वैशाख ७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री सुदन गुरुङ बारे उठेका प्रश्नको छानबिन गर्न माग गरेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै गृहमन्त्री गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गर्न माग गरेका हुन् ।

काँग्रेसले यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्याउने चेतावनी समेत दिएको छ ।
कांग्रेसले मन्त्रीहरूको सम्पत्तिको स्रोत सम्बन्धमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने स्पष्ट निर्णय गरिसकेको विज्ञप्तिमा उल्लेख गर्दै पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएकाले यस्ता प्रश्नहरूको विश्वसनीय, निष्पक्ष र तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको बताएको छ ।
पछिल्लो पटक गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको बताउदै यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक भएको उल्लेख छ ।
काँग्रेसले विज्ञप्तिमा अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्ने बताएको छ ।
गृहमन्त्री गुरुङको सम्पत्ति र लगानीका विषयमा प्रश्न उठेपछि अहिले सरकार र रास्वपालाई चौतर्फी दबाब बढ्दै गएको छ ।
गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरणसँगै उनको सेयर बजारमा लगानी र हाल सम्पत्ति शुद्धिकरण मुद्धामा हिरासतमा रहेका दीपक भट्टसँगको व्यवसायिक सम्बन्धबारे एक पछि अर्को खुलासा हुन थालेपछि मन्त्री गुरुङ दबाबमा आएका छन् ।