वैशाख १०, काठमाडौं । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल रेड र नेपाल ब्ल्यु टिम बनाएर एक दिवसीय सिरिज खेलाउने भएको छ । क्यानले अप्रिल २६, २८ र ३० मा माथिल्लो मुलपानी मैदानमा सञ्चालन हुने नेपाल रेड र नेपाल ब्ल्यू टिमको घोषणा गरेको छ । जस अनुसार नेपाल रेडमा अनिल कुमार साह (कप्तान), तृत राज दास, दीपक प्रसाद डुम्रे, विवेक राना मगर, ईशान पाण्डे, सुभ कंसकार, कुशल मल्ल, रसिद खान, शङ्कर राना, हेमन्त धामी, विशाल पटेल, प्रतिष जीसी, शेर मल्ल, युवराज खत्री, सागर ढकाल र अभिशेष गौतम रहेका छन् । त्यस्तै नेपाल ब्ल्यू टिममा देब खनाल (कप्तान), मयन यादव, अर्जुन घर्ती मगर, अर्जुन साउद, अरनिको यादव, सन्दीप जोरा, पवन सराफ, नारायण जोशी, सन्तोष यादव, रिजन ढकाल, आकाश चन्द, रुपेश सिंह, साहब आलम, विपिन खत्री, प्रकाश जैसी र दीपेश कँडेल रहेका छन् ।
२- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैया बाराका तत्कालीन निमित्त प्रमुख तथा इन्जिनियर किशोरी प्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उनीविरुद्ध १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ ९० पैसाको बिगो कायम गर्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ । अनुसन्धानका क्रममा यादवले पदमा रहँदा अनियमितता गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भेटिएको आयोगको दाबी छ । आयोगका अनुसार २०४७ असार ३१ देखि २०८० पुस २९ सम्मको अवधिलाई जाँच अवधि मानिएको थियो । सो अवधिमा यादव र उनको परिवारको वैधानिक आम्दानी ३ करोड ४६ लाख २१ हजार ४०१ रुपैयाँ रहेको देखिएको छ । तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण, सवारी साधन, शेयर लगानी, अध्ययन खर्च, ऋण भुक्तानी लगायत शीर्षकमा ४ करोड ९३ लाख २ हजार ६२६ रुपैयाँ खर्च भएको पाइएको छ । यसअनुसार कुल आम्दानीभन्दा १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ बढी खर्च भएको र त्यसको स्रोत खुल्न नसकेको आयोगले जनाएको छ । उक्त रकम बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको निष्कर्षसहित यादव र उनकी श्रीमती निर्मला कुमारीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
३- भूमि प्रशासन सम्बन्धी सेवाहरु स्थानीय तहबाट प्रवाह गर्ने सकिने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि प्रशासन सम्बन्धी सेवाहरु स्थानीय तहबाट प्रवाह गर्ने चाहने स्थानीय तहलाई सात दिनभित्र आवश्यक पर्ने जनशक्ति तथा पूर्वाधारको व्यवस्था आफैंले गर्ने गरी सेवा प्रवाहका लागि इच्छुक रहेको व्यहोरा सहितको पत्र स्क्यान गरी info@molcpa.gov.np वा info@dolma.gov.np वा jaggaprsasan@gmail.com मा पठाउन आग्रह गरेको छ । नेपालको संवैधानिक प्रावधान अनुसार हालको भूमिसुधार/मालपोत कार्यालय र नापी कार्यालयहरूबाट प्रवाह हुँदै आएका सेवाहरु स्थानीय तहबाट प्रवाह गर्न चाहने स्थानीय तहले अब सो सेवा दिन सक्ने भएका छन् ।
४- राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १७ गतेदेखि आव्हान गरेको संघीय संसदको अधिवेशन स्थगित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति ०८३/०१/०८ गतेको सिफारिसमा संवत् २०८३ साल वैशाख १७ गते बिहीबारका दिन २ बजे संघीय संसद भवन, सिहंदरबारमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकोमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०१/१० गतेको सिफारिस बमोजिम विशेष कारणवश संघीय संसदको दुवै सदनको उक्त अधिवेशन आह्वान हाललाई स्थगित गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
५- हिमालयन रिइन्स्योरेन्सका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले गोल्छालाई धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा पक्राउ गरेको जानकारी दिएको छ । शेखर गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसूरमा थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ गरेको ब्यूरोले जनाएको छ । ब्युरोले विहिबार काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमती लिई गोल्छालाई काठमाडौंको नक्सालबाट पक्राउ गरिएको जनाएको छ ।
६- इरानका निर्वासित राजकुमार रेजा पहलवीमाथि टमाटर प्रहार गरिएको छ । मिडिया रिपोर्टका अनुसार जर्मनीको बर्लिनमा एक प्रेस सम्मेलन सकेर बाहिरिने क्रममा उनीमाथि टमाटर हानिएको हो । घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पहलवीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा अमेरिका र इरानबीच भएको युद्धविरामको आलोचना गरेका थिए । उनले उक्त सम्झौता इरानी सरकारको व्यवहार परिवर्तन हुने अनुमानमा आधारित रहेको तर त्यसको सम्भावना कम देखिएको बताएका छन् । उनले कूटनीतिलाई अवसर दिन नहुने नभए पनि यसअघि नै धेरै अवसर दिइसकिएको उल्लेख गरेका छन् । पहलवी लामो समयदेखि सत्ता पुनः प्राप्तिको प्रयासमा रहेका छन् र पश्चिम एसियामा अमेरिका–इजरायलको सैन्य कारबाहीप्रति समर्थन जनाउँदै आएका छन् ।
७- परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपालीसम्बन्धी कानुनको मस्यौदामाथि गैरआवासीय नेपाली संघसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । अन्तरक्रियामा संघका अध्यक्ष तथा पूर्वअध्यक्षहरूले मस्यौदामाथि सुझाव दिएका थिए । उनीहरूले नेपालको संविधानमा उल्लेखित सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारसँग मेल खाने गरी गैरआवासीय नेपालीका आकांक्षालाई समेट्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रमको सुरुवातमा परराष्ट्र सचिव अमृत बहादुर राईले गैरआवासीय नेपाली संघलाई मन्त्रालयको विश्वसनीय साझेदारका रूपमा लिँदै आगामी दिनमा सहकार्य अझ सुदृढ बनाउने अपेक्षा व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले उक्त मस्यौदा आगामी संसद् अधिवेशनमा पेश गर्ने योजना रहेको जानकारी दिए । उनले संविधानका लक्ष्य र भावनालाई स्पष्ट रूपमा प्रस्तुत गर्दै त्यसको व्यवहारिक कार्यान्वयन सुनिश्चित गर्न आवश्यक रहेकोमा पनि जोड दिएका थिए ।
८- विश्व फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले नेपाल फुटबल संघ एन्फामाथि गरिएको निलम्बन फिर्ता लिन राष्ट्रिय खेलकुद परिषद् राष्ट्रिय खेलकुद परिषद्लाई आग्रह गरेका छन् । बुधबार महासचिव किरण राईको नाममा पठाइएको पत्रमा राखेपको निर्णयलाई तेस्रो पक्षको हस्तक्षेपका रूपमा बुझिएको उल्लेख गर्दै त्यसलाई सच्याउन आग्रह गरिएको हो । फिफा र एएफसीले १३ अप्रिल २०२६ मा भएको अनलाइन बैठक तथा त्यससँग सम्बन्धित पत्राचारलाई सन्दर्भका रूपमा लिँदै एन्फाको वर्तमान अवस्थाबारे खुला र रचनात्मक छलफल भएकोमा राखेप र एन्फालाई धन्यवाद दिएका छन् । पत्रमा राखेपले मार्च २५, २०२६ मा गरेको निर्णयले निर्वाचन प्रक्रिया रोक्ने, विधान संशोधन गर्न निर्देशन दिने तथा जिल्ला संघहरूलाई पनि विधान परिवर्तन गरी चुनावी साधारण सभा गर्न भनिएको, एन्फाको स्वायत्ततामाथि असर पार्ने कदम भएको उल्लेख छ । यस्तो हस्तक्षेप फिफा र एएफसीका मापदण्डविपरीत रहेको पनि जनाइएको छ । फिफा र एएफसीले उक्त निर्णय पुनर्विचार गर्दै आगामी मे ४ भित्र फिर्ता लिन आग्रह गरेका छन् । फिफा र एएफसीले सरोकारवालाबीच सहमति खोज्न रचनात्मक संवाद अघि बढाउन आफूहरू तयार रहेको पनि पत्रमा उल्लेख गरिएको छ । साथै, यस विषयमा भएका नयाँ प्रगतिबारे जानकारी गराउन र आवश्यक परे थप सहकार्य गर्न आफूहरू तयार रहेको जनाइएको छ ।
