• २०८३ भाद्र २० गते शनिवार

कम्युनिष्ट आन्दोलनलाई सशक्त गराउन लागेका हौँ : मन्त्री खतिवडा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २७, मकवानपुर । नेकपा (एकिकृत समाजवादी) का स्थायी समिति सदस्य तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले नेपालको एकीकृत कम्युनिष्ट आन्दोलनलाई आफूहरूले पुर्नगठन गरेको दाबी गर्नुभएको छ । मकवानपुरको फाखेल गाउँपालिकामा पार्टीको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले आफूहरू टुटेको र फुटेको नभई एकीकृत कम्युनिष्ट आन्दोलनलाई अझ सशक्त गराउन युगको मागअनुसार पुर्नगठन गरिएको स्पष्ट पार्नुभयो ।

मन्त्री खतिवडाले आफूहरू गफ गर्न नभई काम गर्न सरकारमा गएको बताउँदै भन्नुभयो, “हामी गफका लागि सरकारमा गएका हौँ, विगतको सरकारले गरेको विकृतिलाई हटाउँछौँ, जुन काम शुरुसमेत भइसकेको छ ।” उहाँले प्रत्येक वडामा आधारभूत स्वास्थ्यचौकी, हरेक पालिकामा एउटा अस्पताल बनाउने र जनतालाई स्वास्थ्यमा सहजरूपमा पहुँच दिनेगरी सरकारले योजना बनाइरहेको जानकारी दिनुभयो ।

अघिल्लो सरकारले बजेट र जग्गाको सुनिश्चित नगरी हचुवाका आधारमा एकैदिन सबै पालिकामा अस्पताल शिलान्यास गरेर प्रचार मात्र गरेको बताउँदै वर्तमान सरकार व्यवस्थितरूपमा ती अधुरा कार्यलाई पूरा गराउन क्रियाशील रहेको मन्त्री खतिवडाले उल्लेख गर्नुभयो । भेलाले कुन्साङ लामाको अध्यक्षतामा ६५ सदस्यीय नेकपा (एकीकृत समाजवादी)को गाउँपालिकास्तरीय कमिटी तथा विष्णु महर्जनको अध्यक्षतामा ५५ सदस्यीय युवा सङ्घको पालिकास्तरीय कमिटी गठन गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस