असोज २५, काठमाडौं । सिटिजन्स बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्लाको पातारासी गाउँपालिका–७ स्थित सरस्वती माध्यमिक विद्यालयका ३०० विद्यार्थीलाई ‘स्वेटर’ प्रदान गरेको छ ।

विद्यालय परिसरमा शनिबार आयोजित एक कार्यक्रममा आर्थिक रुपमा विपन्न उनीहरुलाई यहाँस्थित बैङ्कका शाखा प्रबन्धक केसाङ लामाले स्वेटर प्रदान गर्नुभएको हो । उहाँले भविष्यमा पनि सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक क्षेत्रको उन्नयनका निम्ति बैङ्कले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाछिराम खड्का तथा पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले विपन्न परिवारका विद्यार्थीलाई सहयोग गरेकामा बैङ्कप्रति आभार व्यक्त गर्नुभयो ।