भाद्र २३, धनगढी । देशमा व्याप्त भ्रष्टाचार, कुशासन र विकृतिविरुद्ध परिवर्तनको आवाज उठाउँदै जीवन बलिदान गर्ने जेन–जी (Gen Z) आन्दोलनका शहीदहरूप्रति धनगढी–३, चटकपुरस्थित मायामेट्रो अस्पताल प्रा.लि. ले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। अस्पतालको प्राङ्गणमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा आन्दोलनका क्रममा ज्यान गुमाएका सम्पूर्ण शहीदहरूप्रति सम्मान व्यक्त गर्दै उनीहरूको योगदान र बलिदानलाई देशले सदैव स्मरण गरिरहने बताइएको छ।

कार्यक्रममा शहीदहरूको साहस, त्याग र योगदानले भावी पुस्तालाई परिवर्तन, सुशासन र समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा दिने उल्लेख गरिएको थियो। आन्दोलनका क्रममा व्यक्त भएको सुशासन, भ्रष्टाचारमुक्त समाज तथा समुन्नत नेपालको आकांक्षा पूरा गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा समेत जोड दिइएको छ।
मायामेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउदको अध्यक्षतामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा शहीदहरूप्रति मौनधारण तथा श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूले देखेको समुन्नत र समृद्ध नेपालको सपना साकार पार्नुपर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
अस्पतालले जेन–जी आन्दोलनका सम्पूर्ण शहीदहरूलाई अमर राख्दै उनीहरूको बलिदानलाई देश निर्माणको प्रेरणाका रूपमा लिनुपर्ने जनाएको छ।