असार १०, काठमाडौं । प्रतिनिधिसभाबाट आउँदाे आर्थिक वर्ष २०८२/८३ काे बजेट पारित भएकाे छ । प्रतिनिधिसभाकाे आजको बैठकमा अर्थमन्त्री विष्णु पाैडेलले ‘विनियोजन विधेयक २०८१ लाई पारित गरियोस्’ भनी राख्नुभएको प्रस्ताव बहुमतले पारित भएकाे हो ।

प्रतिनिधिसभामा गएकाे असार १ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल शुरू भएको थियो । विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरूले उठाएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिनुभएको थियो ।
यस्तै प्रतिनिधिसभाकाे आजकाे बैठकमा २३ जना सांसदले प्रस्तुत गरेका खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।
प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काे बहिष्कारकै बीच बजेट पारित भएकाे हाे । भिजिट भिसा प्रकरणमा हिजाे बसेकाे मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव वैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो । तर छानबिन समिति स्वीकार नगर्ने भन्दै रास्वपा र राप्रपाले आजको संसद् बैठक पनि बहिष्कार गरेका हुन् ।
सरकारले गएकाे जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदाे आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएको थियाे ।