चैत ३०, काठमाडौं । नेपाल चिकित्सक संघले सामाजिक सञ्जालमार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अफवाह फैलाउने गतिविधि बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले भेरी अस्पताल र गजेन्द्र नारायण सिंह अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको भिडियो बनाएर युट्युब, फेसबुकजस्ता माध्यमबाट तथ्यहीन आरोप लगाउने र भ्रम फैलाउने काम भइरहेको उल्लेख गरेको छ ।
संघका अनुसार स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कार्यरत जनशक्तिमाथि आधारहीन आरोप लगाउनु पत्रकारिताको मूल्यमान्यता र आचारसंहिताविपरीत भएको भन्दै यस्ता गतिविधिले निरन्तर सेवामा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको मानमर्दन हुनुका साथै आत्मसम्मानमा गम्भीर असर पर्ने गरेको जनाएको छ ।
सामाजिक सञ्जालमा फैलाइने अफवाहले आम नागरिक र स्वास्थ्यकर्मीबीच दूरी बढाउने र सेवा प्रवाहमा समेत नकारात्मक प्रभाव पार्ने संघको भनाइ छ ।
संघका महासचिव डा. सन्जीव तिवारीले यस्ता कार्यमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्न नेपाल सरकारसँग माग गरेका छन्।