• २०८३ असोज १७ गते शनिवार

गोरखबहादुर बिष्ट भन्छन् : कांग्रेस गुटबन्दी र आन्तरिक खिचातानीभन्दा माथि उठ्नुपर्छ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज १६, धनगढी । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नम्बर ४ बाट गोरखबहादुर बिष्ट (आनन्द) लोकप्रिय मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। उनले मतदानमा खसेको कुल ६९० मतमध्ये बिष्टले ५६० मत प्राप्त गर्दै शानदार जित हासिल गरेका हुन्। झन्डै ८१ प्रतिशतको विशाल मतले विजयी भएपछि नेता बिष्टले आफूलाई मत दिने क्षेत्रीय प्रतिनिधि, वडा सदस्य, अहोरात्र खट्ने पार्टी कार्यकर्ता तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।

जितपश्चात् आफ्ना समर्थक तथा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै नेता बिष्टले संसदीय निर्वाचनदेखि हालसम्म कैलाली क्षेत्र नम्बर ४ का दाजुभाइ तथा दिदीबहिनीहरूले देखाएको अगाध माया, स्नेह र विश्वासले आफूलाई ठूलो ऊर्जा मिलेको बताएका छन्।

फराकिलो जितले आफ्नो काँधमा अझ गम्भीर र जिम्मेवार भूमिका थपेको महसुस भएको उल्लेख गर्दै उनले नेपाली कांग्रेसलाई पूर्ण रूपमा एकताबद्ध, अनुशासित र सुदृढ बनाउँदै चौतर्फी विकास र समृद्धिका लागि जीवन समर्पण गर्ने प्रण गरेका छन्।

विगत तीन दशकभन्दा बढी समयदेखि निरन्तर लोकतान्त्रिक आन्दोलन, साङ्गठनिक सुदृढीकरण, सामाजिक सेवा र जनजीविकाका सवालमा अग्रमोर्चामा क्रियाशील बिष्टले संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीलाई नयाँ युग र नयाँ पुस्ताको आवश्यकताअनुसार गतिशील, उत्तरदायी तथा नतिजामुखी बनाउने सङ्कल्पसमेत व्यक्त गरेका छन्।

बिष्टले आफू कुनै व्यक्तिगत पद, प्रतिष्ठा वा महत्त्वाकाङ्क्षाका लागि नभई जनता र पार्टीका कार्यकर्ताको सच्चा सेवक बन्न राजनीतिमा सक्रिय रहेको बताए।

उनले पार्टीलाई गुटबन्दी र आन्तरिक खिचातानीभन्दा माथि उठाएर पूर्ण रूपमा एकताबद्ध, मर्यादित र अनुशासित बनाउने सङ्कल्प व्यक्त गरेका छन्।

उनी आफ्नो संकल्प अनुरुप नै यसपटक कैलाली ४ मा वडादेखि क्षेत्रसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सफल भएका छन्।

यसैगरी, विदेशमा रहेका लाखौँ नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई राष्ट्र निर्माणमा जोड्ने तथा प्रवासमा रहेका नेपाली जनसम्पर्क समितिहरूलाई अझ प्रभावकारी, व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

‘कांग्रेसलाई सुदृ, नीतिगत स्पष्टता र युवा पुस्ताको आशाको केन्द्र बनाउनका लागि म सधैँ सक्रिय रहने छु। प्रविधिमैत्री पार्टी, सुशासन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, रोजगारी, उद्यमशीलता, आर्थिक रूपान्तरण, समावेशी र एकताबद्ध कांग्रेस जस्ता विषयमा म सधैँ प्रतिवद्ध छु,’ उनले भने।

कांग्रेस चुनाव जित्ने माध्यम मात्र नभइ मुलुकको सामाजिक र आर्थिक रूपान्तरणको मुख्य संवाहक भएकाले पार्टीलाई आधुनिक, पारदर्शी र आम जनताको विश्वासयोग्य बनाउन आफ्नो भूमिका सधैँ स्पष्ट रहने बिष्टले प्रस्ट पारे।

Sharing

प्रतिक्रिया दिनुहोस