• २०८३ कार्तिक १९ गते बुधवार

रौतहटमा मोटरसाइकलको ट्याङ्कीबाट ३० लाख बरामद, गौरको पसलबाट पनि भेटियो साढे १४ लाख, दुईजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक १८, रौतहट। सीमावर्ती क्षेत्रबाट शंकास्पद रूपमा भित्र्याइएको ठूलो परिमाणको नगद रकमसहित रौतहट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले एक भारतीय नागरिकले मोटरसाइकलमा लुकाएर ल्याएको ३० लाख रुपैयाँ र गौरस्थित एक व्यापारिक प्रतिष्ठानबाट थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद गरेको छ।

घटना बुधबार दिउँसो ईशनाथ नगरपालिका–४ महुलियास्थित काली मन्दिर नजिकको हो। भारतबाट मठिया–महुलियातर्फ आउँदै गरेको मधेश प्रदेश ०५–००१ प ०५७८ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मठियाबाट खटिएको टोलीले नियमित जाँचका क्रममा रोकेको थियो।

मोटरसाइकल जाँच गर्दा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला फुलबरिया–१३ निवासी ३० वर्षीय सनि कुमार जैसवालले नगद लुकाउन अपनाएको तरिका देखेर प्रहरीसमेत सतर्क भएको थियो। उनले झोलासँगै मोटरसाइकलको ट्याङ्कीमुनि फल्स बटम बनाएर ३० लाख रुपैयाँ लुकाएका थिए।

प्रहरीले रकमसहित मोटरसाइकल, एक थान स्मार्टफोन र चालक जैसवाललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको थियो।

प्रारम्भिक सोधपुछका क्रममा जैसवालले उक्त रकम गौर नगरपालिका–१ मा रहेको न्यू तराई ट्रेडर्सका सञ्चालक शेख कमरुललाई बुझाउन ल्याएको बताएपछि अनुसन्धानको दायरा थप फराकिलो बनाइएको थियो।

त्यसपछि प्रहरी निरीक्षक जीवनकुमार मैनालीको कमान्डमा खटिएको टोलीले न्यू तराई ट्रेडर्समा खानतलासी गरेको थियो। खानतलासीका क्रममा पसलबाट थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले पसल सञ्चालक ५१ वर्षीय शेख कमरुललाई पनि नियन्त्रणमा लिएको छ।

यसरी मोटरसाइकलबाट बरामद ३० लाख र व्यापारिक प्रतिष्ठानबाट फेला परेको रकम जोड्दा कुल ४४ लाख ६४ हजार ६०५ रुपैयाँ पुगेको छ। सीमावर्ती क्षेत्रबाट रकम लुकाएर ल्याइएको र त्यसलाई व्यापारिक प्रतिष्ठानसम्म पुर्‍याउने प्रयास भएको प्रारम्भिक विवरण सार्वजनिक भए पनि उक्त रकमको वास्तविक स्रोत, प्रयोजन र कारोबारसँग जोडिएका अन्य व्यक्तिबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमद्वारा जारी विज्ञप्तिमा दुवै जनालाई बरामद रकमसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उल्लेख छ।

रौतहटका प्रहरी प्रमुख एसपी सीताराम रिजालको विशेष सक्रियतामा गरिएको अनुसन्धान तथा प्रहरी परिचालनका क्रममा मोटरसाइकलमा लुकाइएको रकमको सम्भावित गन्तव्यसम्म पुगेर थप नगद बरामद गर्न प्रहरी सफल भएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस