असोज ५, रसुवा । गएको असार २४ र साउन १४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण क्षति पुगेको स्याफ्रुबेँसी–रसुवागढी सडक मर्मत गरिएको छ । सडक विभागले टिमुरेको तातोपानी डाँडादेखि रसुवागढीसम्म र बाँकी रसुवागढी जलविद्युत् आयोजनाको सहयोगमा मर्मत गरिएको हो ।

टिमुरेभन्दा माथि पहरो कटिङ गर्न नसक्दा भोटेकोसी खोलाको नजिकबाट सवारीसाधनको आवतजावत खुलाइएको छ । खोलामा पानीको बहाव नबढुन्जेलसम्म मात्र हिउँदयामभरका निम्ति यातायात सञ्चालनमा सहज हुने जनाइएको छ ।
यसैबीच, गोसाइँकुण्ड गाउँपालिका–३, कुलुङस्थित ठाडोखोलामा रहेको पक्की पुलको पर्खालका जग जोखिम भएको छ । निरन्तरको वर्षाले कुलुङ खोलामा पानीको बहाव बढ्न गई पुलको पूरै जग जोखिममा रहेको बताइएको छ । जोखिम हटाउन थालिएको गल्छी–मैलुङ–रसुवागढी राजमार्ग सुधार आयोजनाका इन्जिनियर कुमारविक्रम पराजुलीले जानकारी दिए ।
पुलबाट नियमित यात्रुवाहक बस र हल्का सवारीसाधन मात्र खुला गरिएको छ । मालवाहक सवारीसाधन आवतजावतमा रोक लगाएको उनले जानकारी दिए ।
असार २४ गते ल्हेन्दे खोलाले बगाएको नेपाल–चीनबीचको मितेरी पुल पुनर्निर्माणअन्तर्गत चिनियाँ पक्षले बेलीब्रिज जडान कार्य जारी राखेको छ । बाढीका कारण मितेरी पुल बगाउँदा भन्सारबाट साढे सात अर्ब रुपैयाँभन्दा बढी कर शुल्कबापतको राजस्व नोक्सान भइसकेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।
सडक खुला भए पनि पुल जोखिम भएका कारण बाढीग्रस्त रसुवागढी जलविद्युत् आयोजनाको बाँध पुनर्निर्माण अगाडि बढाउन अन्योल परेको छ ।
बाढीले क्षति पुर्याएको विद्युत् ड्याम मर्मतका निम्ति रड, सिमेन्टलगायत निर्माण सामग्री र उपकरण ढुवानी गर्न नसक्दा आयोजनाले एक करोड २७ लाख ८७ हजार रुपैयाँ घाटा व्यहोर्नु परिरहेको रसुवागढी जलविद्युत्का प्रबन्ध निर्देशक सत्यराम ज्याख्वले बताए ।
भूमिगत संरचनाको आयोजना भएका कारण भित्री भाग सुरक्षित रहे पनि ड्याम क्षेत्रको बाहिरी संरचना क्षति भएको प्राविधिकले जनाएका छन् । रासस