• २०८३ भाद्र ३ गते बुधवार

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

भदौ ३, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजारभन्दा बढी गैरअमेरिकी नागरिकले अवैध रूपमा मतदान गरेको दाबी गरेका छन् । उनले अमेरिकी जनगणना ब्युरोले मतदाता अभिलेख र नागरिकताको अभिलेखबीच तुलना गर्ने क्रममा यस्तो तथ्य फेला परेको बताएका हुन् ।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै जनगणना ब्युरोले पहिलो १२ करोड ८० लाख मतदाताको विवरण परीक्षण गर्दा २४ हजारभन्दा बढी गैरनागरिकले अवैध रूपमा मतदान गरेको प्रमाणित भएको दाबी गरेका छन् । बाँकी ३ करोड २० लाख मतदाताको विवरणसमेत परीक्षण गरिने र त्यसपछि यो संख्या अझ बढ्ने उनको भनाइ छ ।

ट्रम्पले सन् २०२० को निर्वाचनमा आफू विजयी भएको दाबी दोहो¥याउँदै अमेरिकी संसद्लाई ‘सेभ अमेरिका एक्ट’ पारित गर्न पनि आग्रह गरेका छन् । गत जनवरी २९ मा अमेरिकी संसद्मा प्रस्तुत गरिएको ‘सेफगार्ड अमेरिकन भोटर इलिजिबिलिटी अमेरिका एक्ट’ले संघीय निर्वाचनमा मतदाता नामावलीमा दर्ता हुँदा अमेरिकी नागरिकताको भौतिक प्रमाण अनिवार्य गर्ने प्रस्ताव गरेको छ ।

यसअन्तर्गत राहदानी वा जन्मदर्ता प्रमाणपत्रजस्ता कागजात पेश गर्नुपर्ने तथा मतदानका क्रममा वैध फोटो परिचयपत्र देखाउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । प्रस्तावित कानुनले बिरामी, शारीरिक अशक्तता, सक्रिय सैन्य सेवा वा यात्रा गर्नुपर्ने अवस्थाजस्ता निश्चित परिस्थितिबाहेक हुलाकमार्फत मतदानमा समेत प्रतिबन्ध लगाउने व्यवस्था अघि सारेको छ । साथै, संघीय तथ्यांकको प्रयोग गरी मतदाता नामावलीबाट गैरनागरिकको नाम हटाउने व्यवस्था गर्न राज्यहरूलाई निर्देशन दिने प्रस्ताव गरिएको छ ।

ट्रम्पले भारतको निर्वाचन प्रणालीको उदाहरण दिँदै अमेरिकामा मतदाता परिचयपत्रसम्बन्धी व्यवस्था थप कडा बनाउनुपर्ने धारणा पनि राखेका छन् । उनले भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले यसै महिनाको सुरुआतमा अमेरिकाको निर्वाचनमा वैध फोटो परिचयपत्रबिना कसरी मतदान हुन्छ भनेर प्रश्न गरेको दाबी गरेका छन् ।

ट्रम्पका अनुसार भारतको पछिल्लो आमनिर्वाचनमा ६४ करोड ६० लाखभन्दा बढी मतदाता सहभागी भएका थिए र १ प्रतिशतभन्दा कम मत हुलाकमार्फत परेको थियो । उनले प्रत्येक मतदाताले वैध फोटो परिचयपत्र देखाउनुपर्ने व्यवस्थाको उल्लेख गर्दै अमेरिकामा पनि त्यस्तै व्यवस्था आवश्यक रहेको बताएका छन् ।

यसैबीच, ह्वाइट हाउसले पनि सेभ अमेरिका एक्टलाई संघीय निर्वाचनमा अमेरिकी नागरिकले मात्र मतदान गर्ने सुनिश्चित गर्ने उद्देश्यको कानुनका रूपमा व्याख्या गरेको छ ।

ह्वाइट हाउसका अनुसार प्रस्तावित कानुनले मतदाता दर्ताका क्रममा नागरिकताको प्रमाण र वैध परिचयपत्र अनिवार्य गर्नुका साथै हुलाक मतदानमा सीमितता र मतदाता नामावलीबाट गैरनागरिक हटाउने व्यवस्था गर्नेछ । ह्वाइट हाउसले भारत र ब्राजिलमा मतदाता परिचयलाई बायोमेट्रिक प्रणालीसँग जोडिएको उल्लेख गर्दै अमेरिकाको निर्वाचन प्रणाली तुलनात्मक रूपमा कम कडा रहेको दाबी गरेको छ ।

भारतमा मतदाताको पहिचानका लागि एपिक अर्थात् मतदाता फोटो परिचयपत्र प्रणाली प्रयोग हुँदै आएको छ । सन् २०२४ को लोकसभा निर्वाचन सात चरणमा सम्पन्न भएको थियो, जसमा ६४ करोड २० लाखभन्दा बढी मतदाता सहभागी भएका थिए र समग्र मतदानदर ६५.७९ प्रतिशत रहेको थियो ।

यद्यपि, ट्रम्पले गैरनागरिकले २०२० को निर्वाचनमा २४ हजारभन्दा बढी मतदान गरेको दाबी गरेको विषयमा थप स्वतन्त्र प्रमाण तथा विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ । एएनआई

Sharing

प्रतिक्रिया दिनुहोस