• २०८३ असोज २३ गते शुक्रवार

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २३, काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध गायक पशुपति शर्मालाई अध्यक्ष निर्वाचित गरेको छ । शर्मा यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । यसैगरी महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित हुनुभएको प्रतिष्ठानको नवौँ महाधिवेसनका निर्वाचन समितिका संयोजक अधिवक्ता राधाकृष्ण पाठकले जानकारी दिनुभयो ।

बिहीबार बर्दिबास–३ गौरीडाँडामा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले उद्घाटन गर्नुभएको नवौँ महाधिवेसनमा उद्घाटनसत्र समापनसँगै निर्वाचन कार्यक्रम सुरु भएको थियो । प्रतिष्ठानमा ३८ पदाधिकारी र ३७ सदस्यसहित ७५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ ।

सर्वसम्मत भएका र आज शुक्रबार विद्युतीय मेसिनबाट भएको मतदानको परिणाम भोलि शनिबार समापन कार्यक्रममा घोषणा गरिने प्रतिष्ठानको निर्वाचन समितिले जनाएको छ । सातै प्रदेश, ७० जिल्ला र विदेशस्थित शाखासहित १०० वटा समितिबाट एक हजार ५०० प्रतिनिधि महाधिवेसनमा सहभागी छन् । महाधिवेशन नयाँ नेतृत्वको घोषणासँगै शनिबार समापन हुने जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस