मंसिर २, काठमाडौं। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित उनको निवासबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पश्चात् काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

प्रसाईंलाई प्रहरीको विशेष टोलीले नियन्त्रणमा लिएर भद्रकालीस्थित हिरासतमा राखिएको छ। आजै अदालतमा उपस्थित गराई म्याद लिएर थप अनुसन्धान अघि बढाउने तयारी प्रहरीले गरेको जनाएको छ।
प्रसाईं पक्राउ परेपछि उपत्यकामा सम्भावित प्रदर्शनका आशंकामा सुरक्षा व्यवस्था कडा बनाइएको हो। काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानिपोखरीले तीनै जिल्लाका प्रहरी परिसरलाई निर्देशन दिँदै मुख्य सडक तथा संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मीको उपस्थिति बढाएको छ।
पक्राउपछि नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले आजै प्रदर्शन गर्ने सम्भावना रहेको बताएका थिए। सोही कारण उपत्यकाका मुख्य चोक तथा भीडभाड भएका स्थानहरूमा सुरक्षाकर्मी बाक्लो रुपमा परिचालन गरिएको छ।
प्रसाईं पक्राउको कारणबारे प्रहरीले विस्तृत जानकारी नखुलाए पनि घटनाले उपत्यकाको राजनीतिक तथा सुरक्षा वातावरण चनचलाई बनेको छ।