• २०८३ बैशाख २६ गते शनिवार

सर्लाहीका सुकुम्बासी पनि आन्दोलित, सरकारविरुद्ध नाराबाजी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख २६, सर्लाही । सुकुम्बासी हटाउने सरकारी कदमविरुद्ध सर्लाहीका सुकुम्बासी पनि आन्दोलित भएका छन् । शुक्रबार जिल्लाको बागमती नगरपालिका – १२ स्थित पुतली चोकमा भेला भएका उनीहरूले नाराबाजी गर्दै र्याली र कोणसभा गरेका हुन् ।

बागमती नगरपालिकासहित आसपासका स्थानीय तहबाट ऐलानी, पर्ती, वन क्षेत्र तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका परिवारहरू प्रदर्शनमा सहभागी भएका थिए । उनीहरूले ‘उठिवास होइन, व्यवस्थापन गर’, ‘गरिबलाई पनि बाँच्न दे सरकार’ र ‘जग्गा सरकारको भए जनता कसको ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनकारीहरूले सरकारले सुकुम्बासी व्यवस्थापनको नाममा आफूहरूलाई वर्षौंदेखि बसोबास गर्दै आएको स्थानबाट हटाउन खोजेको आरोप लगाएका छन् । वैकल्पिक व्यवस्थाबिनै उठिवास गराउन खोजिएको भन्दै उनीहरूले निर्णय फिर्ता लिन माग गरेका हुन् ।

भारी वर्षाका बीच पुतली चोकबाट सुरु भएको र्याली बागमती पुल हुँदै वीर गोर्खाली चोक पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए । सभामा बोल्दै श्रेष्ठले व्यवस्थापनको नाममा सुकुम्बासीलाई विस्थापित गर्न नहुने बताए । उनले ‘जग्गा सरकारको भए जनता कहाँ जाने ?’ भन्दै सरकारको भूमिनीतिमाथि प्रश्न उठाए । नागरिक तहमा सरकारको रबैयाले त्रास र चिन्ताको अवस्था सृजना भएको भन्दै व्यवस्थापनको नाममा सरकार सुकुम्बासी प्रति तानाशाही बनेको नेता श्रेष्ठले आरोप समेत लगाए ।

Sharing

प्रतिक्रिया दिनुहोस