• २०८३ असोज २४ गते शनिवार

पहिरोले मुख्य राजमार्गहरू प्रभावित : पृथ्वी र बिपी राजमार्ग पूर्ण अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज २४, काठमाडौं । वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीको विवरण अनुसार शनिबार (आज) बिहानसम्म विभिन्न प्रदेशका महत्त्वपूर्ण सडकहरू पूर्ण तथा एकतर्फी रूपमा अवरुद्ध भएका छन् ।

वाग्मती प्रदेशअन्तर्गत धादिङको गजुरी–५ गलौदीमा पहिरो खस्दा पृथ्वी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने काभ्रेको रोशी–९ पिन्थलीमा बाढीका कारण वि.पि. राजमार्गमा आवागमन ठप्प बनेको छ । यसैगरी त्रिभुवन राजपथको धादिङ खत्रीपौवा खण्डमा पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन गरिएको छ भने रसुवाका मुख्य राजमार्गहरू बाढीका कारण अझै पूर्ण रूपमा बन्द रहेका छन् ।

गण्डकी प्रदेशमा बेनी–जोमसोम सडकखण्डको म्याग्दी बैसरीमा पहिरोका कारण एकतर्फी मात्र गाडी चलिरहेका छन् । कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी पूर्वको जन्ती पहिरो क्षेत्रमा सडक एकतर्फी खुले पनि ठूला सवारीसाधन चल्न सकेका छैनन्। मनाङको बेसीसहर–खाङसार सडकखण्ड पनि बाढीका कारण एकतर्फी अवस्थामा रहेको छ ।

यता लुम्बिनी प्रदेशको गुल्मीस्थित कालीगण्डकी करिडोर राक्सेमा गएको पहिरोले बाटो पूर्ण रूपमा अवरुद्ध बनाएको छ । कर्णाली प्रदेशतर्फ डोल्पाको त्रिपुरासुन्दरीस्थित भेरी कोरिडोर पहिरोपछि एकतर्फी सुचारु भएको छ भने सल्यानको बनगाड कुपिण्डेस्थित बालुवासंग्रही सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा ठप्प छ ।

सडक विभाग तथा सुरक्षा निकायले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेका छन् । यात्रामा निस्कनुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस