• २०८३ बैशाख ५ गते शनिवार

भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख ५, काठमाडौं । भूतपूर्व सैनिक सम्मेलन-२०८२ अन्तर्गत मध्य पूर्वी पृतना अन्तर्गत हिमाली र पहाडी जिल्लाहरूमा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाहरूको सहभागितामा अन्तिम चरणको भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ ।

मुख्य सम्मेलन केन्द्र, खड्‍गदल गण, रामेछापमा बलाधिकृत रथी प्रदिप जंग केसी र अन्य २ (दुई) उपकेन्द्रहरूमा ज्येष्ठ अधिकृतको प्रमुख आतिथ्यमा सञ्चालन भएको सम्मेलनमा उक्त क्षेत्रमा बसोबास गर्ने करिब छ हजार पाँच सय अवकाश प्राप्त सैनिक तथा परिवारजनको उपस्थिति रहेको थियो ।

नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा “भूतपूर्व सैनिक सम्मेलनको प्रण-सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन” भन्ने मूल सन्देशका साथ सञ्चालन भएको उक्त सम्मेलनमा ज्येष्ठ भूतपूर्व सैनिक, ज्येष्ठ एकल महिला, ४ सन्ततिलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने ४ अभिभावक तथा सर्वोत्कृष्ट र उत्कृष्ट उद्यमीहरूलाई सम्मान, प्रशंसा-पत्र र पुरस्कार वितरण गरिएको थियो । सोही क्रममा फरक क्षमता भएका तथा अशक्त २४ (चौबिस) जना भूतपूर्व सैनिकहरूलाई व्हीलचेयर तथा बैसाखी वितरण गरिनुको साथै रामेछाप जिल्लास्थित १०२ वर्षीय एकल महिला नरमाया कार्कीलाई ज्येष्ठ शताब्दी महिलाका रूपमा अभिनन्दन गरिएको थियो ।

यस प्रकारको कार्यक्रमले सेवारत र अवकाश प्राप्त सैनिकहरू बिचको सम्बन्धलाई निरन्तरता दिँदै कल्याणकारी कोषको स्थायित्व एवं गुणात्मक सेवा प्रदान गर्न उपयुक्त तथा व्यवहारिक सुझाव सङ्कलन गरी हिताधिकारीहरूलाई शिक्षा, स्वास्थ्य, सहुलियत र स्वरोजगारका क्षेत्रमा समयानुकूल सुविधा प्रदान गर्न मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

यससँगै आर्थिक वर्ष २०८२/०८३ को भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस