• २०८३ बैशाख २७ गते आइतवार

कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक : प्रचण्ड

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

वैशाख २७, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले कम्युनिस्ट आन्दोलनभित्र एकता र पुनर्गठनको आवश्यकता औँल्याएका छन् । स्वर्गीय नेता निर्मल लामाको २६औँ स्मृति सभामा बोल्दै उनले हजारौँ तथा लाखौँ कार्यकर्ताहरू कम्युनिस्टहरूबीच एकता होस् भन्ने पक्षमा रहेको उल्लेख गरे । उनले नेतृत्व तहबाट समय–समयमा एकताका प्रयास भए पनि ती प्रयासहरू दीर्घकालीन रूपमा सफल हुन नसकेको बताए ।

उनले भने, ‘हजारौं र लाखौं कार्याकर्ताहरु पनि कम्युनिस्टहरुको बीचमा एकता होस् भन्ने पक्षमा छन् । ती प्रयासहरु पनि लिडरसिपको प्रयासबाट बेलामौकामा हुने पनि गरेका छन् । तर त्यो एकतालाई सुदृढ र दिगो बनाउनका वैचारिक बहस वा छलफल र निष्कर्ष आवश्यक छ । संगठनात्मक सिद्धान्त, नीति, विधिको विकासको काम भएको छैन् । परिणामतः ती एकताका प्रयासहरु विभिन्न रुपमा भएपनि ती दिगो र सफल हुन सकेनन् ।’ उनले वैचारिक बहस, छलफल र निष्कर्षमा पुग्ने प्रक्रिया तथा संगठनात्मक सिद्धान्त, नीति र विधिको विकास पर्याप्त रूपमा हुन नसक्दा एकता प्रयासहरू दिगो बन्न नसकेको बताए । प्रचण्डले कम्युनिस्ट आन्दोलनभित्रका विगतका विभाजन र एकताका श्रृंखलाबाटै वर्तमान अवस्था बनेको उल्लेख गर्दै एकताको आवश्यकता भने अझै कायम रहेको स्पष्ट पारे । उनले कम्युनिस्ट आन्दोलनको एकता आवश्यक छैन भन्ने निष्कर्ष निकाल्नु गलत हुने बताए ।

उनले भने, ‘यो कुराले के कुरा निष्कर्ष निकाल्नु गलत हुन्छ भने कम्युनिस्ट आन्दोलनको एकताको आवश्यकता छैन भन्ने कुरा होइन । विभाजन र एकताका थुप्रै श्रृखलाहरु हुँदै जसरी कम्युनिस्ट आन्दोलन आजको विन्दुसम्म आएको छ । अन्तर्राष्ट्रिय रुपमा पनि ठूलाठूला विवाद र बहस विभाजन एवम एकताको श्रृखला हुँदै अगाडि बढेको छ । सच्चा कम्युनिष्टहरुको बीचमा एकताको आवश्यकता अहिले झन विशेष रुपले बढेको छ ।’ उनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन पनि विभाजन र एकताको विभिन्न चरण हुँदै अघि बढेको स्मरण गराउँदै नेपालमा पनि सच्चा कम्युनिस्टहरूबीच एकता अझै बढी आवश्यक रहेको धारणा राखे । कार्यक्रममा उनले देशमा वैदेशिक पूँजी र साम्राज्यवादी शक्तिहरूको हस्तक्षेप बढ्दै गएको दाबी गर्दै मुलुक राष्ट्रिय रूपमा चुनौतीपूर्ण अवस्थामा पुगेको टिप्पणी गरे । उनले हालै सम्पन्न निर्वाचनलाई लक्षित गर्दै कम्युनिस्ट शक्तिहरूलाई कमजोर बनाउने रणनीति अन्तर्गत विभिन्न गतिविधि भएको आशंका व्यक्त गरे । उनका अनुसार ती घटनाहरू अझै पूर्ण रूपमा सतहमा नआएको र समयसँगै अनुसन्धान तथा अध्ययनमार्फत खुल्दै जानेछन् ।

‘अहिले देशमा जसरी वैदेशिक पूँजीपतिहरु, साम्राज्यवादीहरुको विभिन्न किसिमको हस्तक्षेप बढ्दै गएको छ । देश राष्ट्रिय रुपमा पनि निकै अप्ठ्यारो ठाउँमा आइपुगेको छ । भर्खरै सम्पन्न निर्वाचनमा कम्युनिस्टहरुलाई सखाप पार्ने रणनीति अन्तरगत जे जस्ता खेल भएका छन् ती सबै अझै सतहमा आएका छैनन् भन्ने भनाई छ । समयकालसँगै के के भएका थिए पर्दाभित्र भन्ने कुरा आउँदै जाला, त्यसको अध्ययन हुँदै जाला, अनुसन्धान पनि हुँदै जाला ।’ प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई नेपालबाट समाप्त पार्ने उद्देश्यसहित देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू सक्रिय रहेको आरोप पनि लगाए । उनले यसलाई स्वीकार गर्न नसकिए श्रमजीवी वर्गप्रति अन्याय हुने दाबी गरे । उनले कम्युनिस्ट आन्दोलनभित्र आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गर्दै कमजोरी सच्याएर सम्पूर्ण आन्दोलनलाई एकताबद्ध गर्दै नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस