असोज ३, काठमाडौं । पूर्वी चीनको निङ्बो शहरमा सवारीसाधन निरीक्षणका लागि कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधियुक्त रोबोट प्रयोग गर्न थालिएको छ । निङ्बोको सवारीसाधन व्यवस्थापन केन्द्रमा परीक्षणका रूपमा प्रयोग भइरहेको रोबोटले सवारीसाधनको बाहिरी अवस्था, मोडल र च्यासिस नम्बरलगायत विवरण स्वचालित रूपमा जाँच गर्न थालेको हो ।

एआई चिप र उच्च रिजोल्युसन क्यामेरासहितको रोबोटले सवारीसाधनको वरिपरि घुमेर विभिन्न भागको निरीक्षण गर्छ । यसले कागजातमा रहेका विवरण र सवारीसाधनको वास्तविक अवस्थाबीचको मिलानसमेत स्वचालित रूपमा गर्ने जनाइएको छ ।
रोबोटले सवारीसाधनमा घिसारिएको वा फेरबदल गरिएको संकेत, चोरी तथा तस्करीसँग सम्बन्धित अवस्था र गैरकानुनी रूपमा गरिएको परिमार्जन पहिचान गर्न सक्ने बताइएको छ । यसबाट निरीक्षण प्रक्रियामा लाग्ने समय घटाउनुका साथै नियमित र दोहोरिने काम स्वचालित बनाउन सकिने अपेक्षा गरिएको छ ।
निङ्बो सवारीसाधन व्यवस्थापन कार्यालयका अधिकारी झाङ चेनका अनुसार रोबोट अहिले परीक्षण चरणमा छ । यसले दैनिक करिब चारदेखि पाँचवटा सवारीसाधन जाँच गरिरहेको उनले बताए । निरन्तर सिकाइ र प्रविधि स्तरोन्नतिसँगै रोबोटलाई थप प्रभावकारी बनाउँदै भविष्यमा विभिन्न स्थानमा प्रयोग गर्न सकिने झाङले बताए । उनका अनुसार सवारीसाधन डेलिभरी केन्द्रमा समेत यसको प्रयोग विस्तार गर्न सकिन्छ र सवारीधनीले स्वयंसेवा प्रणालीमार्फत सवारीसाधन निरीक्षण गर्न सक्ने अवस्था बन्न सक्छ ।
निङ्बो नगर तथ्यांक ब्युरोका अनुसार गत वर्षको अन्त्यसम्म शहरमा ३० लाखभन्दा बढी निजी सवारीसाधन रहेका थिए । ठूलो संख्यामा रहेका सवारीसाधनको निरीक्षणलाई प्रविधिमैत्री र स्वचालित बनाउन एआई रोबोटको प्रयोगलाई महत्त्वपूर्ण प्रयोगका रूपमा हेरिएको छ । सीसीटीभी