वैशाख २५, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले वरिष्ठताको स्थापित रोलक्रम मिचेर चौथो नम्बरमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गरिएको भन्दै सरकारको आलोचना गरेकी छन् ।

उनले रोलक्रम अनुसार वरिष्ठ हुनु भनेको केवल उमेर बढ्नु वा कपाल फुल्नु मात्र नभएको बताउदै वरिष्ठता संस्थागत स्मृति, कानुनी स्थिरता, अनुभव, निर्णय क्षमता, कार्यसम्पादन र संस्थाप्रतिको विश्वासको समष्टिगत मापदण्ड भएको बताएकी छन् ।
सांसद ओलीले सुधारको नाममा राज्यका संस्थालाई क्रमशः व्यक्तिकेन्द्रित बनाइँदै लगिएको आरोप समेत लगाउदै स्थापित मापदण्ड र संस्थागत प्रक्रियालाई कमजोर बनाउँदै राज्य आत्मघाती र खतरनाक दिशातर्फ अघि बढिरहेको टिप्पणी गरेकी छन् ।
उनले प्रधानन्यायाधीश नियुक्त गरेको घटनाले संवैधानिक तथा सार्वजनिक नियुक्तिहरूमा गलत नजिर स्थापित गरेको र विधि, प्रक्रिया र संस्थागत मर्यादा कायम गर्ने दाबी गर्ने सरकारले आफ्नै प्रतिबद्धतामाथि प्रश्न उठाएको जिकिर गरेकी छन् ।
ओलीले राज्य प्रणालीमा विधिभन्दा अधिनायकवादी सोच निर्णायक बन्दै गएको सन्देश यस कदमले दिएको उल्लेख गर्दै फेरि एकपटक थिति बसाल्ने अवसर गुमाइएको टिप्पणी गरेकी छन् ।