• २०८३ जेष्ठ १८ गते सोमवार

सिरहा कारागार तनावग्रस्त, नाइके पक्राउपछि कैदी–सुरक्षाकर्मीबीच झडप

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

सिरहा, माघ २६ गोली र नगदसहित कारागारका नाइके पक्राउ परेपछि सिरहा कारागारमा उत्पन्न विवाद उग्र बन्दै गएको छ। कैदी र सुरक्षाकर्मीबीच दोहोरो भिडन्त भएपछि कारागार क्षेत्र तनावग्रस्त बनेको हो।

कारागारका नाइके इन्द्रजित यादवसहित १३ जना कैदीलाई नियन्त्रणमा लिएपछि आक्रोशित कैदीहरू छतमाथि चढेर नाराबाजीमा उत्रिएका छन्। उनीहरूले ‘नाइके इन्द्रजितलाई फिर्ता गर’, ‘इन्द्रजित दाइ चाहियो’, ‘हाम्रो माग पूरा गर’ तथा ‘सिडिओ, जेलर, एसपी मुर्दावाद’ जस्ता नारा लगाइरहेका छन्।

स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा प्रहार गरे पनि कैदीहरूको होहल्ला जारी रहेको प्रशासनले जनाएको छ। हाल कारागारभित्र र बाहिर करिब १५० जनाको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ र थप सुरक्षा टोलीसमेत तैनाथ हुँदै गएको छ।

जिल्ला सुरक्षा समितिको अनुगमनका क्रममा कारागारभित्रबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र नगद १ लाख २० हजार रुपैयाँ बरामद गरिएको प्रशासनले जनाएको छ। साथै चुरोट, सुर्ती लगायतका प्रतिबन्धित सामग्रीसमेत जफत गरिएको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार कारागारभित्र मदिरा तथा लागुऔषधको कारोबार, मोबाइल फोनको अवैध प्रयोग तथा चन्दाका नाममा जबर्जस्ती असुली भइरहेको विशेष सूचनाका आधारमा सोमबार बिहान करिब ११ बजे विशेष अपरेसन गरिएको थियो। अपरेसनका क्रममा नाइके यादवको कोठाबाट हतियार, गोली र नगद फेला परेको हो।

अवैध गतिविधिमा संलग्न रहेको आरोपमा नाइके यादवसहित १३ जना कैदीलाई कारागारबाट निकालेर जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ। उनीहरूलाई हात बाँधेर र आँखामा पट्टी बाँधी कारागारको भित्री गेटबाट बाहिर निकालिएको थियो।

प्रशासनका अनुसार नियन्त्रणमा परेका कैदीहरू कर्तव्य ज्यान, डाका, अपहरण, ज्यान मार्ने उद्योग तथा लागुऔषधसम्बन्धी गम्भीर आपराधिक मुद्दामा संलग्न रहेका छन्।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको र कारागार सुरक्षामा कडाइ गरिएको जनाइएको छ। १५० जना कैदी राख्ने क्षमता रहेको सिरहा कारागारमा हाल ४३६ जना कैदीबन्दी राखिएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस