असार १७, काठमाडौं । फिफा विश्वकप फुटबलबाट नेदरल्यान्ड्स बाहिरिएपछि मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले राजीनामा दिएका छन् । यससँगै नेदरल्यान्ड्सको राष्ट्रिय टोलीसँग उनको दोस्रो कार्यकाल पनि समाप्त भएको छ । ६३ वर्षीय कोम्यानले आफ्नो वर्तमान सम्झौता सकिएपछि जिम्मेवारीमा नबस्ने निर्णयबारे नेदरल्यान्ड्स फुटबल सङ्घलाई जानकारी गराएका हुन् ।

उनको राजीनामाको घोषणा नेदरल्यान्ड्स विश्वकपको अन्तिम ३२ बाट बाहिरिएको केही घण्टापछि आएको हो । नेदरल्यान्ड्स पेनाल्टी सुटआउटमा पाराग्वेसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । उपाधि जित्ने अपेक्षामा रहेको टोलीको यात्रा प्रारम्भिक नकआउट चरणमै टुंगिएपछि कोम्यानले पद छाड्ने निर्णय गरेका हुन् ।
विदाइ सन्देशमा कोम्यानले यो निर्णय निकै कठिन रहेको स्वीकार गरेका छन् । लामो समयसम्म प्रशिक्षक टोली र खेलाडीसँग नजिकबाट काम गरेकाले यस्तो निर्णय लिन सहज नभएको उनले बताएका छन् ।
उनले नेदरल्यान्ड्सको राष्ट्रिय टोलीसँग बिताएको समयलाई गर्वका साथ सम्झने बताएका छन् । दुवै कार्यकालमा राष्ट्रिय टोलीसँग काम गर्ने अवसर पाएकोमा उनले प्रशिक्षक, खेलाडी तथा टोलीसँग आबद्ध सबैप्रति आभार व्यक्त गरेका छन् । उनका अनुसार त्यो यात्रा उत्कृष्ट सहकार्य र धेरै अविस्मरणीय क्षणले भरिएको थियो ।
कोम्यानले परिवारलाई पनि आफ्नो निर्णयको प्रमुख कारण बताएका छन् । वर्षौंसम्म प्रशिक्षणको जिम्मेवारी सम्हालेपछि अब श्रीमती, छोराछोरी र नातिनातिनासँग बढी समय बिताउन चाहेको उनले उल्लेख गरेका छन् । उनको अभिव्यक्तिपछि उनले अब प्रशिक्षक जीवन नै अन्त्य गर्न सक्ने अड्कलबाजी पनि सुरु भएको छ । अहिले पदबाट अलग हुनु नै सबैभन्दा उपयुक्त र स्वाभाविक निर्णय भएको उनको भनाइ छ । अब नेदरल्यान्ड्स फुटबल सङ्घले नयाँ मुख्य प्रशिक्षकको खोजी सुरु गर्ने भएको छ । विश्वकपमा निराशाजनक प्रदर्शनपछि टोलीलाई पुनः बलियो बनाउने चुनौती नयाँ प्रशिक्षकसामु रहनेछ । नेदरल्यान्ड्ससँग अहिले पनि उच्चस्तरीय प्रशिक्षकहरूको विकल्प रहेको मानिन्छ । आर्ने स्लट र एरिक टेन हागजस्ता प्रशिक्षक उपलब्ध रहेकाले यसपटक नयाँ सोचसहित टोलीको नेतृत्व चयन गर्नुपर्ने चर्चा भइरहेको छ ।