• २०८३ भाद्र ३ गते बुधवार

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २० मिनेट

भदौ २, काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- अग्रगामी मोर्चाले लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी, नेपालका प्रदेशसभा सदस्यहरूलाई एमाले नेतृत्वको प्रदेश सरकारले मन्त्री पदको शपथ गराएको र उनीहरूले सरकारको पक्षमा मतदान गरेकोप्रति आपत्ति जनाएको छ । मोर्चाले विज्ञप्ति जारी गर्दै संसदीय व्यवस्थाका मूल्य, मान्यता र मर्यादा तथा जनता समाजवादी पार्टी, नेपालको निर्णय र निर्देशनविपरीत प्रदेशसभा सदस्यहरू सरकारमा सहभागी हुनु र सरकारको पक्षमा मतदान गर्नु अनैतिक तथा असंसदीय कार्य भएको जनाएको छ । मोर्चाले भदौ १ गते लुम्बिनी प्रदेशसभामा सरकारको पक्षमा भएको मतदान र त्यसअघि जसपाका प्रदेशसभा सदस्यलाई मन्त्री पदको शपथ गराइएको घटनाको घोर भर्त्सना तथा निन्दा गरेको छ । उक्त कार्य तत्काल सच्याउनसमेत मोर्चाले माग गरेको छ । साथै अग्रगामी मोर्चाले आगामी प्रदेश निर्वाचनसम्म मोर्चामा आबद्ध कुनै पनि घटक दल प्रदेश सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको जनाएको छ । मोर्चाका प्रवक्ता डा. सिके राउतले जारी गरेको विज्ञप्तिमा संसदीय व्यवस्था र लोकतान्त्रिक प्रणालीका मान्यतालाई कायम राख्न मोर्चा प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।

२- नेपाल रेडक्रस सोसाइटीका लागि जग्गा खरिद गर्दा अनियमितता तथा ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त रेडक्रस सोसाइटीसम्बन्धी अनियमितता छानबिन प्रतिवेदन अनुसार भक्तपुरमा गोदाम घर सञ्चालनका लागि जग्गा खरिद गर्ने क्रममा बोलपत्रको सर्तविपरीत बिचौलियामार्फत कारोबार गरिएको खुलेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । २०७३ भदौ २२ गते प्रकाशित सूचनाअनुसार भक्तपुर–४ मा रहेका विभिन्न कित्ता नम्बरको कुल ५ रोपनी १३ आना ३ पैसा क्षेत्रफलको जग्गा खरिद गर्दा रेडक्रसले ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँ भुक्तानी गरेको थियो। त्यस रकममध्ये १ करोड ९३ लाख ७५० रुपैयाँ बिचौलियाले लिएको अनुसन्धानबाट खुलेको जनाइएको छ । नापी कार्यालय भक्तपुरबाट जग्गाको क्षेत्रफल यकिन गराउँदा कागजमा उल्लेख भएभन्दा कम अर्थात् ५ रोपनी ६ आना २ पैसा १ दाम मात्र क्षेत्रफल रहेकोसमेत खुलेको छ । बोलपत्रको सर्तविपरीत बिचौलियामार्फत जग्गा खरिद गरी रेडक्रसलाई आर्थिक नोक्सानी पुर्‍याएको आरोपमा अनुसन्धान अघि बढाइएको हो । भक्तपुर जिल्ला अदालतबाट पक्राउ गरी अनुसन्धान गर्न अनुमति लिएपछि संलग्न पदाधिकारी, कर्मचारी तथा बिचौलियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमि–३ का राजेश देशमरु, काठमाडौँ–२६ बस्ने उमेशप्रसाद ढकाल, भक्तपुर चाँगुनारायण–५ का मदनकृष्ण फोजु, मध्यपुर थिमि–१ का सञ्जीव थापा र काठमाडौँ–१६ बालाजुका इन्द्रबहादुर केसी रहेका छन् । पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । प्रहरीले रेडक्रसको मानवीय सेवाको उद्देश्यविपरीत संस्थालाई आर्थिक क्षति पुर्‍याउने गरी भएको भनिएको जग्गा खरिदसम्बन्धी कारोबारको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक भदौ ५ गते शुक्रबार बिहान ११ बजे बस्ने भएको छ । बैठक काठमाडौँको वनस्थलीस्थित घन्टीघर, केन्द्रीय कार्यालयमा बस्ने रास्वपा महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिएका छन् । बैठकमा पहिलो चरणमा दस्तावेजसम्बन्धी विषयमा छलफल हुनेछ । आगामी स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन गर्ने तथा ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज निर्माण गर्ने प्रस्ताव बैठकमा पेस हुने महामन्त्री आचार्यले बताए । त्यस्तै, संगठनात्मक व्यवस्थापन तथा मनोनयनसम्बन्धी विभिन्न विषय बैठकको कार्यसूचीमा राखिएका छन् । केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य र विभागीय प्रमुखहरूको मनोनयनबारे छलफल तथा निर्णय हुनेछ। स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य मनोनयनसम्बन्धी प्रस्तावसमेत बैठकमा पेस हुनेछ । बैठकमा योजना, कार्यक्रम तथा अभियानसम्बन्धी विषयमा पनि छलफल हुनेछ । केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव बैठकमा राखिनेछ । यस्तै, रास्वपाले पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषयलाई पनि बैठकको कार्यसूचीमा राखेको छ । पार्टीका गतिविधि, विचार तथा नीतिगत विषयलाई नियमित रूपमा सार्वजनिक गर्ने उद्देश्यले उक्त पत्रिका प्रकाशन गर्ने प्रस्ताव गरिएको हो ।

४- सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका सांसद प्रकाश देउवा पदमुक्त भएका छन् । प्रदेशसभाका लगातार २५ बैठकमा अनुपस्थित भएपछि सभामुख भीमबहादुर भण्डारीले देउवालाई पदमुक्त गर्ने निर्णय गरेका हुन् । कैलाली-५ को प्रदेशसभा ‘२’ बाट निर्वाचित तथा पूर्वमन्त्रीसमेत रहेका देउवा २०८२ असोजदेखि प्रदेशसभाका बैठकमा सहभागी भएका छैनन् । बैठकमा अनुपस्थित रहे पनि उनले प्रदेशसभाबाट प्राप्त हुने पारिश्रमिक तथा अन्य सुविधा भने लिँदै आएको जनाइएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि देउवा प्रदेशसभा सचिवालयलाई कुनै जानकारी नदिई अमेरिका गएको र हालपनि अमेरिकामै रहेको बताइएको छ । प्रदेशसभा नियमावली, २०८० को नियम १(३) अनुसार सभाको जानकारीबिना लगातार १० बैठकमा अनुपस्थित भएमा प्रदेशसभा सदस्यको पद रिक्त हुने व्यवस्था छ । देउवाले लगातार १० बैठकमा अनुपस्थित भएपछि आफू अमेरिका रहेको जानकारी सभामुखलाई गराएपनि लामो समयसम्म प्रदेशसभा बैठकमा उपस्थित नभएपछि सभामुखले पदमुक्त गर्ने निर्णय गरेको बताइएको छ । देउवा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका भतिजा हुन् । सभामुखले पदमुक्त गर्ने निर्णय गरिसकेको र प्रदेशसभा बैठकमा औपचारिक जानकारी गराउने प्रदेश सभा सचिवालय स्रोतले जानकारी दिएको छ ।

५- अस्ट्रेलियाका पूर्व क्रिकेटर डेभिड वार्नरलाई मदिरा सेवन गरी सवारी चलाएको अभियोगमा १५ सय अस्ट्रेलियाली डलर जरिवाना गरिएको छ । सिड्नीको अदालतले वार्नरलाई जरिवाना बाहेक उनको गाडीमा १२ महिनासम्म मदिरा परीक्षण गर्ने उपकरण (इन्टर लक डिभाइस) जडान गर्नसमेत आदेश दिएको छ । उक्त उपकरणले चालकको श्वासमा तोकिएको सीमाभन्दा बढी मदिरा भेटिएमा गाडीको इन्जिन सुरु हुन दिँदैन । वार्नरलाई इस्टर आइतबार सिड्नीको बाहिरी क्षेत्रमा गरिएको आकस्मिक श्वास परीक्षणका क्रममा पक्राउ गरिएको थियो । परीक्षणमा उनको रगतमा मदिराको मात्रा ०.१०४ देखिएको थियो, जुन अस्ट्रेलियामा सामान्य चालकका लागि तोकिएको ०.०५ को कानुनी सीमाभन्दा दोब्बरभन्दा बढी हो । अदालतमा वार्नरले गाडी चलाउनुअघि तीन गिलास सेतो मदिरा सेवन गरेको स्वीकार गरेका थिए । उनले गत महिना मध्यम तहको मदिरा सेवन गरी सवारी चलाएको अभियोग पनि स्वीकार गरेका थिए । अदालतमा प्रस्तुत विवरणअनुसार वार्नरले सडकमा परीक्षण भइरहेको देखेपछि गाडी रोकेर महिला यात्रुसँग चालकको सिट साट्ने प्रयास गरेका थिए । ३९ वर्षीय वार्नरले अस्ट्रेलियाका लागि ११२ टेस्ट र २५० भन्दा बढी सीमित ओभरका अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले सन् २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए । त्यसपछि उनी खेलाडीका रूपमा फ्रेन्चाइज क्रिकेटमा तथा खेल विश्लेषकका रूपमा सक्रिय छन् । वार्नर हाल सिड्नी थन्डरका कप्तान हुन् र पाकिस्तान सुपर लिगमा कराँची किङ्सबाट पनि खेल्दै आएका छन् । सिड्नी थन्डर मदिरा सेवन गरी सवारी चलाउने कार्यविरुद्धको जनचेतना अभियानमा समेत सहभागी रहेको छ । क्रिकेट न्यु साउथ वेल्सले सुरक्षित सवारीलाई समर्थन गर्ने र घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ ।

६- नेपाली कांग्रेसको केन्द्रीय सामितिको बैठकले पार्टीको १५औँ महाधिवेशन पूर्वनिर्धारित समयमै २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा सम्पन्न गर्ने निर्णय यथावत् राखेको छ । सभापति गगनकुमार थापाको अध्यक्षतामा साउन २४ देखि भदौ १ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनलाई केवल निर्वाचन प्रक्रियामा सीमित नगरी पार्टीको लोकतान्त्रिक नवीकरण, एकता, सहमति, संवाद र व्यापक सहभागिताको अवसरका रूपमा सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकले मुलुकको समसामयिक राजनीतिक अवस्था, आर्थिक तथा सामाजिक समस्या, जनताको दैनिक जीवनसँग जोडिएका विषय, सरकारको कार्यसम्पादन तथा पार्टीको संगठन सुदृढीकरणलगायत विषयमा छलफल गरी विभिन्न निर्णय गरेको कांग्रेसले जनाएको छ । कांग्रेसले १५औँ महाधिवेशन व्यवस्थापन समिति सभापति गगन थापाको संयोजकत्वमा गठन गर्ने निर्णय गरेको छ । समितिले आवास, खानपान, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्यलगायतका विषय हेर्न विभिन्न उपसमिति गठन गर्नेछ । अत्यधिक वर्षाका कारण वडा तथा पालिका तहका निर्वाचनमा समस्या आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै केन्द्रीय निर्वाचन समितिले सम्बन्धित जिल्ला निर्वाचन समितिसँग समन्वय गरी तल्लो तहको निर्वाचन कार्यतालिकामा आवश्यक सामान्य हेरफेर गर्न सक्ने निर्णय पनि बैठकले गरेको छ । महाधिवेशन तयारीका लागि आवश्यक अन्य समिति गठन तथा संयोजक र सदस्य नियुक्त गर्ने जिम्मेवारी पनि सभापति थापालाई दिइएको छ । कांग्रेसको १५औँ महाधिवेशनमा मुख्य राजनीतिक प्रस्ताव सभापति थापाले पेस गर्ने भएका छन्। प्रस्तावमा ‘आगामी दशक, लोकतन्त्र र कांग्रेस’ विषयलाई प्राथमिकता दिइनेछ । उपसभापति विश्वप्रकाश शर्माले ‘राजनीतिक संस्कृतिमा क्षयको प्रवृत्ति र युगानुकूल रूपान्तरणको अभिभारा’ विषयमा प्रस्ताव पेस गर्नेछन् । त्यस्तै उपसभापति पुष्पा भुसालले प्रदेश निर्वाचनसम्बन्धी विशेष प्रस्ताव र महामन्त्री गुरुराज घिमिरेले संगठनसम्बन्धी प्रस्ताव पेस गर्ने निर्णय भएको छ । कांग्रेसले पार्टीको विधानलाई समयअनुकूल बनाउँदै संगठनलाई थप प्रभावकारी बनाउन आवश्यक संशोधनको प्रस्ताव तयार गर्न महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा विधान संशोधन समिति गठन गर्ने निर्णय गरेको छ । समितिले पार्टीका विभिन्न तह, निकाय तथा सदस्यबाट सुझाव लिएर विधान संशोधनको प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस गर्नेछ । कांग्रेसले सबै क्रियाशील सदस्यको डिजिटल अभिलेख व्यवस्थित गर्ने निर्णय गरेको छ । सदस्यता वितरण, नवीकरण, अद्यावधिक तथा अभिलेखीकरणलाई सरल, विश्वसनीय र प्रभावकारी बनाउने तथा प्रक्रिया पूरा गरेका सदस्यलाई पार्टी परिचयपत्र उपलब्ध गराउने निर्णय गरिएको छ । छुटेका सदस्यलाई निश्चित समय तोकेर पुनः अद्यावधिक गर्ने अवसर दिइने र सदस्यता व्यवस्थापन समितिले गरेका निर्णयसमेत बैठकले अनुमोदन गरेको छ । महाधिवेशनको प्रक्रिया सरल, पारदर्शी, सहभागितामूलक र विवादरहित बनाउन नियमावली, निर्वाचन निर्देशिका तथा कार्यविधिमा आवश्यक परिमार्जन गर्ने निर्णय कांग्रेसले गरेको छ । विशेष महाधिवेशनबाट प्राप्त सुझावका आधारमा पार्टीको नियमावली २०७६ तथा निर्वाचन निर्देशिका २०८३ मा आवश्यक संशोधन गरी लागू गर्ने निर्णय भएको छ । कांग्रेसले सञ्चालन गर्ने ‘एनसी फर एनसी’ कार्यक्रमको कार्यविधिसमेत पारित गरिएको छ । विशेष परिस्थितिमा १५औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न आवश्यक देखिएको भन्दै विधानको धारा ३५ को उपधारा २ को खण्ड घ सम्बन्धमा विधानबमोजिम आवश्यक निलम्बन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

७- पाकिस्तानको सर्वोच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानलाई ४८ घण्टाभित्र अस्पताल भर्ना गर्न आदेश दिएको छ । अदालतले उनको स्वास्थ्य परीक्षण तथा उपचारका लागि विशेषज्ञ चिकित्सक सम्मिलित स्वास्थ्य परीक्षण समिति गठन गर्नसमेत निर्देशन दिएको छ । तीन सदस्यीय इजलासले इमरानको उपचार र परिवारसँग भेटघाटसम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै उनलाई शिफा इन्टरनेसनल अस्पतालमा स्थानान्तरण गर्न आदेश दिएको हो । इजलासको नेतृत्व न्यायाधीश शाहिद वहीदले गरेका थिए । इजलासमा न्यायाधीश नईम अख्तर अफगान र न्यायाधीश इश्तियाक इब्राहिम पनि थिए । अदालतमा प्रस्तुत गरिएको स्वास्थ्य प्रतिवेदनमा इमरानको रक्तचापमा उतारचढाव, मुटुको धड्कनमा परिवर्तन र मानसिक तनाव देखिएको उल्लेख छ । पछिल्लो परीक्षणमा उनको रक्तचाप १४०/८० र नाडीको गति प्रतिमिनेट ५४ पटक रहेको बताइएको छ । यसअघि फेब्रुअरीमा उनको रक्तचाप १२०/८० रहेको थियो । अदालतले इमरानको स्वास्थ्यको विस्तृत परीक्षण गर्न स्वास्थ्य परीक्षण समिति गठन गर्न आदेश दिएको छ । समितिमा उनकी बहिनी डा. उज्मा खान र निजी चिकित्सकलाई पनि सहभागी गराउन भनिएको छ । समितिले इमरानको सम्पूर्ण स्वास्थ्य परीक्षण गर्नुका साथै पुराना स्वास्थ्य प्रतिवेदन अध्ययन गर्नेछ । उनको शरीरमा रगत जम्नुको कारण, सम्भावित जोखिम तथा आवश्यक उपचारबारे समितिले सुझाव दिनेछ । साथै उपचार जेलमै सम्भव छ वा अस्पतालमै राख्नुपर्ने हो भन्ने विषयमा पनि समितिले सुझाव दिनेछ । अडियाला जेल प्रशासनले यसअघि अदालतमा दुई पृष्ठको स्वास्थ्य प्रतिवेदन बुझाएको थियो । त्यसमा आँखासम्बन्धी समस्या केन्द्रीय दृष्टिपटल शिरा अवरोधको पनि उल्लेख छ । उक्त समस्याको उपचार भइरहेको र प्रभावित आँखाको दृष्टि लगभग सामान्य अवस्थामा फर्किएको प्रतिवेदनमा जनाइएको छ । सर्वोच्च अदालतले इमरान खानलाई उनकी बहिनीहरूसँग भेटघाट गर्न नदिएको विषयमा पनि प्रश्न उठाएको छ । न्यायाधीश शाहिद वहीदले परिवारका सदस्यसँग भेटघाट गराउनु कुनै उपकार नभई इमरानको मौलिक अधिकार भएको टिप्पणी गरे । अदालतले पछिल्ला तीन वर्षमा इमरान र उनका बहिनीबीच भएका सबै भेटघाटको विवरण मागेको छ । यस्तै, उनका छोराहरूसँग भएको कुराकानी र फोन सम्पर्कको विवरणसमेत अदालतमा पेस गर्न आदेश दिइएको छ । अदालतले अडियाला जेल प्रशासनसँग इमरानको पूर्ण स्वास्थ्य प्रतिवेदन माग्दै प्रतिवेदनको विस्तृत विवरण नदिई सारांश मात्र पेस गरिएकोमा असन्तुष्टि जनाएको छ । ७३ वर्षीय इमरान खान सन् २०२३ अगस्टदेखि जेलमा छन् । उनलाई सुरुमा तोसाखाना मुद्दामा तीन वर्षको सजाय सुनाइएपछि पक्राउ गरिएको थियो । त्यसपछि साइफर, अल-कादिर ट्रस्ट र इद्दत निकाहलगायत विभिन्न मुद्दा चलाइएको थियो । साइफर र इद्दत निकाहसम्बन्धी मुद्दामा उनले अदालतबाट राहत पाइसकेका छन् । तोसाखाना मुद्दामा पनि उनको एक सजाय रोकिएको थियो । तर अन्य मुद्दाका कारण उनी अझै जेलमै छन् ।

८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले संसदको बैठक छोडेर हिडेकी छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा पराष्ट्रमन्त्री शिशिर खनाललाई प्रश्न सोध्न नपाएपछि उठेर बोलिरहेकी तामाङलाई सभामुख डिपी अर्यालले संसदको मर्यादा कायम गर्न भनेपछि रिसाएर संसदको बैठक छोडेर हिडेकी हुन् । बैठकमा परराष्ट्रमन्त्री खनालले संसदमा यसअघि तामाङले नै उठाएको विषय कम्बोडियामा मृत्यु भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउन भइरहेको पहल र कानुनी अड्चन बारे जवाफ दिएका थिए । सांसद तामाङले सोमबारको बैठकमा यो प्रश्न सरकारलाई सोधेर उठेर विरोध गर्ने बताएपछि सभामुख अर्यालले तीन दिनभित्र जवाफ दिन सरकारलाई रुलिङ गरेका थिए । तर आजको बैठकमा मन्त्री खनालको जवाफमाथि प्रश्न गर्न खोजेपछि सभामुखले त्यस्तो व्यवस्था नरहेको र मर्यादामा बस्न सचेत गराएपछि उनी उठेर हिडेकी थिइन् ।

९- प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा नेपाल–भारतबीचको आपसी सम्बन्ध तथा दुई देशका सेनाबीचको सहकार्यका विषयमा छलफल भएको जनाइएको छ । भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष सेठ चारदिने भ्रमणका लागि आइतबार काठमाडौँ आएका हुन् । भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । नेपाल र भारतबीच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्परा रहँदै आएको छ । यसैगरी, सोमबार नै प्रधान सेनापति सिग्देल र भारतीय स्थल सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्ता भएको थियो । भेटमा दुई देशका सेनाबीचको आपसी सहकार्य र सम्बन्धका विषयमा छलफल भएको थियो ।

१०- नेप्सेमा सामान्य गिरावट आएको छ । आज मंगलबार नेप्से १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा पुगेर रोकिएको छ । आज ३४७ कम्पनिका एक करोड ५१ लाख ९६ हजार ९८२ कित्ता शेयर ५ अर्ब ७ करोड ३५ लाख १८ हजार ६६२ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयर १४.९९ प्रतिशतले बढेको छ भने माउन्ट एभरेष्ट पावरको शेयर १४.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सगरमाथा जलविद्युतको शेयर १०.६३ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अग्रिकल्चरल बन्डको ५० करोड ६८ लाख बराबरको कारोबार भएको छ भने सोलु हाइड्रोको ३९ करोड १४ लाख बराबरको कारोबार भएको छ ।

११- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यमबाट वस्तु तथा सेवाको कारोबार गर्ने सबै व्यवसायीलाई विभागमा अनिवार्य रूपमा सूचीकृत भएर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । विभागले सूचना जारी गर्दै विद्युतीय व्यापार ऐन, २०८१ र विद्युतीय व्यापार निर्देशिका, २०८२ कार्यान्वयनमा आइसकेकाले सोही कानुनी व्यवस्थाअनुसार विद्युतीय व्यापार सञ्चालन गर्न आग्रह गरेको हो । कम्प्युटर, मोबाइल वा यस्तै विद्युतीय उपकरणको प्रयोग गरी वेबसाइट, अनुप्रयोग, सफ्टवेयर, इन्टरनेट, आन्तरिक सञ्जाल तथा सामाजिक सञ्जालका बजारस्थललगायत माध्यमबाट वस्तु तथा सेवाको कारोबार गर्ने प्रणालीलाई विद्युतीय व्यापारका रूपमा ऐनले परिभाषित गरेको विभागले जनाएको छ । ऐनअनुसार विद्युतीय माध्यमबाट व्यापार व्यवसाय सञ्चालन गर्ने व्यवसायीले व्यवसाय सुरु गर्नुअघि अनिवार्य रूपमा विद्युतीय व्यापारिक प्रणाली स्थापना गर्नुपर्ने र विभागको पोर्टलमा सूचीकृत हुनुपर्ने व्यवस्था रहेको छ । विभागले पछिल्लो समय विभिन्न विद्युतीय माध्यम तथा डिजिटल भुक्तानी प्रणालीको प्रयोग गरी उपभोक्तालाई भ्रममा पार्ने, ठगी गर्ने तथा गुणस्तरहीन वस्तु तथा सेवा बिक्री गर्ने सम्बन्धी गुनासो बढिरहेको जनाएको छ । यस्ता गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विभागले विद्युतीय माध्यम वा प्रणालीमार्फत वस्तु तथा सेवाको कारोबार गर्ने सम्पूर्ण व्यवसायी तथा सम्बन्धित पक्षलाई तोकिएको प्रक्रिया पूरा गरी अनिवार्य रूपमा विभागमा सूचीकृत हुन आग्रह गरेको छ । विभागले प्रचलित कानुनको पूर्ण पालना गरेर मात्र विद्युतीय व्यापार सञ्चालन गर्नसमेत सचेत गराएको छ । विभागका अनुसार सूचना बेवास्ता गरी सूचीकृत नभएका वा गैरकानुनी विद्युतीय व्यापारिक प्रणालीमार्फत व्यवसाय सञ्चालन गरेको पाइएमा विद्युतीय व्यापार ऐन, २०८१ तथा अन्य प्रचलित कानुनबमोजिम कडा कानुनी कारबाही गरिनेछ ।

१२- अर्थ मन्त्रालयले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट छनोट भएका विजेताको नाम सार्वजनिक गरेको छ । भदौ १ गते मन्त्रालयको सुवर्ण हलमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा विजेताको छनोट गरिएको हो । श्रावण १६ देखि ३१ गतेसम्म सञ्चालन गरिएको करदाता प्रोत्साहन योजनाअन्तर्गत गरिएको गोलाप्रथाबाट तुल पुडासैनी बम्पर विजेता बनेका छन् । उनको कुपन नम्बर ०२६८८८९७९०३९ रहेको छ । बम्पर उपहारबाहेक थप १६ जना करदाता पनि विजेता छनोट भएका छन् । विजेताहरूमा योगेश विश्वकर्मा, दिनेश तामाङ, अस्क्रिना लामा, भगवती सापकोटा, रहिम महमद हवारी, महेशकुमार पौडेल, राजेन्द्र थापा र कमला तामाङ छन् । त्यस्तै शिवनारायण बढही मिस्त्री, चुडामणि दनाई, रमेश साह कानु, मनीष गौतम, घनश्याम तिवारी, राकेशकुमार सिंह, विकास गुरुङ र चक्रबहादुर शाही पनि विजेता भएका छन् । मन्त्रालयका अनुसार विजेताले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ बमोजिमको प्रक्रिया पूरा गरेपछि पुरस्कार प्राप्त गर्नेछन् । पुरस्कार दाबी गर्न सबै विजेताले २०८३ भदौ १६ गतेभित्र आफूलाई पायक पर्ने नजिकको आन्तरिक राजस्व कार्यालयमा आधिकारिक निवेदन पेस गर्नुपर्ने मन्त्रालयले जनाएको छ । साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न ३ लाख ५७ हजार १४९ नगद कारोबारका बिलहरू उपहारका लागि दर्ता (अपलोड) भएका थिए । यसअघि साउनको पहिलो १५ दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार सङ्ख्या ७ हजार ७७ मात्रै थियो । त्यस्तै क्यूआर कारोबारबाट उपहार योजनामा स्वतः सहभागी भएका उपभोक्ताको कारोबार सङ्ख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको अर्थ मन्त्रालयले जनाएको छ । विभागका अनुसार पछिल्लो १७ दिनको उपहार योजनामा कुल कारोबार सङ्ख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ ।

१३- नेकपाका सांसद बर्षामान पुनले जनताले कतिवटा लाइन लाग्नुपर्ने हो भन्दै सरकारसँग जवाफ माग गरेका छन् । प्रतिनिधि सभामा बोल्दै नेता पुनले नयाँ दल नयाँ पार्टीले लाइन थप्ने भनेको हो भन्दै सरकारले जवाफ दिनुपर्ने बताएका हुन् । उनले भने- ‘आज एकातिर खाने ग्यासको आपूर्ति भएको छैन, बर्षाको बीचमा उपभोक्ताहरु, जनताहरु लाइनमा बसिरहेका छन्, अर्को तिर मल पर्याप्त उपलब्ध छैन, यसको पनि लाइन देखिन्छ, पासपोर्टको पनि लाइन देखिन्छ । नयाँ पार्टी, नयाँ साथीहरुको स्प्रिट थियो, विगत ३५ बर्षमा लाइन नै लाइन भयो भनिन्थ्यो, आज त झन् धेरै लाइन देखियो, कतिवटा लाइन बस्नुपर्ने हो जनताले ? नयाँ भनेको लाइन थप्ने भनेको हो ? यसमा हामीलाई जवाफ चाहिन्छ ।’ सांसद पुनले अब स्थापित पुरानो पार्टीलाई दोष दिएर नहुने भन्दै अब जवाफ दिनुपर्ने बताए । पुनले अहिले ग्यास र मल पुरानो पार्टीले गर्दा नपाइएको भन्दै वितरण प्रणाली ठिक गर्नुपर्ने बताए ।

१४- नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य स्थिर रहदै तोलाको ३ लाख ६ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार पनि सुन तोलाको ३ लाख ६ हजार ८ सयमा नै कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर तोलाको ४७५५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४७७० मा कारोबार भएको थियो ।

१५- नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अध्यक्षमा डा.सुधा बस्नेत र उपाध्यक्षमा डा.नारायणबहादुर महोत्रा नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष,उपाध्यक्ष तथा परिषद्का सदस्यहरूले मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । त्यस्तै परिषद्को सदस्यमा गणेश दंगाल, सन्तोषकुमार ठाकुर, सतिसकुमार देव, धर्मागत भट्टराई र रबा थापा नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष डा.सुधा बस्नेत त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान,महाराजगञ्ज मेडिकल क्याम्पसको बालरोग विभागमा प्राध्यापक तथा विभागीय प्रमुखका रूपमा कार्यरत छन् । त्यस्तै, नवनियुक्त उपाध्यक्ष डा.नारायणबहादुर महोत्रा त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान,महाराजगञ्ज मेडिकल क्याम्पसमा क्लिनिकल फिजियोलोजी विषयका प्राध्यापक तथा विभागीय प्रमुख हुन् ।

१६- पोखरा महानगरपालिका–२२ का दुई सय परिवारलाई विद्युतीय चुल्हो वितरण गरिएको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्थानीयवासीलाई विद्युतीय चुल्हो हस्तान्तरण गरेका हुन् । महानगर प्रमुख आचार्यले बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि त्यसको विकल्पका रूपमा नगरवासीलाई विद्युतीय चुल्हो वितरण गरिएको बताए । उनले खाना पकाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन सके ग्यासमा रहेको परनिर्भरता घटाउनुका साथै स्वदेशमै उत्पादन भएको विद्युत्को खपत बढाउन सकिने बताए । महानगरपालिकाले वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्दै नगरवासीलाई सहज र भरपर्दो ऊर्जा उपलब्ध गराउने उद्देश्यले विद्युतीय चुल्हो वितरण गरेको जनाएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागत साझेदारीमा चुल्हो वितरण गरिएको हो । वडा नं. २२ का कालाबाङ, भुम्दीलगायत पाँचवटा टोलमा बसोबास गर्ने परिवारलाई चुल्हो वितरण गरिएको वडाध्यक्ष हिमलाल बरालले बताए । खाना पकाउने ग्यासको चरम अभाव भइरहेका बेला नागरिकको चुल्हो नै निभ्ने अवस्था आएपछि सहुलियतमा विद्युतीय चुल्हो उपलब्ध गराइएको उनले बताए । उनका अनुसार यस अभियानअन्तर्गत वडामा करिब दुई हजारभन्दा बढी विद्युतीय चुल्हो वितरण गरिनेछ । पोखरा महानगरपालिकाको पञ्चवर्षीय नगर ऊर्जा योजनाले सन् २०२९ सम्म महानगरभित्रका २५ प्रतिशत घरधुरीमा विद्युतीय चुल्होको पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । जर्मन अन्तर्राष्ट्रिय सहयोग नियोग, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, विन्डपावर नेपाल र युरोपेली सङ्घको सहयोगमा पोखरा महानगरपालिकाको सहरी योजना आयोगले तयार गरेको नगर ऊर्जा योजनाले विसं २१०० अर्थात् सन् २०४३ सम्म पोखरालाई कार्बन तटस्थ सहर बनाउने लक्ष्य लिएको छ । पोखराको हालको ऊर्जा उपभोगअनुसार खाना पकाउन प्रयोग हुने इन्धनमध्ये ग्यासको हिस्सा ८४.२५ प्रतिशत छ । यस्तै, बायोग्यासको हिस्सा ५.२५ प्रतिशत, काठ तथा दाउराको १०.२७ प्रतिशत र विद्युतको हिस्सा ०.२३ प्रतिशत मात्रै रहेको छ ।

१७- मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको जिप दुर्घटनामा उच्च अदालत वीरगन्जका रजिष्ट्रार तारादत्त बडुकी ४९ वर्षीय श्रीमती लक्ष्मी बडुको मृत्यु भएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि सैनिक अस्पताल छाउनी ल्याइएको थियो । थप उपचारका लागि बिहान करिब १० बजे छाउनी पुर्‍याइएका घाइतेमध्ये लक्ष्मी बडुको उपचारकै क्रममा बिहान साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो मंगलबार बिहान अनियन्त्रित भई सडकबाट करिब ५० देखि ६० मिटर तल खोल्सामा खसेको थियो । दुर्घटनामा उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, गाडी चालक छुनिलाल चौधरी, रजिष्ट्रार तारादत्त बडु, उनकी श्रीमती लक्ष्मी बडु, छोरा रितेन्द्र बडु र दिदी रिता बडु गरी ६ जना घाइते भएका थिए ।

१८- नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले गाँजा खेती गर्न कानुन बनाउन माग गरेका छन् । मंगलबार प्रतिनिधसभा बैठकमा बोल्दै सांसद राईले गाँजा खेतीलाई यसअघि नै मान्यता दिइएको भए अर्थतन्त्र सुदृढ भइसक्ने बताउदा तत्काल गाँजा खेती सम्बन्धि कानुन बनाउन माग गरेका हुन् । उनले भने- ‘गाँजा खेतीको कानुन बनाऊँ । विधिसम्मत सञ्चालनको वातावरण बनाउनका निम्ति आग्रह गरेको थिए । सरकारले सुनेन । विश्व स्वास्थ्य संगठनले गाँजा लागु औषध नभएको भन्दै सो सूचीबाट हटाएको उल्लेख गर्दै उनले विश्वका ६२ देशमा गाँजा खेती भइरहेको र उनीहरुको आर्थिक अवस्था राम्रो भएको दाबि गरे । गाँजा खेतीबारे गण्डकी प्रदेश सरकारले कानुन बनाउदा त्यहाँका जनता उत्साही भएको बताउदै गाँजा खेतीको कानुन बनाउन आग्रह गरे । गाँजा खेतीलाई व्यावसायिक बनाउन सके रोजगार बढ्ने, अर्थतन्त्र बलियो हुने र विदेशी मुद्रा आर्जन गर्न सकिने भन्दै गाँजा खेतीबाट जुत्ता र लुगा समेत बनाउन सकिने उल्लेख गरे । उनले संसदमा एक सांसदले गाँजाबाटै बनाइएको कपडा लगाएर संसद् बैठकमा आउने गरेको उल्लेख गर्दै कपडा लगाउन हुने, गाँजा खेती गर्न किन नहुने भन्दै प्रश्न गरेका छन् ।

