माघ २३, विराटनगर । मोरङको विराटचोकमा आयोजित नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ। नेपाल सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीहरू सहभागी डीआईजी तहको समकक्ष बैठक चलिरहेका बेला शुक्रबार दिउँसो एसपी घिमिरे अचानक बेहोस भएर ढलेका थिए।

बैठकस्थलमै अचेत भएका उनलाई तत्काल उपचारका लागि मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्याइएको थियो। तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्।
अस्पताल स्रोतका अनुसार उच्च रक्तचापका कारण एसपी घिमिरे बेहोस भएका थिए। ढल्ने क्रममा उनको जिब्रो काटिएको थियो र स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो। तर चिकित्सकको प्रयास सफल हुन सकेन।
मृतकको शव हाल अस्पतालको आकस्मिक कक्षमा राखिएको छ। परिवार र आफन्तलाई घटनाबारे जानकारी गराइसकिएको अस्पतालले जनाएको छ।
सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनी पकली, सुनसरीका डीआईजी कुमार न्यौपानेले घटनाको पुष्टि गर्दै भने, “बैठककै क्रममा उहाँ अचानक ढल्नुभएको हो। त्यसपछि तत्काल उपचारका लागि अस्पताल लगियो, तर दुर्भाग्यवश बचाउन सकिएन।”
संयोगवश, एसपी घिमिरेको सरुवा सशस्त्र प्रहरी बल नम्बर ३ वाहिनी गढीमाई मुख्यालय मकवानपुरमा भइसकेको थियो र उनी शनिबार त्यता जाने तयारीमा थिए। मोरङबाट बिदा हुनुअघि नै उनको निधन भएको हो।