• २०८३ साउन ३१ गते आइतवार

संविधानका विरोधाभास सच्याउन कांग्रेसले अग्रसरता लिन्छ : प्रकाशशरण महत

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

साउज ३१, काठमाडौँ ।   नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले संविधानमा रहेका कतिपय विरोधाभासपूर्ण व्यवस्थाहरूलाई जनअपेक्षाअनुसार संशोधन गर्न पार्टीले राष्ट्रिय पहल लिने बताएका छन् । नेपाली कांग्रेसको राष्ट्रिय भेलाको तेस्रो दिन पार्टीको नीति तथा कार्यदिशासम्बन्धी कार्यपत्रमाथि उठेका प्रश्नहरूको सम्बोधन गर्दै नेता महतले संविधान पारित गरेर स्वीकार गरे पनि त्यसमा लेखिएका सबै कुरा पार्टीको अन्तिम दृष्टिकोण हुन नसक्ने स्पष्ट पारे । नेता महतले आवश्यकता र संसद्मा शक्ति सन्तुलन अनुकूल भएको अवस्थामा कांग्रेसले संविधान संशोधनको बाटो रोज्ने बताए ।

उनले भने, ‘संविधानमा धेरै विरोधाभासपूर्ण कुराहरू लेखिएका छन्। हामीले संविधान पारित गरेपछि त्यसलाई माने पनि पार्टीको दृष्टिकोण सबै त्यही हुन्छ भन्ने छैन। हाम्रो दृष्टिकोण अनुसार पारित गर्न सक्ने अवस्थामा हामी संविधान संशोधन पनि गर्छौं। त्यसैले संविधानमा जे लेखिएको छ, त्यही नै पार्टीको नीति हो भनिरहनुपर्ने आवश्यकता छैन।’

संविधानमा उल्लिखित ‘समाजवाद उन्मुख’ शब्दावलीप्रति टिप्पणी गर्दै नेता महतले कांग्रेस केवल ‘प्रजातान्त्रिक समाजवाद’मा विश्वास गर्ने बताए ।

समाजवादलाई देशको विद्यमान आर्थिक धरातलअनुसार परिभाषित गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘अहिलेको समाजवाद भनेको निजी क्षेत्रबाट आर्थिक वृद्धि सिर्जना गर्ने र त्यसबाट प्राप्त राजस्वको ठूलो हिस्सा पछाडि परेका वर्ग, समुदायको शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा सर्वसुलभ तरिकाले उपलब्ध गराउनु हो। हामी समाजवादको बाटोबाट विचलित भएका छैनौं, तर कार्यान्वयनको शैली समयसापेक्ष हुनुपर्छ ।’

२०१५ सालको भूमिसुधार र तत्कालीन आवश्यकताको स्मरण गर्दै उनले अहिलेको युगमा उत्पादन वृद्धि, प्रविधिको प्रयोग र गुणस्तरीय रोजगारी सिर्जना नै मुख्य आर्थिक एजेन्डा हुनुपर्ने बताए ।

पार्टीको कार्यपत्रले तल्लो तहका नागरिक र कृषकका समस्यालाई प्राथमिकतामा राखेको दाबी गर्दै उनले कृषि क्षेत्रमा देखिएको मल अभाव, जमिन बाँझो रहने समस्या, सिँचाइको कमी र उचित मूल्य नपाउने परिस्थितिलाई नीतिगत रूपमै समाधान गरिने बताए ।

यसैगरी, रोजगारी सिर्जनाका लागि सूचना प्रविधि क्षेत्रको विकास तथा मधेश–तराईको खुला सिमानाबाट सिर्जित व्यापार–व्यवसायका समस्यालाई सम्बोधन गर्न पार्टीले स्पष्ट योजना ल्याएको जानकारी दिए । कर्णाली र सुदूरपश्चिमका विकट क्षेत्रमा कनेक्टिभिटी र पूर्वाधार विकास कांग्रेसको प्राथमिकतामा रहेको उनको भनाइ थियो ।

नेपालको सांस्कृतिक विविधताको चर्चा गर्दै नेता महतले सबै धर्मावलम्बीको स्वतन्त्रताको रक्षा गर्दै मौलिक सनातन संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए ।

‘हरेक धर्मावलम्बी (क्रिश्चियन, मुस्लिमलगायत) सबैको धार्मिक स्वतन्त्रता सुनिश्चित गर्दै हिन्दू, बौद्ध, किरात, प्राकृतसहितको सनातन धर्म–संस्कृतिको पहिचानलाई हामीले अंगीकार गर्छौं। हाम्रा यिनै धार्मिक र सांस्कृतिक सम्पदाहरूलाई इको–टुरिजमसँग जोडेर विश्व बजारमा प्रवद्र्धन गर्नुपर्छ,’ उनले भने ।

पार्टीको आन्तरिक राजनीतिका विषयमा बोल्दै नेता महतले आगामी १५औं महाधिवेशन पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न हुने दाबी गरे । महाधिवेशनको तयारी र समन्वयमा डा. शशांक कोइरालाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनले बताए ।

वि.सं. २०३३ सालमा बीपी कोइरालाले अघि सारेको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता अझै नसकिएको उल्लेख गर्दै उनले लोकतन्त्र र राष्ट्रियता बलियो बनाउन सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस