जेठ २४, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली का स्वकीय सचिव राजेश बज्राचार्य माथि अकुत सम्पत्ति आर्जन गरेको आशंकामा अनुसन्धान प्रक्रिया अघि बढाएको छ। आयोगले बज्राचार्यलाई १३ पन्ने सम्पत्ति विवरण फारम भर्न लगाएको छ।

अख्तियारका एक उच्च अधिकारीका अनुसार उनले गत शुक्रबार उक्त फारम भरिसकेर आयोगमा बुझाएका छन्। सामान्यतया मन्त्रिपरिषद्ले गठन गर्ने सम्पत्ति छानबिन आयोगले १२ पन्ने फारम प्रयोग गर्ने भए पनि अख्तियारले भ्रष्टाचार तथा अकुत सम्पत्ति सम्बन्धी अनुसन्धानमा १३ पन्ने फारममार्फत विवरण संकलन गर्दै आएको छ। अनुसन्धानका क्रममा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको प्रमाणित भएमा आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत विशेष अदालतमा मुद्दा दायर गर्न सक्ने कानुनी व्यवस्था रहेको छ।
यसअघि यति समूह अन्तर्गतको थामसेर्कु ट्रेकिङले दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिजमा लिँदा भएको भनिएको अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा बज्राचार्यको संलग्नता देखिएको बताइएको थियो।
केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्षअनुसार बज्राचार्य र उनकी पत्नी रश्मी शाक्यले यति समूहबाट भक्तपुरको बालकोटस्थित रोज भिलेज हाउजिङभित्र रहेको करिब चार आना जग्गासहितको घर घुसस्वरूप प्राप्त गरेको आशंका गरिएको थियो।
यद्यपि त्यसबेला सरकारी वकिलको कार्यालयले बज्राचार्यलाई मुद्दा नचलाउने निर्णय गरेको थियो। पछि २०८२ साल पुसमा सीआईबीले उनीमाथि भ्रष्टाचार सम्बन्धी थप अनुसन्धान आवश्यक रहेको उल्लेख गर्दै अख्तियारलाई पत्राचार गरेको थियो। त्यसैको आधारमा आयोगले अहिले सम्पत्ति विवरण संकलनसहित विस्तृत अनुसन्धान अगाडि बढाएको स्रोतले जनाएको छ।