९- सर्वोच्च अदाललते महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । महान्यायाधिवक्ता कँडेलको नियु्क्ति असंवैधानिक दावी गर्दै अधिवक्ताहरू माधव कुमार बस्नेत, दिपकराज जोशी, शिवराज बरालसमेतलगायतले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन्। अयोग्य व्यक्तिलाई महान्यायाधिवक्ताजस्तो पदमा नियुक्त गरेको रिट निवेदनमा उल्लेख गर्दै कँडेलले निरन्तर १५ वर्ष वकालत नगरेको दावी गरिएको छ । महान्यायाधिवक्ता हुन कानुनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्तिमा १५ वर्ष निरन्तर वकालत गरेको र वा कम्तिमा १५ वर्षसम्म न्याय वा कानुनको क्षेत्रमा काम गरी विशिष्ट कानुनविदको रुपमा ख्याति प्राप्त गरेको हुनुपर्ने कानुनी व्यवस्था रहेको छ । प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत चैत्र २२ गते डा. कँडेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका थिए ।
१०- नेप्से आज पनि गिरावट आएको छ । आज विहिबार नेप्से १७.०१ अंकले घटेर २७८७.१५ विन्दुमा पुगेर रोकिएको छ । आज ३४८ कम्पनिका एक करोड १३ लाख ७५ हजार ६९९ कित्ता शेयर ५ अर्ब ९ करोड ५९ लाख ५ हजार ७५७ मा कारोबार भएको थियो । आज उत्पादन, म्युचुअल फण्ड र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, पाल्पा सिमेन्ट र शिखर पावरको शेयर शेयरमा १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी सुर्यकुण्ड हाइड्रोको शेयर ११.७५ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिग मिल्सको ३० करोड ४२ लाख बराबरको कारोबार भएको छ भने सोलु हाइड्रोको २६ करोड ७ लाख बराबरको कारोबार भएको छ ।
११- ऊर्जा खपत वृद्धि र विद्युत् निर्यातलाई प्राथमिकता दिने उद्देश्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसमक्ष पेश गरिएको छ । मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वमा गठित समितिले तयार पारेको उक्त रणनीति बिहीबार प्रस्तुत गरिएको हो । मन्त्रिपरिषद्को शासकीय सुधारसम्बन्धी कार्यसूचीअनुसार ऊर्जा खपत र निर्यातलाई व्यवस्थित गर्न यो अध्ययन अघि बढाइएको थियो । रणनीतिमा देशभित्र विद्युत् खपत उल्लेख्य रूपमा बढाउने र बाँकी रहेको विद्युत् निर्यात गर्ने दीर्घकालीन योजना समेटिएको छ । सबै घरधुरीमा विद्युतीकरण सुनिश्चित गर्दै प्रसारण र वितरण प्रणाली सुधार गर्नुपर्नेमा जोड दिइएको छ । घरेलु विद्युतीय उपकरणको प्रयोग बढाउने, मिटर तथा ट्रान्सफर्मरको क्षमता सुधार गर्ने र एलपी ग्यासको प्रयोग क्रमशः घटाउने लक्ष्य राखिएको छ । हाल करिब ४५० किलोवाट घण्टा रहेको प्रतिव्यक्ति ऊर्जा खपत आगामी १० वर्षभित्र १५०० किलोवाट घण्टासम्म पुर्याउने योजना रहेको छ । सार्वजनिक यातायातमा विद्युतीय सवारीलाई प्राथमिकता दिने र चार्जिङ स्टेशन विस्तार गर्ने प्रस्ताव गरिएको छ । उद्योगमा प्रयोग हुने कोइला तथा पेट्रोलियममा आधारित बोयलरलाई विद्युतीय प्रणालीले प्रतिस्थापन गर्ने नीति पनि अघि सारिएको छ । ऊर्जा उपयोग बढाउन उपभोक्ता मैत्री मौसमी महसुल दर लागू गर्ने योजना पनि समेटिएको छ, जसले व्यापार घाटा घटाउन र विदेशी मुद्रा सञ्चिति बलियो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । उत्पादनतर्फ जलाशययुक्त जलविद्युत आयोजनाको हिस्सा बढाएर वर्षा र सुक्खा मौसमबीचको असन्तुलन घटाउने लक्ष्य लिइएको छ । साथै, अन्तरदेशीय प्रसारण लाइनमार्फत क्षेत्रीय बजारमा विद्युत निर्यात विस्तार गर्ने र साँझको उच्च मागका समयमा निर्यात बढाएर आर्थिक लाभ लिने रणनीति तय गरिएको छ । आगामी १० वर्षभित्र १५ हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य राखिएको छ । रणनीतिले सम्भावित जोखिम पहिचान गरी समाधानका उपायसमेत प्रस्ताव गरेको छ । साथै, विद्युत व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउने र नेपाल विद्युत प्राधिकरणमा संरचनात्मक सुधार गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । प्रभावकारी कार्यान्वयनका लागि कडा अनुगमन व्यवस्था अपनाइने र कार्यसम्पादनका आधारमा जिम्मेवारी सुनिश्चित गरिने जनाइएको छ । समितिमा विभिन्न निकायका उच्च अधिकारीहरू सहभागी थिए ।
१२- इजरायल र लेबनानबीच दोस्रो चरणको वार्ता आज अमेरिकामा हुँदैछ । वार्तामा हाल लागू १० दिने युद्धविराम अवधि थप लम्ब्याउने विषयमा मुख्य रूपमा छलफल हुने बताइएको छ । लेबनानका राष्ट्रपति जोसेफ औनका अनुसार दूतस्तरको वार्ता इजरायली आक्रमण रोक्ने, लेबनानी भूभागबाट इजरायली सेना फिर्ता गर्ने, बन्दीहरूको रिहाइ, अन्तर्राष्ट्रिय सीमामा सेना परिचालन तथा युद्धबाट प्रभावित क्षेत्रको पुनर्निर्माणजस्ता विषयमा केन्द्रित रहनेछ । यसैबीच इरान र अमेरिकाबीच इस्लामाबादमा हुने भनिएको दोस्रो चरणको वार्ता भने हुन सकेको छैन । इरानले अहिलेसम्म अमेरिकासँग सम्झौतामा सहमति जनाएको छैन । पहिलो चरणको वार्तामा इरानले युद्धविराममा लेबनानमा भइरहेको लडाइँ रोक्ने विषय अनिवार्य रूपमा समावेश गर्नुपर्ने सर्त राखेको थियो ।
१३- सरकारले सबै मन्त्रालय, विभाग, कार्यालय र स्थानीय तहमा विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, विभाग, कार्यालय र सबै निकायमा पठाएको सूचनामा कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थित गर्न विद्युतीय हाजिरी प्रणाली लागू गर्न निर्देशन दिइएको छ । उक्त व्यवस्था हालसम्म कार्यान्वयन नभएको अवस्थामा कर्मचारीको दैनिक उपस्थितिको विवरण अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत नै राख्नुपर्ने उल्लेख गरिएको छ । त्यस्तै, प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित गरेर कार्यालयमा सुरक्षित राख्न पनि निर्देशन दिइएको छ । मन्त्रालयको सचिवस्तरबाट वैशाख ८ गते गरिएको निर्णयअनुसार यो व्यवस्था लागू गर्न निर्देशन दिइएको हो ।
१४- पाकिस्तानका क्रिकेटर मोहम्मद नवाजमाथि टी–२० विश्वकपका क्रममा लागुऔषध सेवन गरेको आरोप लागेको छ । पाकिस्तान क्रिकेट बोर्डले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को प्रतिवेदनका आधारमा नवाजसम्बन्धी प्रक्रिया अघि बढाइएको जनाएको छ । प्रतिवेदनमा ‘मनोरञ्जनका लागि प्रयोग हुने लागुऔषध’सँग सम्बन्धित विषय उल्लेख गरिएको छ । बोर्डका प्रवक्ताले नवाजलाई उक्त विषयमा आफ्नो स्पष्टीकरण दिन निर्देशन दिइएको जानकारी दिएका छन् । प्राप्त विवरणअनुसार उनको परीक्षण नतिजा पोजेटिभ आएको बताइएको छ । यसअघि क्रिकेटसम्बन्धी एक अन्तर्राष्ट्रिय माध्यमले फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा भएको टी–२० विश्वकपका क्रममा नवाजको परीक्षण पोजेटिभ आएको दाबी गरेको थियो । उक्त प्रतियोगितामा उनले सात खेल खेलेका थिए, तर पाकिस्तान सेमिफाइनल पुग्न सकेको थिएन । हाल नवाज पाकिस्तान सुपर लिगमा मुल्तान सुल्तानबाट खेलिरहेका छन् । यस प्रकरणपछि उनको भविष्यबारे औपचारिक निर्णय भने भइसकेको छैन । नियमअनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले यस्ता विषयमा छानबिन गरी खेलाडीलाई जवाफ दिने अवसर दिन्छ । परीक्षणमा दुई नमुना लिइने व्यवस्था हुन्छ, जसमा पहिलो नतिजा पोजेटिभ आएपछि खेलाडीले दोस्रो नमुना परीक्षणको माग गर्न सक्छ । यदि दोस्रो परीक्षण नकारात्मक आएमा खेलाडीलाई सफाइ दिइन्छ भने पोजेटिभ नै रहेमा चार वर्षसम्म प्रतिबन्ध लाग्न सक्ने व्यवस्था छ । तर अनजानमा प्रतिबन्धित पदार्थ सेवन भएको प्रमाणित भए सजाय घटाउन सकिने प्रावधान रहेको छ । विशेषज्ञका अनुसार यस्ता लागुऔषधले खेल प्रदर्शन सुधार गर्ने होइन, बरु स्वास्थ्य र प्रदर्शन दुवैमा नकारात्मक असर पार्ने जोखिम हुन्छ ।
१५- मन्त्रिपरिषद्को बैठकले गरेका तीन प्रमुख निर्य सार्बजनिक गरिएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार खानेपानी तथा ढल व्यवस्थापनका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने अमेरिकी डलर ११५ मिलियन सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतामा तथा अन्य सम्बन्धित दस्तावेजलाई अन्तिम रुप दिने विषयमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ । त्यस्तै बैठकले नेपाल सरकार, मन्त्रिपरिषदको २०७५ भदौँ २१ को निर्णयबमोजिम महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रष्ठिानको पुरै जग्गा (११४–३–०–०) राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने गरी भएको निर्णयको सट्टामा सो जग्गा पूर्ववत रुपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले नै प्रयोग गर्ने निर्णय भएको छ । त्यस्तै सरकारले सरकारी निकायमा भएका सफ्टवयर तथा सूचना प्रविधिसम्बन्धी विषयमा अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय गरिएको प्रवक्ता पोखरेलले जानकारी दिएका छन् ।
१६- नेपाल चिकित्सक संघले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले क्यान्टिनमा खाजा खाँदै गरेका चिकित्सकमाथि आफूलाई युवा अभियन्ता बताउने व्यक्तिले दुर्व्यवहार गर्नुका साथै आक्रमणको धम्की दिएको र उक्त घटनाको भिडियो बनाएर सामाजिक सञ्जालमार्फत अफवाह फैलाइएको आरोप लगाएको छ । संघले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि तथ्यहीन आरोप लगाई समाजमा भ्रम सिर्जना गर्ने कार्यको कडा निन्दा गरेको छ । यस्ता गतिविधिले नागरिक र स्वास्थ्यकर्मीबीच दूरी बढाउने तथा सेवा प्रवाहमा समेत असर पार्ने संघको भनाइ छ । घटनामा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न र चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित निकायसँग संघले माग गरेको छ । साथै यस्ता घटना पुनः दोहोरिन नदिन आवश्यक कानुनी कदम चाल्न सरकारसँग आग्रह गरिएको छ ।
१७- श्रम संस्कृति पार्टी प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभिएको छ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदललाई पार्टीको तर्फबाट दिएको सुझावमा श्रम संकृति पार्टीले जनताद्वारा प्रत्यक्ष चुनिने कार्यक्रारी प्रमुख राष्ट्रपति हुनुपर्ने सुझाव दिएको हो । श्रम संस्कृतिले सरकार गठन गर्दा कार्यकारी प्रमुखले आफ्नो कार्यसम्पादन सहज हुने व्यक्तिहरूलाई समेटेर मन्त्रिपरिषद् बनाउने व्यवस्था हुनुपर्ने पनि सुझाएको छ । पार्टीले मन्त्रिपरिषद् गठन गर्दा सबै जातजाति, समुदाय र लिङ्गको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उल्लेख गरेको छ । साथै, व्यवस्थापिकाको मुख्य भूमिका कानुन निर्माण, सरकारको कामको निगरानी, मूल्याङ्कन र आवश्यक सुझाव दिने हुनुपर्ने बताइएको छ । त्यसैगरी कार्यकारी प्रमुखको अधिकार र सीमालाई स्पष्ट रूपमा निर्धारण गर्नुपर्ने, निरंकुश बनेमा महाअभियोग लगाउने व्यवस्था राख्नुपर्ने र संसदबाट महाअभियोग पारित भएमा पदमुक्त हुने प्रावधान आवश्यक रहेको प्रस्तावमा समेटिएको छ । पूर्ण समावेशी राज्य प्रणालीको अवधारणाअनुसार सबै जातजातिका नागरिकलाई राज्यका हरेक अंगमा सहभागिता गराउने, राजनीतिक पददेखि सेना, प्रहरी र प्रशासनिक संयन्त्रसम्म समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा पार्टीले जोड दिएको छ ।
१८- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको १८ सयले घटेर तोलाको २ लाख ९८ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ११० रुपैयाँले घटेर ५०२० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५१३० मा कारोबार भएको थियो ।
१९- इरानविरुद्धको युद्ध कति समयसम्म चल्ने भन्ने निर्णय अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्ने भएका छन् । ह्वाइट हाउसले युद्धविरामको समयसीमा अमेरिकी राष्ट्रिय हितका आधारमा तय गरिने स्पष्ट पारेको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकार सम्मेलनमा हालसम्म युद्धविरामको कुनै निश्चित समयसीमा नरहेको बताइन् । उनका अनुसार अवस्था लगातार परिवर्तन भइरहेकाले युद्धविराम कहिले सकिन्छ भन्ने अहिले नै निर्धारण गर्न सम्भव नभएको बताएकी छन् । लेभिटले परिस्थितिअनुसार रणनीति परिवर्तन भइरहने संकेत दिँदै आगामी निर्णय प्रत्यक्ष रूपमा राष्ट्रपति ट्रम्पकै हातमा रहने जानकारी दिइन् । यसले युद्धविरामको अवधि र आगामी कदमहरू वासिङ्टनको रणनीतिक प्राथमिकतामा आधारित हुने देखिएको छ । अप्रिल २२ मा सकिएको यसअघिको युद्धविरामको अवधि ट्रम्पले एकतर्फी रुपमा बढाएको घोषणा गरेका थिए । इरानले युद्धविराम बढाउनु आफुहरुको कुनै चासो नभएको प्रतिक्रिया दिदै अमेरिका र इजरायल फेरी आक्रमण गरे कडा जवाफ दिने चेतावनी दिएको छ । ट्रम्पले भने वार्तामा मध्यस्थता गरिरहेको पाकिस्तानको अनुरोधमा युद्धविरामको अवधि बढाएको बताएका छन् ।
२०- राजस्थान रोयल्सले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले लखनउलाई ४० रनले पराजित गरेको हो । राजस्थानले दिएको १६० रनको लक्ष्य पछाएको लखनउले १८ ओभरमा अल आउट हुदै ११९ रन मात्र बनाएको थियो । लखनउका लागि मिचेल मार्शले सर्बाधिक ५५ रन बनाए भने निकोलस पुरनले २२ तथा हिम्मत सिंहले १५ रन बनाएका थिए । त्यस्तै राजस्थानका बलर जोफ्रा आर्चरले ३ विकेट लिए भने नान्द्रे बर्गर र बृजेश शर्माले २-२ तथा रविन्द्र जडेजा र रवि विश्नोईले २-२ विकेट लिए । यसअघि पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउदै १६९ रन बनाएको थियो । राजस्थानका लागि रविन्द्र जडेजाले ४३ तथा यशस्वी जैसवाल र शिमरन हेटमायरले २२-२२ रन बनाएका थिए । यो जितपछि राजस्थानको ७ खेलमा १० अंक भएको छ र दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै लखनउको भने ७ खेलमा ४ अंक रहेको छ ।