कात्तिक ८, मकवानपुर। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोइन्ट नजिकबाट कारको फल्स बटममा लुकाएर ल्याइएको १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने धातुसहित चार जना पक्राउ परेका छन्। शनिबार दिउँसो करिब ३:१५ बजे भारतको रक्सोलबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ च ७०७९ नम्बरको कारलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले रोकी जाँच गरेको थियो।

प्रहरी नायब निरीक्षक प्रमोदकुमार साहको कमाण्डमा खटिएको चेकिङ टोलीले कारको खानतलासी गर्ने क्रममा चारवटै ढोकाको भित्री भागमा फल्स बटम बनाई लुकाइएको अवस्थामा उक्त धातु फेला पारेको हो। बरामद धातुको शुद्ध तौल १४ किलो १८० ग्राम रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारतको रक्सोल निवासी करिब ५० वर्षीय कार चालक रमेश कुमार साह सोनार, उनकी ४२ वर्षीया श्रीमती चन्दा देवी सोनार, चालकका १७ वर्षीय छोरा र करिब २० वर्षीया भान्जी नन्दनी कुमारी साह रहेका छन्।
बरामद धातुसहित चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ। प्रहरीका अनुसार बरामद धातुको वास्तविक प्रकृति तथा घटनासँग सम्बन्धित अन्य विवरणबारे थप अनुसन्धान भइरहेको छ।