भदौ २, काठमाडौं। तारकेश्वर नगरपालिका र परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पताल, थापाथलीबीच आर्थिक वर्ष २०८३/८४ मा प्रसुती तथा स्त्री रोगसम्बन्धी बहिरंग सेवा सञ्चालन गर्ने सम्झौता भएको छ। नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, जनस्वास्थ्य अधिकृत तथा नर्सिङ फोकल पर्सन र परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालका निर्देशक, उपनिर्देशक, विभागीय प्रमुख तथा सूचना अधिकारीको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

सम्झौता अनुसार परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालका प्रसुती तथा स्त्री रोग विशेषज्ञ चिकित्सकले हरेक महिनाको दोस्रो बुधबार साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ बहिरंग सेवा प्रदान गर्नेछन्।
त्यस्तै, हरेक महिनाको अन्तिम बुधबार मनमैजु स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड सेवासहितको प्रसुती तथा स्त्री रोगसम्बन्धी बहिरंग सेवा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार नगरवासी महिलालाई आफ्नै घरदैलोमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने, प्रसुती तथा स्त्री रोगसम्बन्धी उपचारलाई सहज र पहुँचयोग्य बनाउने तथा मातृ तथा शिशु अशक्तता र मृत्युदर न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
उक्त सेवा भदौ महिनादेखि सञ्चालनमा आउने भएकाले नगरपालिकाले सबै नगरवासी महिला दिदीबहिनीलाई सेवाको लाभ लिन आग्रह गरेको छ।
सेवा सञ्चालनका लागि सहजीकरण गरेकोमा तारकेश्वर नगरपालिकाले परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पताल, थापाथलीप्रति आभार व्यक्त गरेको छ।