चैत १६, काठमाडौं । गुजरात टाईटन्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा मुम्बई इण्डियन्सलाई जितका लागि १ सय ९७ रनको लक्ष्य दिएको छ । घरेलु मैदान नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९६ रनको योगफल तयार गर्यो ।

गुजरातका लागि अघिल्लो खेलमा समेत अर्धशतक बनाएका ओपनर साई सुदर्शनले सर्वाधिक ६३ रन जोडे । उनले ४१ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरे ।
पहिलो विकेटका लागि साईले कप्तान शुभमन गिलसँग मिलेर ८.३ ओभरमा ७८ रनको साझेदारी गरे । कप्तान गिल २७ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३८ रन जोडेर आउट भए ।
जोस बटलर २४ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३९ रनमा आउट भए । राहुल तिवाटिया कुनै बलको सामना नगर्दै रन आउट भए ।
साहरुख खान ९ रनमा आउट हुँदा शरफेन रादरफोर्ड ११ बलमा २ छक्काको सहयोगमा १८ रन बनाउँदै आउट भए । राशिद खान ४ बलमा ६ रनमा आउट हुँदा कागिसो रबडा ७ रनमा अविजित रहे ।
मुमबईका लागि कप्तान हार्दिक पाण्ड्याले २ तथा सत्यनारायण राजु, मुजिब उर रहमान, ट्रेन्ट बोल्ट र दिपक चहरले समान १ विकेट लिए । सुरुवाती खेलमा पराजित दुवै टोली आज पहिलो जितको खोजीमा छन् ।
आफ्नो पहिलो खेलमा गुजरात पञ्जाब किंग्ससँग र मुम्बई चेन्नई सुपर किंग्ससँग चेपकमा पराजित भएको थियो ।
सन् २०२२ मा गुजराज आइपिएलमा सहभागी भएकै वर्ष हार्दिक पाण्ड्याको कप्तानीमा च्याम्पियन भएको थियो। हार्दिक अहिले मुम्बईको कप्तानी गरिरहेका छन् ।