• २०८३ बैशाख १० गते बिहिवार

सभामुख डोलप्रसाद अर्यालको गाडीलाई ट्राफिक चिट, लेन उल्लंघनमा कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २, काठमाडौं । सभामुख डोलप्रसाद अर्याल चढेको गाडीलाई ट्राफिक प्रहरीले लेन उल्लंघन गरेको भन्दै चिट काटेको छ। थापाथली क्षेत्रमा लेन क्रस गरी ट्राफिक नियम उल्लंघन गरेपछि उक्त गाडीसहित अघिपछि हिँडेका अन्य सवारी साधनलाई समेत कारबाही गरिएको हो।

ट्राफिक प्रहरी स्रोतका अनुसार नियम विपरीत सवारी सञ्चालन भएको पाइएपछि टोलीले निगरानी बढाउँदै कारबाही प्रक्रिया अघि बढाएको थियो। लेन उल्लंघनको घटना देखिएपछि ट्राफिक प्रहरी सिंहदरबारसम्म पुगेको र त्यहाँ पुगेर सभामुख चढेको गाडीसहित तीन वटा सवारी साधनलाई चिट काटिएको जनाएको छ।

उक्त कारबाहीलाई ट्राफिक नियम कार्यान्वयनमा समानता कायम गर्ने कदमका रूपमा लिइएको छ। स्रोतका अनुसार सवारी कसैको भए पनि नियम उल्लंघन भए कारबाही हुने नीति अनुरूप यो कदम चालिएको हो।

घटनापछि ट्राफिक प्रहरीले सवारी चालकलाई लेन अनुशासन पालन गर्न र ट्राफिक नियमको कडाइका साथ कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस