पौष १४, काठमाडौं । राजा पद हुँदैमा सबै राजाजस्तो हुँदैनन् । सम्पन्न र प्रशन्न राजाको छवि सबैको हकमा लागु हुँदैन । यही भाव समेटेर नाटक मण्डला थिएटरमा ‘बहादुरपुरको दन्त्यकथा’ मञ्चन भइरहेको छ ।

थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटकमा राजा पद भए पनि खोक्रो आड्म्बर र देखावटीमा रुमल्लिएका राजा पात्रको सिर्जनात्मक अभिनय प्रस्तुत गरिएको छ । पुख्र्यौली सम्पत्ति, नाम र पदको स्वाङमा रमाएका राजाले आफ्नो क्षमता र मेहनत तिखार्न नसक्दा भोग्नु परेको गरिबीको व्यङ्ग्यात्मक दृश्यसमेत नाटकमा देख्न सकिन्छ ।
लामो समयदेखि रङ्गमञ्चमा सक्रिय रहनुभएकी रङ्गकर्मी सरस्वती चौधरीले यो नाटक निर्देशन गर्नुभएको हो । भारतीय नाटककार बादल सरकारले लेख्नुभएको बङ्गाली भाषाको यस नाटकलाई विजय विष्फोटले भावानुवाद गर्नुभएको हो । नाटकमा भूपति पात्रका रुपमा प्रवीण खतिवडाले अब्बल अभिनय गर्नुभएको छभने अन्य कलाकारहरु कमलमणि नेपाल, सरिता गिरीलगायतले अभिनय गर्नुभएको छ ।
त्यसैगरी घनश्याम जोशी, रामभजन कामत, दीपल बराल, चन्द्र नेपालीलगायतका कलाकारको अभिनय पनि नाटकमा हेर्न पाइन्छ । नाटक यही पुस २७ गते सम्म मञ्चन हुने जनाइएको छ ।