चैत्र २९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार उक्त विवरण सार्वजनिक गरेको हो।

विवरणअनुसार खनालको नाममा काठमाडौँ महानगरपालिका–१० स्थित टाेखामा ६ आना क्षेत्रफलमा बनेको एक घर रहेको छ। साथै, तनहुँको भानुमा १५ रोपनी पुर्ख्यौली जग्गा, नवलपरासी पूर्वको देवचुलीमा १२ रोपनी तथा बाँकेको नेपालगञ्जमा २ कठ्ठा जग्गा रहेको उल्लेख गरिएको छ।
नगद तथा जिन्सी सम्पत्तितर्फ उनीसँग १० लाख रुपैयाँ नगद मौज्दात रहेको छ भने २२ तोला सुन र २५ तोला चाँदी रहेको विवरणमा उल्लेख छ।
खनालको विभिन्न कम्पनी तथा शेयर बजारमा समेत लगानी रहेको छ। पिक एण्ड ड्रप नेपालमा ३३ प्रतिशत, रिग्पा इन्टरनेशनलमा शतप्रतिशत र ताजा एग्रो फार्ममा १६ प्रतिशत शेयर स्वामित्व रहेको छ। साथै ग्लोबल आइएमई बैंक लगायत लघुवित्त, औषधि तथा जलविद्युत कम्पनीहरूमा पनि उनको लगानी रहेको छ।
सवारी साधनतर्फ उनले करिब ४० लाख रुपैयाँ मूल्यको गाडी प्रयोग गरिरहेका छन्। विवरणअनुसार उनीसँग ७५ लाख रुपैयाँ ऋण पनि रहेको छ।