• २०८३ असोज २४ गते शनिवार

सोह्र श्राद्ध समापन, आज औँसी श्राद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २४, काठमाडौं । दिवंगत पितृको सम्झनामा गरिने सोह्र श्राद्ध आज औँसी तिथिसँगै समापन हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्षको अन्तिम दिन आज दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ ।

पितृ पक्षको अन्तिम दिन गरिने औँसी श्राद्धलाई विशेष महत्त्वका साथ लिइन्छ । पितृ पक्षका अन्य तिथिमा कुनै कारणवश श्राद्ध गर्न नसकेका व्यक्तिले आज श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । आज पनि श्राद्ध गर्न नसकिएमा आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म श्राद्ध गर्न सकिने व्यवस्था छ । यस अवधिमा पनि गर्न नसकिए कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन श्राद्ध गर्न सकिने शास्त्रीय मान्यता छ ।

पितृका नाममा गरिने धार्मिक कर्मका लागि काठमाडौं उपत्यकाको गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट र त्रिवेणीलगायत तीर्थस्थलमा श्रद्धालुको भीड लाग्ने गर्छ ।

पितृ पक्षमा आश्विन कृष्ण प्रतिपदादेखि आमावास्यासम्मका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको मातामह श्राद्ध गरी १६ तिथिमा श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ । मातामह अर्थात् आमाको बुबाको श्राद्ध भने आश्विन शुक्ल प्रतिपदाका दिन गरिन्छ ।

सोह्र श्राद्ध समापनसँगै हिन्दू नेपालीको प्रमुख चाड बडादशैँ सुरु भएको छ । असोज २५ गते घटस्थापनासँगै दुर्गा पक्ष अर्थात् बडादशैँ सुरु हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस