असार ११ , कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा परेका छन् । वर्षापछि हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरीचोक र म्याग्दीचोकका घर डुबानमा परेको सोही वडाका वडाध्यक्ष मोतिराज तिमिल्सिनाले बताए ।

पहिराले स्थानीय लक्ष्मी विक र रविना परियारको घर पूर्णरुपमा क्षति गरेको र थप १५ घर उच्च जोखिममा परेको छ । डुबान र पहिराका कारण ५०० हाराहारीमा मानिस विस्थापित भएको तिमिल्सिनाले जानकारी दिए ।
शुक्रबार राति सुरक्षित स्थानतर्फ गएकाहरु स्थानीय विद्यालय, मन्दिर तथा आफन्तकामा आश्रय लिएका छन् ।
यसैगरी अविरल वर्षाका कारण पोखरा–१६ अर्मलास्थित स्यालघारीमा रामबहादुर मगरको घर, पहिरामा बगेर पूर्ण क्षति भएको छ ।
अर्को एक घर पहिरामा झुन्डिएको अवस्थामा रहेको र सो क्षेत्रका ११ घर उच्च जोखिममा रहेका कारण अन्यत्र स्थानान्तरण गर्नुपर्ने सो वडाका वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए । पहिराबाट विस्थापितका लागि आमासमूह र सहकारी भवनको प्रयोग गरिएको उनले बताए ।