आज वि.सं. २०८२ आषाढ १६ गते सोमवार तदनुसार ई. सं. २०२५ जुन ३० तारिख, सिद्धार्थ नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२६, शाके १९४७, नेपाल सं. ११४५, किरातवर्ष ५०८५, मञ्जुश्री वर्ष २८६१, हिजरी सं. १४४६, चन्द्रोदय : बिहान ०९:३४ बजे र चन्द्रास्त : बेलुका ०९:५८ बजे, सूर्योदय : बिहान ०५:१३ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे, आषाढ शुक्लपक्ष (दिल्लाथ्व) पञ्चमी तिथि, दिउँसो ११:५४ बजेसम्म, त्यसपछि षष्ठी तिथि, मघा नक्षत्र, बिहान १०:२४ बजेसम्म, त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कुनै प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्नेछ । ज्ञान वा अनुभव बढाएर व्यक्तित्वलाई अपडेट गर्नु समुचित हुन्छ । कुनै नयाँ कामको थालनी गरौं भन्ने लागेको छ भने प्रयास गर्नुहोला । बुद्धिकौशल अर्थात् ट्रिकको प्रयोग गरी सफलता कमाउने दिन हो, समस्यामूलक कुनै काम छन् भने सिनियर स्टाफको होइन, जुनियर साथीको सहयोग लिनुपर्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
वैचारिक अस्थिरता देखिने छ । प्रसन्नता प्राप्त गर्न धौधौ हुन्छ । वैचारिक र मानसिक सन्तुलन कायम राख्ने कोसिस गर्नुपर्छ । अचल सम्पत्ति, शेयर कारोबार, घरेलु प्रयोजनका वा भोगविलासका सामाग्रीमा फाइदा हुनेछ, आजको केही समय घरपरिवारमा खर्च गरेको जाती हुन्छ । आराम गर्ने फुर्सद पाइँदैन, शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नैपर्ने परिस्थिति छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
नजानेको वा नसुल्झिएको विषयवस्तुमा सहपाठीको सहयोग लिनुहोला, किनकि जब तपाईंको उद्देश्य सुदृढ हुन्छ, कडा परिश्रम विकल्प होइन आवश्यकता बन्ने गर्दछ । नयाँ योजना प्रारम्भ गर्न उत्तम समय छ, प्रयास गरेमा कार्यप्रणालीमा सकारात्मक परिवर्तन हुनेछ । सामाजिकता र सामूहिक क्रियाकलापमा दिलचस्पी बढ्नाले पुराना साथीभाइ वा दौंतरीको काममा समेत दौडधूप गर्न सकिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सुख एवं समृद्धिमा बृद्धि हुनेछ, घुमघाममा निस्कने वा मस्ती गर्ने योजना बन्नसक्छ, तर खर्च हुनसक्ने भएकाले गोजी दह्रो बनाउनु ठीक हुनेछ । रचनात्मक स्वभावले मानिसहरूलाई प्रभावित गर्न सक्नुहुन्छ । असत्य बोल्ने जोसुकैलाई पनि कहिल्यै पनि विश्वास नगर्नुहोला, साथै आफूलाई विश्वास गर्ने व्यक्तिलाई कहिल्यै नढाँट्नुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
जीवनसाथी र परिवारका सदस्यहरूको पूर्ण सहयोग रहने दिन छ । तर तपाईंको हठ र जिद गर्ने बानी छ भने समस्या निम्तिनसक्ने समय हो । लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ । नयाँ उत्साह र उमङ्ग जाग्ने समय हो, खुसी र प्रसन्नताको सीमा हुनेछैन ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ । परिबन्द र बाध्यताका काममा रुमल्लिनु पर्ने हुन्छ, नियमित र व्यवहारिक खर्च बढ्न सक्छ, तर वैदेशिक प्रयोजनको कामबाट मनग्ये लाभ हुनेछ, विदेशी सम्पत्तिको उपयोग गरी फाइदा बटुल्ने समय हो ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कामको चापबाट फुर्सद पाइने राम्रै दिन छ, तर सचेत हुनुहोला, गलत काम र दुर्जन व्यक्तिको विश्वासमा पर्दा इज्जतमा दाग लाग्नसक्छ । सरकारी काम, ठेकापट्टा आदिमा अड्किएको काम फुकाउन सकिने समय हो, प्रयास गरेमा अन्य काममा समेत लाभ पाउने समय हो । सबै कार्य सही ढंगले सम्पन्न भए पनि कतिपय काममा आफ्नै चित्त नबुझ्न सक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न आजको दिन अनुकूल समय देखिन्छ । कुनै कुरामा दुविधा भएमा अभिभावक वा बुजुर्ग व्यक्तिहरूसँग छलफल गरी अघि बढेमा काम गर्न सहजता हुनेछ । उच्चपदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ, कुनै पुरस्कार वा सम्मान पाउन सक्नुहुन्छ अथवा कुनै दूरगामी योजनाको कार्यान्वयन गर्ने विषयमा छलफल हुनसक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अचानक परिस्थिति फेरिएर इच्छाएको जिम्मेबारी प्राप्त हुनेछ । वैकल्पिक आम्दानीका निमित्त कुनै नयाँ कारोबारप्रति आकर्षण देखाएमा समेत लाभ पाउन सकिने छ । मन हलुका र चङ्गा हुने दिन हो, आज लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेमसम्बन्धको दीगो प्रतीक बन्नसक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
छोटो दूरीको व्यवसायिक यात्रामा निस्कन अनुकूल समय छ, अप्ठ्यारो धन उकास्नु छ वा कुनै लगानी उठाउनु छ भने प्रयास गर्नुहोला । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्ने समय हो, तर काम बाँकी राखी अल्छी गरेमा आफैंलाई लोड बढ्नेछ भनी होस राख्नुपर्छ । हरेक क्रियाकलापमा सफल भइने छ, तर मुड घरिघरि अशान्त बन्नसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रविधिको प्रयोग गरेर वा अनलाइन गतिविधिमार्फत अतिरिक्त लाभ हुनसक्छ । ढुवानी र आयातनिर्यातको काममा संयमता अपनाउनु ठीक हुन्छ । आन्तरिक तिर्सनाको परिपूर्ति हुने दिन हो । पतिपत्नीका बीचमा समझदारी बढ्नेछ । आज कुनै भनुँ भनुँ लागेको कुरा बताउने दिन हो । तपाईंलाई गुरुवर्ग र अभिभावकले निकै भरोसा र विश्वास राखेको देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कार्यक्षेत्रभन्दा बाहिरको जिम्मेबारीमा खट्नुपर्ने दिन हो, तथापि औपचारिक र अनुशासित तवरले दिन बित्नेछ, जुन सहकर्मी र स्टाफहरूलाई नौलो लाग्नसक्छ । अर्काका कुरा सुनेर पार्टनरको जीवनचर्या र व्यवहारमा शङ्का नगर्नु होला, बरु लोङ टुरको कुनै कार्यक्रममा सँगै जाने वातावरण बनाउनु ठीक हुन्छ ।