• २०८३ बैशाख २८ गते सोमवार

प्रधानमन्त्री नआएको भन्दै कांग्रेसले बहिष्कार गर्‍यो राज्य व्यवस्था समितिको बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख २८, काठमाडौं । प्रधानमन्त्री बालेन शाह राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लगातार दोस्रोपटक पनि अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ । गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्रीसँग सुकुमबासी बस्ती हटाउने निर्णय, सुरक्षा प्रशासनलगायतका विषयमा स्पष्टिकरण लिनुपर्ने भए पनि उनी उपस्थित नभएपछि कांग्रेसले असन्तुष्टि जनाउँदै बैठकमा नजाने निर्णय गरेको हो ।

सोमबार बिहान ११ बजेका लागि तय गरिएको बैठकमा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई तथा सांसद अर्जुननरसिंह केसी र रेखाकुमारी यादव सहभागी भएनन् । कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले प्रधानमन्त्रीकै अनुपस्थितिमा समितिको बैठक बस्नुको औचित्य नरहेको बताएका छन् । उनले गृह मन्त्रालयसँग सम्बन्धित गम्भीर विषयमा जवाफ आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री स्वयं उपस्थित भई स्पष्ट धारणा राखे मात्र कांग्रेस सहभागी हुने बताए ।

‘प्रधानमन्त्री उपस्थित भई जवाफ दिनुहुन्छ भने मात्र हामी बैठकमा सहभागी हुन्छौं, नत्र औपचारिकता पूरा गर्न मात्र बस्ने बैठकमा हाम्रो उपस्थिति रहने छैन,’ आङ्देम्बेको भनाइ छ । उनले समितिका सभापति हरि ढकाल लाई प्रधानमन्त्री उपस्थित हुने सुनिश्चित भएपछि मात्रै बैठकबारे जानकारी दिन आग्रह गरिएको पनि बताए । साथै, प्रधानमन्त्रीलाई समितिमा उपस्थित गराउन पटक–पटक आग्रह गरिँदै आएको उनले उल्लेख गरे । प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिका कारण उक्त समिति बैठक दोस्रोपटक प्रभावित भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस