• २०८३ भाद्र २० गते शनिवार

‘एल निनो’ तीव्र बन्ने, फेब्रुअरीसम्म कायम रहने डब्ल्यूएमओको चेतावनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

भदौ २०, काठमाडौं । आगामी महिनाहरूमा मौसमी प्रणाली ‘एल निनो’ निकै शक्तिशाली बन्ने र यो आउँदो फेब्रुअरीसम्म कायम रहने लगभग निश्चित भएको संयुक्त राष्ट्रसंघको जलवायु निकायले चेतावनी दिएको छ। विश्व मौसम विज्ञान संगठनका अनुसार एल निनो यस वर्षको अन्त्यतिर आफ्नो चरम विन्दुमा पुग्नेछ। यद्यपि, यसले जलवायुमा पार्ने दीर्घकालीन असरहरू भने सन् २०२७ सम्म जारी रहने सम्भावना छ।

“एल निनो पूर्ण रूपमा स्थापित भइसकेको छ र आगामी महिनाहरूमा अझ तीव्र हुनेछ,” डब्ल्यूएमओले भनेको छ, “यसले वर्षा र तापक्रमको ढाँचामा ठूलो प्रभाव पार्दै बाढी, खडेरी र अत्यधिक गर्मीको जोखिम निम्त्याउनेछ।” एल निनो एक प्राकृतिक मौसमी प्रक्रिया हो र यो सीधै जलवायु परिवर्तनका कारण उत्पन्न भएको भने होइन। तर वैज्ञानिकहरूका अनुसार, जीवाश्म इन्धनको अत्यधिक प्रयोगका कारण पहिले नै तातिरहेको पृथ्वीमा यसले गर्मीलाई अझ बढाउनेछ र चरम मौसमी सङ्कटहरू निम्त्याउनेछ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने, “हाम्रो आँखाअगाडि नै एल निनोको प्रभाव विशाल बन्दै गइरहेको छ। वैज्ञानिक तथ्यहरूले कुनै शङ्का बाँकी राख्दैनन्— पृथ्वी अज्ञात र जोखिमपूर्ण अवस्थामा प्रवेश गरिसकेको छ।” उनले समुद्रको सतहको तापक्रम र समग्र भू-तापक्रम उकालो लागिरहेको भन्दै जलवायुसम्बन्धी कदम चाल्न र मानिसहरूको सुरक्षा गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए।

सामान्यतया एल निनो वर्षको अन्त्यतिर चरम विन्दुमा पुग्छ। तर महासागरमा सञ्चित ताप बिस्तारै वायुमण्डलमा उत्सर्जन हुने भएकाले त्यसपछिको वर्षमा विश्वव्यापी तापक्रम झनै बढ्ने गर्छ। यसअघिको एल निनोकै प्रभावका कारण सन् २०२४ हालसम्मकै सबैभन्दा तातो वर्ष बनेको थियो।

डब्लूएमओकी प्रमुख सेलेस्टे साउलोले यो असाधारण एल निनोले विश्वभरका समुदाय र अर्थतन्त्रमा ठूलो धक्का पुर्‍याउन सक्ने बताइन्। “हामीले खडेरी र बाढीका कारण विनाश देखिसकेका छौँ। एल निनो अझ तीव्र हुँदा यी प्रभावहरू अझै बढ्नेछन्,” उनले भनिन्। साउलोले विपद् व्यवस्थापन निकायहरूसँगै कृषि, स्वास्थ्य, ऊर्जा र जलस्रोतजस्ता जलवायु-संवेदनशील क्षेत्रहरूलाई पूर्वतयारीका लागि “समय खेर नफाल्न” आग्रह गरेकी छन्।

मध्य र पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतहको तापक्रम बढाउने एल निनोले विश्वभर हावाको गति, वायुमण्डलीय चाप र वर्षाको ढाँचामा फेरबदल ल्याउँछ। यो सामान्यतया हरेक दुईदेखि सात वर्षको अन्तरालमा देखा पर्छ र करिब नौदेखि १२ महिनासम्म सक्रिय रहन्छ।

मौसमको अवस्था ‘एल निनो’ र यसको विपरीत ‘ला निना’ बीच उतारचढाव भइरहन्छ, र यी दुवैको बीचमा तटस्थ अवस्था पनि रहन्छ।

“उष्णकटिबंधीय प्रशान्त क्षेत्रमा समुद्रको असाधारण न्यानो अवस्थाका कारण आगामी महिनाहरूमा एल निनो अझ सशक्त भई निकै तीव्र रूप लिने अनुमान गरिएको छ,” विश्व मौसम विज्ञान संगठनले जनाएको छ।

संयुक्त राष्ट्रसंघीय यस निकायले एल निनोका प्रभावलाई कमजोर, मध्यम, बलियो र अति बलियो गरी चार वर्गमा वर्गीकरण गर्छ। यसको अर्थ अब यो चक्र उच्चतम स्तरमा पुग्ने निश्चित भएको छ। संगठनका अनुसार अनुसार एल निनो फेब्रुअरी महिनासम्म जारी रहने “करिब १०० प्रतिशत उच्च सम्भावना” रहेको छ।

यसैबीच, संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार आगामी केही वर्षभित्रै विश्वव्यापी तापक्रम वृद्धिले पेरिस सम्झौताद्वारा तोकिएको १.५ डिग्री सेल्सियसको सीमा नाघ्ने देखिन्छ।

सबैभन्दा आशावादी परिदृश्यमा पनि तापक्रम वृद्धि औद्योगिक क्रान्तिपूर्वको स्तरभन्दा १.८ डिग्री सेल्सियस माथि पुग्ने प्रतिवेदनमा उल्लेख छ। साथै, तीव्र बन्दै गएको चरम मौसमी अवस्था र पारिस्थितिक प्रणालीको विनाशले स्वास्थ्य, खाद्य सुरक्षा, पूर्वाधार र अर्थतन्त्रमा गम्भीर खतरा पुर्‍याउने चेतावनी दिइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस