• २०८३ भाद्र २१ गते आइतवार

धनगढीकी निर्मलाको सानो ठेलादेखि आत्मनिर्भरतासम्मको यात्रा

लोकराज जोशी पढ्न लाग्ने समय : २ मिनेट

भदौ २१ , काठमाडौं । धनगढी उपमहानगरपालिका–३ बोराडाँडी चोकमा निर्मला भाटले सञ्चालन गरेको सानो नास्ता पसल अहिले उनको परिवारको आत्मनिर्भरताको आधार बनेको छ। करिब १५ हजार रुपैयाँको लगानीबाट ठेलामा चाउमिन बेच्न सुरु गरेकी निर्मलाले यही व्यवसायबाट छोरीहरूलाई गुणस्तरीय शिक्षा दिलाउँदै रोजगारी र वैदेशिक अध्ययनसम्मको अवसर सिर्जना गर्न सफल भएकी छन्।

अन्य व्यवसायमा खासै ज्ञान नभएपछि सहज र कम लगानीमा सुरु गर्न सकिने नास्ता व्यवसाय रोजेकी निर्मलाले सुरुवाती दिनमा ठेलाबाट चाउमिन बिक्री गर्थिन्। विस्तारै ग्राहकको विश्वास जित्दै उनको व्यवसायले गति लियो। स्वादिलो परिकारसँगै तुलनात्मक रूपमा सस्तो मूल्यमा नास्ता उपलब्ध गराउन थालेपछि उनको पसलमा ग्राहकको चाप बढ्दै गयो। अहिले निर्मलाको पसलमा झोल तथा फ्राइ चाउमिन, समोसा, पकौडा, मःम, ब्रेड, चटपटेलगायतका विभिन्न परिकार पाइन्छन्। सानो लगानीबाट सुरु भएको व्यवसायले अहिले परिवारको दैनिकी चलाउने मात्रै होइन, भविष्य निर्माण गर्ने आधारसमेत दिएको निर्मला बताउँछिन्।

तीन छोरीकी आमा निर्मलाले एक छोरीको विवाह गरिसकेकी छन्। बाँकी दुई छोरीलाई उनले होटल व्यवसायसँग जोड्ने उद्देश्यले होटल म्यानेजमेन्ट अध्ययन गराइन्। उनकी माइली छोरी सरिता भाट अहिले उच्च शिक्षा अध्ययनका लागि दक्षिण कोरियामा छिन्। अध्ययनसँगै उनले त्यहाँ रोजगारीसमेत गरिरहेको निर्मला बताउँछिन्। कान्छी छोरीलाई पनि निर्मलाले होटल म्यानेजमेन्ट पढाइरहेकी छन्। सानै उमेरदेखि होटल व्यवसायमा सिकेको सीपलाई शिक्षामार्फत थप व्यवस्थित र आर्थिक रूपमा उपयोगी बनाउन छोरीहरूलाई पढाइरहेको उनको भनाइ छ।‘सानो काम भनेर हेर्नु हुँदैन, काममा निरन्तरता र मेहनत गर्न सकियो भने त्यसैले जीवन बदल्न सक्छ,’ निर्मलाको अनुभवले यही सन्देश दिन्छ।

नास्ता पसलबाट भएको आम्दानीबाट निर्मलाले धनगढीमा जग्गासमेत जोड्न सफल भएकी छन्। अब केही समयपछि आफ्नै घर बनाउने उनको योजना छ। वर्षौंको मेहनतले व्यवसायलाई विस्तार गर्दै जाँदा आर्थिक अवस्था पनि क्रमशः सुधार हुँदै गएको उनी बताउँछिन्। निर्मलाको कथा केवल एउटा नास्ता पसलको सफलताको कथा होइन। सीमित लगानी, सीपको अभाव र अवसरको खोजीबीच उनले रोजेको सानो व्यवसायले परिवारलाई आत्मनिर्भर बनाएको छ। आफू आत्मनिर्भर बन्नुका साथै छोरीहरूको शिक्षा, रोजगारी र भविष्य निर्माणको बलियो आधारसमेत बनेकी निर्मला रोजगारीको अवसर नपाएको गुनासो गर्नेहरूका लागि उदाहरण बनेकी छन्। उनको अनुभवले ठूलो लगानी वा ठूला अवसरको प्रतीक्षा गर्नुभन्दा उपलब्ध स्रोत र सीपबाटै सानो व्यवसाय सुरु गरेर निरन्तर मेहनत गरे सफलता हासिल गर्न सकिन्छ भन्ने देखाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस