• २०८३ मङ्सिर ३ गते बुधवार

लालबकैया बाँधको अनुगमन : बाढीको जोखिम घटाउन सतर्क रहन आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन ५,रौतहट।  रौतहटको मौलापुर नगरपालिका-१ मर्यादपुरस्थित लालबकैया खोलाको बाँधमा सोमबार साँझ उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गर्दै सम्भावित बाढी जोखिमको आंकलन गरेको छ।

मनसुन सक्रिय भएसँगै बाढी र कटानको खतरा बढ्ने भएकाले स्थानीयलाई मौसमसम्बन्धी आधिकारिक सूचना निरन्तर हेर्न, सतर्क रहन र जोखिम देखिए सुरक्षित स्थानतर्फ सर्न आग्रह गरिएको छ।

निरीक्षण टोलीमा रौतहट क्षेत्र ३ का प्रतिनिधिसभा सदस्य धिरजप्रसाद पटेल, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, मौलापुर नगरपालिकाकी प्रमुख रिना कुमारी साह, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सीताराम रिजाल, सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हजमिनियाका प्रमुख एसपी रामहरि अधिकारी, राष्ट्रिय अनुसन्धानका उप निर्देशक कुमार बुढाथोकी, सिँचाइ कार्यालयका प्रतिनिधि तथा अन्य सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए।

टोलीले बाँधको अवस्था, कटानको सम्भावना रहेका स्थान र बाढीले पुर्‍याउन सक्ने क्षतिको अवलोकन गर्दै रोकथामका उपायबारे छलफल गरेको थियो। आवश्यक समन्वयमार्फत कटान नियन्त्रण र पूर्वतयारीका कामलाई थप प्रभावकारी बनाउने सहमति पनि भएको जनाइएको छ।

रौतहटको पूर्वमा रहेको बागमती नदी र पश्चिम लालबकैया नदी हरेक वर्ष वर्षायाममा उग्र बन्दा आसपासका बस्ती र खेतीयोग्य जमिनमा कटान तथा डुबानको समस्या दोहोरिने गरेको छ। त्यसैले मनसुनको संवेदनशील समयमा गरिएको यो संयुक्त अनुगमनलाई विपद् व्यवस्थापनतर्फको सकारात्मक पहलका रूपमा लिइएको छ। यद्यपि स्थानीयले दीर्घकालीन तटबन्ध सुदृढीकरण र संरक्षणका काम तत्काल अघि बढाउनुपर्ने माग गर्दै आएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस