• २०८३ बैशाख ३ गते बिहिवार

परराष्ट्र मन्त्रालयद्वारा पश्चिम एशियामा रहेका नेपाली कूटनीतिक नियोगहरूसँग भर्चुअल अन्तरक्रिया

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३, काठमाडौं । परराष्ट्र मन्त्रालयले आज पश्चिम एशिया र अफ्रिकामा रहेका नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग भर्चुअल अन्तरक्रिया गरेको छ । कार्यक्रमका क्रममा सम्बन्धित देशहरूमा कार्यरत राजदूत, महावाणिज्यदूत र कार्यवाहक प्रमुखहरूले आ–आफ्ना देशहरूको वर्तमान अवस्था, नेपाली नागरिकहरूको सुरक्षा र संरक्षण, सेवा प्रवाहको स्थिति, अपनाइएका नवीन अभ्यासहरू तथा नियोगका प्राथमिकताहरूबारे जानकारी गराउनुभएको थियो ।

सो अवसरमा परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र सुदृढ आर्थिक कूटनीतिमार्फत आर्थिक समृद्धि हासिल गर्ने सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्नुभयो । उहाँले नियोगहरूलाई सोहीअनुसार आफ्नो कार्यलाई समन्वय गर्न तथा नवप्रवर्तन र ‘डिजिटलाइजेसन’ मार्फत सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता र दक्षता अझ वृद्धि गर्न निर्देशन दिनुभयो ।

परराष्ट्र सचिव अमृतबहादुर राईले प्रभावकारी सेवा प्रवाहको महत्त्व, परिवर्तनशील सन्दर्भमा आर्थिक कूटनीतिलाई अगाडि बढाउने आवश्यकता तथा दक्षता अभिवृद्धिका लागि प्रविधिको उपयोगमा जोड दिनुभएको थियो । कार्यक्रमको सञ्चालन मन्त्रालयको मध्यएशिया, पश्चिम एशिया र अफ्रिका महाशाखाका प्रमुख सह–सचिव रामकाजी खड्काले गर्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस