• २०८३ जेष्ठ २९ गते शुक्रवार

आइपिएल : रोयल च्यालेन्जर्स बेंगलुरुले चेन्नई सुपर किंग्सलाई जितका लागि दियो १ सय ९७ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत १५, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपीएल) मा चेन्नई सुपर किंग्सलाई जितका लागि १ सय ९७ रनको लक्ष्य दिएको छ। चेन्नइको घरेलु मैदान एमए चिदम्बरम अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम चेपकमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९६ रनको योगफल तयार गरेको थियो ।

बेंगलुरुको लागि कप्तान रजत पाटीदारले ३२ बलको सामना गर्दै ४ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ५१ रन जोडे ।

बेंगलुरुको कप्तानको रुपमा पहिलो अर्धशतक पाटीदारले ३० बलमा पूरा गरे । ओपनर फिल साल्टले १६ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३२ रन जोडे । विराट कोहली ३० बलमा २ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाउँदै आउट गरे ।

देवदत्त पटीकल १४ बलमा २७, जितेश शर्मा ६ बलमा १२ तथा लियम लिभिङ्स्टोन ९ बलमा १० रनमा आउट भए ।

कोलकाता नाइटराइडर्ससँगको अघिल्लो खेलमा प्लेयर अफ द म्याच बनेका कुर्नाण पाण्ड्या रनको खाता नखोल्दै आउट भए । टिम डेबिड ६ बलमा २२ रन बनाउँदै अविजित रहे ।

चेन्नईका लागि नुर अहमदले ३, मथिशा पथिरानाले २ तथा खलिल अहमद तथा रविचन्द्रन आश्विनले समान १ विकेट लिए ।

दुवै टोलीले जितबाट आइपिएलको सुरुवात गरेका थिए।बेंगलुरुले कोलकाता नाइटराईडर्सलाई र चेन्नईले मुम्बई इण्डियन्सलाई हराएको थियो । सन् २००८ मा भएको आइपिएलको पहिलो संस्करणमा बाहेक बेंगलरुले चेपकमा कुनै खेल जितेको छैन।

चेन्नई र बेंगलुरुबीच हालसम्म ३३ खेल भएको छ । जसमा २१ पटक चेन्नई र ११ पटक बेंगलुरु विजयी‌ भएको थियो । १ खेल विना नतिजा कै सकिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस