्कर राखेको छ अनि ट्राफिक राम्रो काम पनि गरिराख्या छ,’ उनले भने ।
सिटौलाले धनगढी, पोखरा, विराटनगरलगायतका स्थानबाट छुट्ने सवारीसाधनलाई सम्बन्धित स्थानमै यात्रु संख्या र आवश्यक कागजात जाँच गरी सिल गरेर पठाउने व्यवस्था गर्नुपर्ने बताए ।
उनले भने, ‘धनगढीबाट एउटा गाडी हिँड्यो भने त्यहाँ सिल गर्नुस्, त्यो गाडीलाई हेरिदिनुस् न। त्यहाँ ठ्याक्क लगाएर टाँचा लाएर ४५ जना मान्छे छन् भन्यो भने त त्यसलाई सर्र आउन दियो भने हेटौँडाबाट हिँडेको गाडी भयो नि त। सबै ठाउँमा छन् त नेपालको संयन्त्र। शङ्का लाग्यो भने यो फलाना ठाउँमा चेक गर्नुस् त्यो गाडीलाई भन्दै भयो नि, त्यो ट्रकलाई चेक गर् भन्दै भयो।’
टिकट वितरणपछि सवारी समयमै सञ्चालन हुन नसके त्यसको असर व्यवसायी र कर्मचारीमाथि समेत पर्न सक्ने भन्दै उनले यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायलाई आग्रह गरे ।
उनले भने, ‘यो कुरा सिरियस लिइदिन म निकायलाई अनुरोध गर्न, किनभने गाडी आवतजावत समयमा हुन सकेन भने यहाँ टिकट दिएर कुनै अर्थ छैन। टिकट दिएपछि अघि जसरी गाडी आगो लाग्यो, त्यसैगरी काउन्टरमा आगो लाउँछन्। काम गर्ने कर्मचारीले आगो लाउँछन्।’
सिटौलाले अहिले देशभर बाढीपहिरोका कारण सडकको अवस्था चुनौतीपूर्ण रहेको भन्दै सडकका खाल्डाखुल्डी तत्काल पुरेर भए पनि यात्रालाई सहज बनाउनुपर्ने बताए ।
उनले भने, ‘खाल्डा भएका बाटो बन्न, सडक बन्न टाइम लाग्ला, टाइम लाग्ला तर खाल्टाखुल्टी त पुरिदिनुपर्यो कमसेकम। खाल्टाखुल्टी पुरिदेऊ भनेका छौँ, हामीले त पुरै मेलम्चीको टेन्डर गर्देऊ भनेर हामीले भनेका छैनौँ नि, कमसेकम त्यस्ता कुराहरू गरिदिनुपर्छ।’
यस्तै प्रहरी प्रधान कार्यालय राजमार्ग तथा सुरक्षा महाशाखाका एसपी राजेन्द्र श्रेष्ठले चाडपर्वको समयमा दुर्घटना न्यूनीकरण तथा सवारी व्यवस्थापनका लागि देशभरका जिल्ला प्रहरी, ट्राफिक प्रहरी र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी योजना कार्यान्वयन गर्न लागिएको बताए ।
उनले भने, ‘अब हामीले चाहिँ भदौमै पठाइस, भदौको अन्तिम हप्ता नै विशेषगरी यो दुर्घटना न्यूनीकरणको लागि चाडपर्व लक्षित सुरक्षा योजना पेस गर्नु भनेर चाहिँ देशव्यापी रूपमा परिपत्र चाहिँ गरिसकेका पनि छौँ र हामीले चाहिँ फलोअप पनि गर्दै छौँ।’
श्रेष्ठका अनुसार गत वर्ष दशैंदेखि छठसम्मको अवधिमा ३ हजार ४८७ वटा दुर्घटना भएका थिए भने २९४ जनाको मृत्यु भएको थियो।
उनले भने, ‘पोहोर साल चाहिँ हाम्रो रेकर्डमा ३४८७ वटा दुर्घटना भएर २९४ जना चाहिँ व्यक्तिहरूको मृत्यु भएको छ। अब हामीले त कम्पेरिजन गर्ने हो, तुलनात्मक रूपमा पोहोरको भन्दा भरसक हुनै नदिने, भइहालेमा पनि पोहोरको भन्दा सर्टेन पर्सेन्ट घटाउने हाम्रो लक्ष्य हुन्छ।’
उनले दुर्घटना न्यूनीकरणका लागि केन्द्रबाट मात्र नभई स्थानीय तह र फिल्ड तहमा समेत प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
श्रेष्ठले भने, ‘हामी त असाध्यै चिन्तित छौँ तर मेन हामीभन्दा जिम्मेवार र उत्तरदायी हुनुपर्ने त फिल्डका कमान्डरहरू हुन्। यहाँनेर समस्या देखिन्छ । अब फिल्डमा ट्राफिक प्रहरी हुन्छ, ट्राफिक व्यवस्थापन सम्बन्धी नियमन गर्नको लागि, ऐन नियम पालना गराउनको लागि तर त्यहाँ सबै सरकारको, अरू सबै निकायको आशा, भरोसा, रोष, आक्रोश सबै ट्राफिक प्रहरीमार्फत आउँछ ।’
उनले सडक विभाग, यातायात व्यवस्था कार्यालय, स्थानीय तह, प्रशासन, निजी क्षेत्र तथा यातायात व्यवसायीलाई समेटेर संयुक्त संयन्त्र निर्माण गरी फिल्डमा परिचालन गर्नुपर्ने बताए।
श्रेष्ठले भने, ‘सडक विभाग, यातायात व्यवस्था कार्यालयदेखि लिएर निजी क्षेत्रहरू, संघसंस्थाहरू, यातायात व्यवसायीहरू, प्रशासन, स्थानीय तहलाई पनि एउटा संयुक्त रूपमा संयन्त्र गठन गरेर यसलाई फिल्डसम्म बरु ट्राफिक प्रहरीको तर्फबाट हामीले यहाँ केन्द्रबाट कसरी मोनिटर गर्नुपर्छ, कसरी उनीहरूलाई परिचालन गर्नुपर्छ । परिचालन गर्नको लागि कसरी संयन्त्र प्रभावकारी गराउनुपर्छ भन्ने कुराहरू हामी यहाँ केन्द्रबाटै गर्छौँ।’
उनका अनुसार पहिलो चरणमा प्रत्येक जिल्लाले दुर्घटना न्यूनीकरण तथा चाडपर्वको सवारी व्यवस्थापनका लागि सुधार गर्नुपर्ने सडक तथा अन्य क्षेत्रको पहिचान गरी योजना तयार गर्नेछ । दोस्रो चरणमा सरोकारवाला निकायबीच सर्वपक्षीय छलफल गरी निर्णय र प्रतिबद्धता गरिनेछ भने त्यसपछि चरणबद्ध रूपमा योजना कार्यान्वयन गरिनेछ ।
श्रेष्ठले रुट परमिटको विषयमा समेत अध्ययन आवश्यक रहेको बताए।
उनले भने, ‘रुट पर्मिट छैन भनेपछि जथाभावी कमजोर सडक खण्डहरूमा पनि ठुला गाडीहरू हाल्दिने प्रवृत्ति देखिन्छ । यसले पनि अलिकति समस्या निम्त्याएको छ । हाम्रै रुट पर्मिटको जारी गर्ने सन्दर्भमा हाम्रो अन्तरप्रदेशको रुट पर्मिटमा यहीँ नै समस्या छ, यो रुट पर्मिट कुनकुन रुटहरूमा कस्ताकस्ता रुटहरूमा खुला गर्ने, कुनकुन रुटहरूमा बन्देज गर्ने भन्ने कुराहरू अध्ययन हुन जरुरी छ।’