असोज १५, काठमाडौं । आज राष्ट्रिय चलचित्र दिवस मनाइँदै छ । नेपालमा यस वर्षदेखि राष्ट्रिय चलचित्र दिवस असोज १५ गते मनाइने भएको हो ।

यसअघि असोज १ गते मनाइँदै आएको राष्ट्रिय चलचित्र दिवस यस वर्षदेखि नेपालको पहिलो कथानक चलचित्र ‘आमा’को प्रदर्शन मितिलाई आधार मानेर असोज १५ गते मनाउन थालिएको हो । सन् १९५१ मा नेपाली भाषामा निर्माण भएको चलचित्र ‘सत्य हरिश्चन्द्र’लाई नेपाली चलचित्र इतिहासको प्रारम्भिक कडीका रूपमा लिइन्छ । कोलकातामा निर्माण गरिएको उक्त चलचित्र डि.बी.पराजुलीले निर्माण गरेका थिए ।
त्यसपछि नेपालमै निर्माण भएको पहिलो कथानक चलचित्र ‘आमा’ सन् १९६४ अक्टोबर ७ अर्थात् असोज १५ गते प्रदर्शन भएको थियो। यही ऐतिहासिक दिनको स्मरण गर्दै असोज १५ गतेलाई राष्ट्रिय चलचित्र दिवसका रूपमा मनाउने निर्णय गरिएको हो ।