वैशाख ७, काठमाडौं । सुडी समाज काठमाडौँले राजनीतिक, सामाजिक तथा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योग्दान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । सुडी समाज काठमाडौँद्वारा यहाँ आज आयोजित नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान, सम्मान तथा क्यालेण्डर विमोचन समारोहमा सुडी समुदायबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित व्यक्तित्वहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय दीपककुमार साह र रास्वपाका सांसद रविन महतो तथा राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक शीतलप्रसाद महतो रहेका छन् । उहाँहरुलाई सुडी समाज महासङ्घ नेपालका अध्यक्ष परमेश्वर महासेठ तथा समाजका पूर्वअध्यक्ष डा अशोक महासेठ र प्राडा रामनन्दनप्रसाद चौधरीले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान–पत्रद्वारा सम्मान गर्नुभयो ।
उक्त समारोहमा समाजद्वारा प्रकाशित नयाँ वर्ष–२०८३ को क्यालेण्डर विमोचन गरिएको थियो । सो अवसरमा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं सांसद दीपककुमार साहले मुलुकले अहिले आमूल परिवर्तन खोजेकाले आम नागरिकको भावनाअनुसारको परिवर्तनका लागि आफूहरू सदैव लागिरहने बताउनुभयो । समाजको अग्रगामी रुपान्तरणका लागि नयाँ योजना एवं दृष्टिकोण आवश्यक रहेको तथा यसका लागि आफूले सक्दो सहयोग गर्ने उहाँले उल्लेख गर्नुभयो ।
सांसद रविन महतोले समाजप्रति समर्पित भएर सुडी समुदाय र समाजको गरिमालाई उच्च राख्न सुडी समाजको भूमिका र समर्पण महत्पूर्ण रहेको उल्लेख गर्दै सुडी समुदायबीच मैत्रीपूर्ण एवं पारस्परिक सम्बन्ध कायम गर्ने तथा सामाजिक, शैक्षिक, आर्थिक, स्वास्थ्यलगायत क्षेत्रको विकास, उन्नयन र सुडी समुदायको कल्याणका लागि समाज सक्रिय रुपमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सुडी समाज महासङ्घ नेपालका अध्यक्ष परमेश्वर महासेठले प्रतिनिधिसभामा अहिले अधिकांश युवापुस्ता निर्वाचित भएर आएकाले युवावर्गमा देखिएको उत्साह र उमङ्गलाई मुलुकको विकास तथा सामाजिक रुपान्तरणमा लगाउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
समाजका अध्यक्ष एवं राससका प्रधानसम्पादक शीतलप्रसाद महतोले जीवनका अधिकांश समय विभिन्न क्षेत्रमा क्रियाशील रही आफ्नो, ज्ञान र सीपलाई समाजोपयोगी कार्यमा लगानी गर्नुभएका व्यक्तित्वहरु यस समाजका धरोहर तथा मार्गनिर्देशकका रुपमा आदरणीय हुनुहुन्छ भन्दै समाजको अग्रगामी रुपान्तरणका लागि सबैले सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
समाजका पूर्वअध्यक्ष डा अशोक महासेठ र प्राडा रामनन्दनप्रसाद चौधरी, समाजसेवी शान्ति महतो, तेली समाज काठमाडौँ उपत्यकाका अध्यक्ष हरिषचन्द्र साह, समाजका उपाध्यक्ष शङ्करप्रसाद साह सुडी, महासचिव डा प्रकाशचन्द्र पञ्जियार, सचिव वीरेन्द्रकुमार साह, कोषाध्यक्ष विनोद महासेठ, समाजका महिला उपसमितिका संयोजक अञ्जु साह महासेठलगायतले समतामूलक समाज र सामाजिक न्याय स्थापनाका लागि सुडी समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।