१९- प्रिमियर लिगको आगामी सिजनमा खेलका क्रममा रेफ्री र भिडियो सहायक रेफ्रीले गरेका निर्णयबारे तीन नयाँ व्यवस्था लागु गरिएको छ । प्रिमियर लिगले रेफ्री र भिडियो सहायक रेफ्रीको प्रत्यक्ष भनाइ सार्वजनिक गरिने, रेफ क्यामबाट रेफ्रीको आवाजसमेत सुनाइने र महत्त्वपूर्ण निर्णयको साप्ताहिक मूल्याङ्कन सार्वजनिक गरिने जानकारी दिएको हो । महत्त्वपूर्ण घटनामा मैदानका रेफ्रीले दिएको निर्णय र भिडियो सहायक रेफ्रीले गरेको मूल्याङ्कनबारे प्रत्यक्ष भनाइ सार्वजनिक गरिनेछ । पेनाल्टी, रातो कार्ड, अफसाइड तथा अन्य विवादित घटनामा आवश्यक देखिएमा रेफ्रीले मैदानमै दिएको भनाइ र भिडियो सहायक रेफ्रीले हस्तक्षेप नगरेको वा मैदानमा गएर पुनरावलोकन गर्न सुझाव दिएको कारणसमेत सार्वजनिक गरिनेछ । यस्तो जानकारी खेल केन्द्रको सामाजिक सञ्जाल खातासँगै प्रिमियर लिगको वेबसाइट र अनुप्रयोगमा पनि उपलब्ध हुनेछ । रेफ क्याम प्रयोग हुने खेलमा छनोट गरिएका महत्त्वपूर्ण घटनाको भिडियोसँगै रेफ्रीको आवाज पनि सार्वजनिक गरिनेछ । प्रत्येक चरणमा करिब एकदेखि दुई खेलमा रेफ क्याम प्रयोग हुने भएकाले सबै खेलमा यस्तो सुविधा उपलब्ध हुने छैन । तर भिडियो सहायक रेफ्रीको प्रत्यक्ष खेलभित्रको आवाज भने सार्वजनिक गरिने छैन । यो व्यवस्था अन्तर्राष्ट्रिय फुटबल नियम बनाउने निकायले तोकेको सीमाअनुसार राखिएको हो । २०२६/२७ सिजनदेखि महत्त्वपूर्ण खेल घटना मूल्याङ्कन समितिले गरेका निर्णय हरेक साता सार्वजनिक गरिनेछ। समितिले पेनाल्टी, रातो कार्ड, अफसाइडलगायत रेफ्रीका प्रमुख निर्णय सही वा गलत भए नभएको मूल्याङ्कन गर्नेछ । यो समिति पूर्वखेलाडी तथा प्रशिक्षकसहित प्रिमियर लिग र व्यावसायिक रेफ्री संस्थाका प्रतिनिधिबाट बनेको छ । सन् २०२२/२३ सिजनदेखि काम गर्दै आएको समितिको मूल्याङ्कन सार्वजनिक भएपछि रेफ्रीका निर्णयबारे समर्थकले थप स्पष्ट जानकारी पाउने अपेक्षा गरिएको छ । यससँगै नियमित रूपमा प्रसारण हुने ‘म्याच अफिसियल्स मिक्ड अप’ कार्यक्रममा छनोट गरिएका विवादित घटनामा रेफ्री र भिडियो सहायक रेफ्रीबीचको संवाद तथा निर्णयको कारणबारे थप व्याख्या पनि प्रस्तुत गरिने प्रिमियर लिगले जानकारी दिएको छ । यस सिजनको प्रिमियर लिग अगस्त २२ देखि शुरु हुदैछ ।

२०- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियतामा लगातार गिरावट देखिएको छ । रोयटर्स र इप्सोसले गरेको पछिल्लो सर्वेक्षणअनुसार ट्रम्पको अनुमोदन दर घटेर ३३ प्रतिशतमा पुगेको छ । यो उनको वर्तमान कार्यकालको सबैभन्दा न्यून स्तर हो । सर्वेक्षणमा सहभागी ६४ प्रतिशत अमेरिकी नागरिकले राष्ट्रपतिका रूपमा ट्रम्पको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका छन् भने ३३ प्रतिशतले उनको कामलाई अनुमोदन गरेका छन् । यसै महिनाको सुरुवातमा गरिएको सर्वेक्षणमा ट्रम्पको अनुमोदन दर ३५ प्रतिशत रहेको थियो । पछिल्लो सर्वेक्षणमा त्यो दर थप दुई प्रतिशतले घटेको हो । सर्वेक्षणका अनुसार ३३ प्रतिशत अनुमोदन दर ट्रम्पको पहिलो कार्यकालमा देखिएको न्यूनतम स्तरसँग पनि बराबर हो । पहिलो कार्यकालमा सन् २०१७ को डिसेम्बरमा उनको अनुमोदन दर ३३ प्रतिशतमा झरेको थियो । सर्वेक्षणले इरानसँगको युद्धलाई लिएर अमेरिकी नागरिकमा रहेको चिन्ता पनि देखाएको छ । करिब ८० प्रतिशत सहभागीले अमेरिका र इरानबीचको युद्ध लामो समयसम्म चल्न सक्ने आशंका व्यक्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस