जेठ ४, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीशमा मनोज शर्माको सिफारिसविरुद्ध परेको रिटको विषय उठेको छ । सोमबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद यज्ञमणि ढकाल र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको प्रधानन्यायाधीशमा मनोज शर्माको सिफारिसविरुद्ध परेको रिट दर्ता गर्न दिने आदेशको विषयमा प्रश्न उठाएका हुन् ।

सांसद न्यौपानेले मल्लको आदेश कुन इजलास हो भन्ने प्रश्न गर्दै अदालत आफ्नो सीमामा बस्न चेतावनी दिएका थिए । अदालतको सक्रियता मुद्धा फैसलामा नभएको तर स्वार्थको द्वन्द हुने किसिमका घटना हुन्छनकी भन्ने डर उत्पन्न भएको बताएका छन् ।
त्यस्तै रास्वपा सांसद बास्कोटाले न्यायालयलाई ध्यानाकर्षण गराउदै कामु प्रधानन्यायाधीशले दरपिठ भएका रिट दर्ता गर्न आदेश दिनु कति ठिक हुन्छ, यो विषय संसदमा छलफल हुनुपर्ने बताएकी थिइन् ।
रास्वपा सांसदहरुले अदालतको विषयमा संसदमा कुरा उठाएपछि एमाले सांसदहरू गुरु बराल, ऐन महर, मोहम्मद इतियाक राईलगायत सांसद उठेर आपत्ति जनाएका थिए ।
सांसद महरले निरन्तर विरोध जनाएपछि सभामुखले सांसद महरलाई बोल्न समय दिएका थिए । उनले अदालत र विचाराधीन मुद्दाको विषयमा संसद्मा बहस गर्न नपाइने संबिधानमै उल्लेख गरेको भन्दै आपत्ति जनाए ।