चैत ७, बुटवल । लगातारको वर्षाका कारण पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने दाउन्ने सडकखण्डमा सडक अवरुद्ध भएको छ । प्रहरीका अनुसार सडक अत्यन्त चिप्लो बनेपछि दुवैतर्फका सवारी साधन पूर्ण रूपमा अवरुद्ध भएका हुन् । गएरातीदेखि नै सडक अवरुद्ध भएपछि हजारौं यात्री सडकमा अलपत्र परेका छन् ।

अहिले पनि सो क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ । साँघुरो सडक, अत्यधिक गाडीको चाप तथा हिलाम्मे सडकका कारण लामो जाम लागेको छ ।
बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध
सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानको सिद्धबाबा क्षेत्रमा लेदो सहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।
प्रहरीका अनुसार आज बिहानैदेखि परेको वर्षाले सिद्धबाबा क्षेत्रमा ढुङ्गासहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।