फागुन २८, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने जघन्य अपराधका दोषीहरूलाई कडाभन्दा कडा कानूनी कारबाही गर्न राज्य संयन्त्रले तदारुकता देखाउनुपर्ने बताएकी छिन्। ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली महिलाहरू अझै पनि सुरक्षित र सम्मानित रूपमा बाँच्न पाउने आधारभूत मानव अधिकारबाट वञ्चित हुनुपरेको भन्दै चिन्ता व्यक्त गरिन्।

समाजमा बढ्दै गएको घरेलु हिंसा, एसिड आक्रमण, यौन दुव्र्यवहार, बलात्कार तथा हत्या जस्ता घटनाहरूप्रति लक्षित गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्ता अमानवीय कार्यले सिंगो समाजलाई नै कलंकित बनाएको बताइन्। अपराधीहरूले उन्मुक्ति पाउने वा कानूनी छिद्रको प्रयोग गरेर उम्कने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिइन्।
राज्यको ध्यानाकर्षण गराउन र पीडितलाई न्याय दिलाउन नागरिक समाज र महिला अधिकारवादी संगठनहरूको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ।